लु
डिनर गरिसकेपछि उज्यालो डाइनिङ रुमबाट दुवैजना बाहिरिए । जहाजको छतमा गए र रेलिङ नजिकै उभिए । उसले आँखा बन्द गरी र उल्टा हत्केलाले आफ्ना दुवै गाला थिची । निष्कपट हाँसी । उसको हाँसोमा मोहनी थियो । यो खिरिली आइमाई निकै हिस्सी परेकी थिई । उसले मस्किँदै भनी, 'म त लट्ठै परेँ । बौलाएँ कि क्या हो ।
तपार्इं कहाँबाट झुल्किनुभयो ? तीन घन्टा अघिसम्म तपाईं हुनुहुन्छ भन्ने अनुमानसम्म पनि थिएन मलाई । तपार्इं कहाँबाट चढ्नुभयो भन्ने सम्झना पनि छैन । सामराबाट हो ? हुन त प्रिय, जहाँबाट चढे पनि के फरक पर्छ र । अहो, मलाई त चक्कर लाग्न थाल्यो । हैन, यो जहाज घुमेर हो कि क्या हो ? '
अगाडिको अँध्यारोमा बत्ती टिलपिलाइरहेका थिए । त्यस अँध्यारोबाट आएको कडा तर शीतल हावाको झोक्का तिनका अनुहारमा ठोक्कियो । जहाज अघि बढ्दै जाँदा बत्तीहरू एकपछि अर्को गर्दै सुल्किँदै गएका देखिन्थे । अगाडिको सानो बन्दरगाह नजिक पुगेपछि भोल्गा नदीको चञ्चलतासँगै जहाज फनक्क मोडियो ।
त्यस लप्टनले उसको हात समायो र आफ्नो ओठसम्म ल्यायो । उसको त्यो खिरिलो तर दह्रो हातबाट घामले डढेको गन्ध आइरहेको थियो । नरम नाइलनको कपडाभित्रको उसको शरीरको कल्पना मात्रले पनि लप्टनको पूरै शरीर आनन्द र व्यग्रताले काँप्यो । समुद्रको तप्त बालुवामा पल्टिएर उसले एक महिनासम्म दक्षिणी घाम तापेकी थिई । यसले पक्कै पनि उसको शरीर निकै दह्रो र पूरै खैरो भएको हुनुपर्छ । अघि नै कुरैकुरामा उसले आफू अनापुमा एक महिनासम्म घाम तापेर फर्केको बताएकी थिई ।
लप्टनले सुस्तरी भन्यो, 'यहीँ ओर्लिऔं ।'
'कहाँ ? ' अचम्म पर्दै उसले सोधी ।
'यहीँ । यही सानो बन्दरगाहमा । '
'किन नि ? '
लप्टन मौन भयो ।
उसले फेरि उल्टा हत्केलाले आफ्ना ताता गाला छामी ।
'बौलाउनुभो कि क्या हो... ।'
'यहीँ ओर्लिऔं ।' उसले निरस भावमा दोहोर्यायो । 'बिन्ती... ।'
'लौ । मन लागेको गर्नू ।' मुन्टो बटार्दै उसले भनी ।
मधुरो बत्ती बलिरहेको अगाडिको पोतघाटमा पुगेर जहाज घच्याक्क रोकियो । झट्काले गर्दा ती दुई झन्डै एक अर्कामाथि खप्टिएनन् । जहाजको एउटा लठ्ठाको छेउ तिनका टाउको माथिबाट सुइँय्य गर्दै अगाडि गयो । अनि त्यो सानो जहाज फनक्क घुम्यो । छालहरू किनारामा ठोक्किएको आवाज आयो । यात्रु चढ्ने–ओर्लने भर्याङ खट्याक खट्याक गर्यो । लप्टन आफ्नो सरसमान लिन दौडियो ।
झटपट तिनीहरू सुनसान पोतघाटबाट बाहिरिए । गोलीगाँठासम्म आइपुग्ने बालुवा टेक्दै केही पर पुगे र धुलैधुलो भएको एउटा टाँगामा चुपचाप बसे । अगाडिको धुलौटे उकालो बाटो अन्त्यहीन झैं देखिन्थ्यो । बाटा किनारामा फाट्टफुट्ट देखिएका ल्याम्प पोस्टहरू टेढा उभिएका थिए । केही समयपछि उनीहरू चढेको टाँगा टाकुरामा पुग्यो । ढुंगा बिछ्याइएको गल्लीमा छिरेपछि कट्कट् गर्दै टाँगा विस्तारै अघि बढ्यो । त्यहाँ एउटा चोक थियो । वरिपरि केही प्रशासनिक भवन थिए र आडैमा चर्चको घन्टाघर । त्यो सानो काँठे सहरमा ती दुवैले गर्मीको रातको गन्ध र ताप सहजै महसुस गरे ।
बत्ती बलेको एउटा खुला प्रवेशद्वारअगाडि टाँगा रोकियो । भित्र काठको ठाडो भर्याङ देखियो । दाह्री नकाटेको एउटा कामदार टाँगाअगाडि उभियो । उसले गुलाबी रङको कमिज र फ्रककोट लगाएको थियो । उसले मन नलागी–नलागी झोलाहरू उठायो । थकित पाइला चाल्दै भित्र गयो । लप्टन र खिरिली आइमाई उसका पछिपछि लागे ।
कामदारले उनीहरूलाई निकै ठूलो कोठामा पुर्यायो । दिनभरको चर्को घामले गुम्सिएको त्यस बडेमानको कोठाका झ्यालहरूमा सेता पर्दा झुन्डिएका थिए । अँगेनोमाथिको तखतामा ऐना राखिएको थियो । ऐनाको ठीक तलपट्टि दुईवटा मैनबत्ती सजाएर राखिएको थियो । कामदार ढोका तानेर फर्किएको मात्र के थियो लप्टन जोसिएर ऊमाथि हामफल्यो । तड्पिएका ती दुवै हर्षोन्मत्त चुम्बनमा हराए । यस्तो उन्मत्त अनुभव ती दुवैले पहिले कहिल्यै गरेका थिएनन् ।
भोलिपल्ट बिहान १० बजे त्यो आइमाई उसलाई छाडेर आफ्नो एकल यात्रामा निस्की ।
बिहानैदेखि घाम चर्केको थियो । होटेल नजिकैको चर्चमा बजेका घन्टहरूका आवाजले गर्दा गर्मी बिहानी उल्लासमय लाग्दथ्यो । नजिकै लागेको हाटबजारको हल्ला कोठामा प्रस्ट सुनिन्थ्यो । रुसका अन्य काँठे बजारझैं यो पनि पराल, अल्कत्रा र ठम्याउन कठिन अनेकौं गन्धहरूले भरिएको थियो ।
त्यो बेनामी खिरिली आइमाईले आफ्नो नाम बताउनै चाहिन । लप्टनले बारम्बार उसको नाम सोध्दा जवाफमा उसले ठट्टिँदै भनेकी थिई- म तपाईंकी प्यारी अपरिचित । अजनवी ।
दुवैजना राति निकै कम सुतेका थिए । कोठा छाड्नुअघि ऊ पाँच मिनेट जतिमै नुहाइवरि तयार भएकी थिई । बाहिरिनुअघि ओछ्यान नजिक आएर उसका अगाडि उभिएकी थिई । ऊ सत्र वर्षकी युवतीजस्तै उज्याली देखिएकी थिई । के ऊ लजाएकी थिई ? अलिअलि । ऊ पहिलाजस्तै सरल, प्रफुल्ल र निकै बाठी देखिन्थी ।
'हैन, त्यसो होइन, प्रिय ।' लप्टनले एउटै जहाजमा सँगै यात्रा गरौं भन्दा उसले भनेकी थिई, 'हैन । अर्को जहाज नआउन्जेल तपाईं यहीँ बस्नू । हामी सँगै गयौं भने सब बर्बाद हुन्छ । म कुनै गडबड होस् भन्ने चाहन्नँ । मलाई विश्वास गर्नुस् । म तपाईंले सोचेजस्तो आइमाई होइन । हामीबीच जे भयो त्यो पहिले कहिल्यै भएको थिएन न त पछि कहिल्यै हुनेछ । मान्नुस्, हिजो ग्रहण लागेको थियो... या अझ भनौं हामी दुवैलाई अकस्मात् लु लाग्यो ।'
उसको भनाइमा लप्टन अलिअलि सहमत भएको थियो । टाँगामा चढेर प्रफुल्लित मुद्रामा उसलाई पोतघाटसम्म पुर्याउन गएथ्यो । त्यहाँ पुग्दा गुलावी रङको जहाज छुट्नै लागेको थियो । डेकमा अन्य यात्रुहरूको अगाडि उसलाई चुम्बन गर्यो । त्यसपछि जमिन छाड्दै गरेको भर्याङबाट कसोकसो गरी फुत्त हाम्फाल्यो ।
उही सहज उत्साह लिएर ऊ होटलमा फर्कियो । यद्यपि केही बदलिएको थियो ।
ऊ बिनाको त्यो कोठा अहिले अर्कै देखिन्थ्यो । लप्टनले रित्तो कोठाभरि उसलाई मात्र देख्यो । कति उदेकलाग्दो ! उसको जीउको बेलायती उड कोलोनी अत्तर कोठामा अझै मगमगाइरहेको थियो । उसले आधा खाएर राखेको चियाको कप किस्तमिा नै थियो । तर त्यहाँ ऊ थिइन । अकस्मात् उसको मुटु हल्लियो । खप्न नसकेर हतारमा उसले चुरोट सल्कायो । आफूले लगाएको छालाको जुत्तालाई हातमा लिइराखेको सानो कोर्राले हान्दै कोठा वरिपरि घुम्न थाल्यो ।
'कस्तो अचम्म भयो !' ऊ ठूलो स्वरमा हाँस्यो । उसका दुवै आँखाका डिलमा आँसु टिलपिलाइरहेको थियो । 'मलाई विशवास गर्नुस् । म तपार्इंले सोचेजस्तो आइमाई होइन । ऊ गई...'
'हाँसोलाग्दो आइमाई ! '
ओछ्यान मिलाएको थिएन । उसले ओछ्यानमा नियालेर हेर्ने आँटै गरेन । बजारको हल्ला र गाडाका चुइँचुइँ आवाज नआओस् भनी झ्याल बन्द गर्यो । सेता पर्दा लगायो र बढेमानको सोफामा बस्यो । लौ ठीक छ । त्यसो भने यो संयोगको भेटको अन्त्य यहीँ भयो । गई ऊ मबाट । निकै टाढा छे अहिले ऊ । यतिखेर उ शिशायुक्त बैठक कोठामा आराम गरिरहेकी होली । या जहाजको डेकमा होली । त्यहाँबाट हेर्दै होली घाममा टल्किएको अस्मेल नदी, आउजाउ गरिरहेका नाउहरू, पहेँला बलौटे किनाराहरू, दूर क्षितिजमा चम्किएको जलराशि, त्यसभन्दा माथिको आकाश, भोल्गा नदीको अपरिमेय फैलावट... । बिदा । सदाका लागि बिदा । अब हामी दुईको भेट फेरि कसरी पो होला र !
उसले सोच्न थाल्यो, 'उफ्, म उसको सहर जान सक्दिनँ । त्यो सहर जहाँ उसको लोग्ने छ, जहाँ उसकी तीन वर्षकी छोरी छे र उसका बाँकी परिवारजन । त्यो सहर जहाँ ऊ आफ्नो दैनिक जीवन बिताउँछे ।' एकाएक उसलाई त्यो सहर असामान्य, निषेधित लाग्न थाल्यो । सोच्यो, 'अब ऊ त्यस ठाउँमा एकांकी जीवन बिताउली मलाई नै सम्झेर । हिजोको हाम्रो आकस्मिक भेट जीवनभर सम्झेली ।'
अब ऊसँग कहिल्यै भेट हँदैन भन्ने सोचले लप्टन भित्रैबाट अररो भयो । हैन यस्तो त नहोला ! यस्तो विचार हास्यास्पद, अस्वाभाविक, अविश्वसनीय छ ! उसलाई आफ्नो बाँकी जीवन अवसादपूर्ण र निरर्थक लागेर आयोे । उसको मन निराशा र भयले ढाकियो ।
'छ्या, के भा'को यो ? !' उसले आफैंलाई सोध्यो । सोफाबाट उठेर फेरि यताउति गर्न थाल्यो । सकेसम्म ओछ्यानतिर नहेर्ने प्रयत्न गर्यो । 'हैन, मलाई के भै'राछ यो ? कसले सोच्या'थ्यो र पहिलो भेटमै यस्तो होला भनेर ? खास भ'को चैं के हो ? साँच्चि नै, लु नै लागेछ क्या हो ! भतभती पोलेर आउँछ । ऊबिना यो ठाउँ ईश्वरले पनि त्यागेको झैं लाग्दैछ । साँच्चै, यस्तो ठाउँमा ऊबिना म कसरी आजको दिन काट्न सक्छु ? '
उसले त्यस आइमाईको शरीरका सबै रहस्यहरू सम्झियो । सम्झियो- घामले डढेको उसको शरीरको गन्ध, नाइलेनको उसको पहिरन, उसको गठिलो जीउ, जोशिलो, सरल, प्रफुल्ल स्वर... । रोमाञ्चक, रहस्यमयी स्त्रीजन्य सौन्दर्यले उसलाई अझै खेदिरहेको थियो । ऊसँग छुटेपछिको आफ्नो मनोदशा देखेर लप्टन आफैं अचम्मित भयो । अनौठो मनोदशा । बुझ्नै नसकिने । ऊ साथमा हुँदा उसले अनुभव नै नगरेको मनोदशा ।
ऊसँग हिजो भेट हुनुभन्दा पहिले उसले कल्पना समेत नगरेको मनोदशा । यस्तो अनुभव जुन ऊ कसैलाई पनि बताउन सक्दैन । अहँ कसैलाई पनि ! ऊ सोच्न थाल्यो, 'अझ पीडादायी कुरो, म यस अनौठो सम्बन्धबारे कसैसँग कुरा गर्न सक्दिनँ । म के गरौं ? यो स्मृति बोकेर कहिल्यै नकट्ने दिन कसरी काटौं ? यसरी तड्पिएर ईश्वरले पनि छाडेको यो सानो सहरमा, चञ्चल भोल्गा नदीको किनारमा । यो त्यही नदी जसको छातीमा तैरँदै गुलाबी रङको जहाजले उसलाई मबाट टाढा लिएर गयो ।'
ऊ यस असह्य पीडाबाट बच्ने उपाय सोच्नतिर लाग्यो । मन बहलाउन बाहिर कतै निस्कने सोच बनायो । मन दह्रो पारेर टोपी लगायो । जुत्ता बजाउँदै जोसिएर बाहिर लम्कियो । खाली बरन्डा काट्यो । अनि ठाडो भर्याङबाट फटाफट ओर्लिएर प्रवेशद्वारमा पुगेर उभियो । लौ, अब कता जाने ?
त्यहाँ एउटा भर्खरको टाँगावाला आरामले सानो सिगार तानिरहेको थियो । चिटिक्क परेको किसाने कोट लगाएको त्यो युवक कसैको पर्खाइमा थियो । त्यसलाई देखेर लप्टन झन् व्याकुल भयो । त्यसतर्फ कर्के नजर लगाउँदै उसले सोच्यो, 'हैन, कसरी बस्न सकेको यति आरामले सिगार तान्दै ? बेफिक्री । अनाशक्त । हुन पनि यो पूरै सहरमा ममात्रै यति साह्रो दुःखी छु कि क्या हो ।'
ऊ बजारतिर लाग्यो ।
पूरा बजार असरल्ल देखिन्थ्यो । पत्तै नपाई उसले टाँगा, काँक्राले भरिएका गाडा, बेच्न राखेका भाँडाकुँडाका बीच छरिएको लादी टेक्न पुग्यो । भाँडा बेच्ने आइमाईहरू तँछाडमछाड गर्दै उसको ध्यानाकर्षण गर्दै थिए । भाँडा हातमा लिएर आफ्ना औंलाहरूलाई गोलाकार बनाउँदै एकदम राम्रो छ, एकदम राम्रो भन्ने संकेत गर्दै थिए । किसानहरू भने कानै खाने गरी चिच्चाइरहेका थिए, 'दामी काँक्रा, हजुर । दामी ।'
उसलाई यी सब कुरा बकबास, हास्यास्पद लाग्यो । ऊ त्यहाँबाट हतासमा निस्कियो ।
त्यसपछि ऊ नजिकैको चर्चमा पस्यो । श्रद्धालुहरू ठूलो स्वरमा भजन गरिरहेका थिए । ती प्रसन्न र दृढसंकल्पित देखिन्थे । मानौं, आफ्नो मनोकांक्षा पूरा हुनेमा ती पूर्ण विश्वस्त थिए । ऊ त्यहाँबाट पनि बाहिरियो र गल्लीगल्ली लम्कियो । चर्को घाममा हिँड्दै अलि परको एउटा पहाडको काखमा अडेको उपेक्षित सानो बगैंचामा आइपुग्यो । बगैंचा वरिपरिको बाटबाटै एकछिन टहलियो । त्यो पहाड इस्पातझैं टलक्क टल्किरहेको विशाल नदीतिर फर्केको थियो । लप्टनका काँधका छालाका फिता र उसले लगाएको सेतो पोसाकका टाँकहरू छुनै नसकिने गरी तातेका थिए । टोपीको भित्री फिता पसिनाले निथ्रुक्कै भिजेको थियो । अनुहार भतभती भएको थियो ।
ऊ होटेलमा फर्कियो र डाइनिङ रुममा पस्यो । त्यो ठूलो, रिक्त कोठा शीतल थियो । छिर्नासाथ उसले निकै आराम महसुस गर्यो । टोपी खोल्यो । खुला झ्यालको आडैमा रहेको सानो टेबलमा बस्यो । झ्यालबाट तातो हावाको झोका भित्र छिर्यो । सागसब्जीको चिस्याएको सुप मगायो । यस्तो चर्को गर्मी र बजारको गन्धमा पनि उसले हरेक चिजमा अमिट आनन्द र खुसीको अनुभव गर्यो । यो सानो बिरानो काँठे सहरमा, यो पुरानो होटेलमा सबैतिर उसले भिन्न किसिमको आनन्द फैलिएको पायो । यो यही स्थान हो जहाँ उसको हृदय छियाछिया भएको थियो ।
उसले काँक्रोको सितनसँग निकै गिलास भोड्का तान्यो । अनि कल्पनामा डुब्न थाल्यो । कुनै चमत्कार भएर केवल आजको दिन उसँग बिताउन पाए, आफ्नो हृदयविदारक र अनौठो प्रेमका बारेमा उसलाई बताउन पाए, उसलाई विश्वस्त पार्न सके कुनै हिच्किचाहटबिना ऊ भोलि नै मर्न पनि तयार थियो । फेरि आफैंलाई सोध्यो, 'तर म उसलाई प्रेम गर्छु भनेर किन विश्वस्त पार्ने ? किन सम्झाउने ? ' उसले यसको कुनै कारण भेटेन । तैपनि उसले आफैंलाई सम्झायो- यो आवश्यक छ किनभने ऊ जीवनभन्दा प्रेममा ज्यादा विश्वास गर्छ ।
'हैन, मेरो दिमागलाई के भैरा'छ हँ ? ' भोड्काको पाँचौं गिलास रित्याउँदै उसले आफैंलाई सोध्यो ।
नशामा सबै बिर्सने आशमा, यो पीडादायी आनन्दको अन्त्य गर्ने सोचमा उसले रक्सीको सुराही पूरै रित्यायो । तर अहँ, हिजोको त्यो आनन्द, आजको यो पीडा झन् बढ्दै गयो ।
चिसो सुप पर धकेल्यो । कालो कफी मगायो । चुरोट तान्दै यस अनपेक्षित, अप्रत्याशित प्रेमबाट मुक्त हुने अनेकौं उपाय र माध्यम सोच्न थाल्यो ।
यो प्रेमबाट छुटकारा पाउन असम्भव छ । ऊ निकै गम्भीर भयो । तत्कालै जुरुक्क उठ्यो । टोपी र कोर्रा टिप्यो । वरिपरि हुलाक कहाँ छ सोध्यो र वेयराले बताएको दिशातिर हानियो । अघिदेखि नै मनमा खेलाइरहेको टेलिग्रामलाई कसरी लेखिपठाउने सोच्दै अघि बढ्यो, 'अब उप्रान्त मेरो जीवन पूर्णतः तिम्रो । मृत्युपर्यन्त तिम्रो इच्छाअनुसार चल्ने ।'
मोटो गारो भएको एउटा घरमा उसले हुलाक र टेलिग्राफ अफिस देख्यो । तर त्यहाँ पुगेपछि ऊ विस्मातमा मूर्तिवत् उभियो । उसलाई आफ्नो अजनवी प्रेमिका बस्ने सहर थाहा थियो, उसको लोग्ने र एउटी तीन वर्षकी छोरी छ भन्ने पनि थाहा थियो । तर उसलाई न उसको नाम थाहा थियो न त थर नै । हिजो साँझ उसले कैयौंपटक उसको नाम सोधेको थियो । हरेकपटक उसले हाँस्दै जवाफ दिएकी थिई, 'किन चाहियो र म जो भए पनि । ल, म मारिया रे, फेरिल्यान्ड क्विन रे । अथवा केवल प्यारी अपरिचित । अजनवी । अब त भयो ? '
हुलाक कार्यालय नजिकैको कुनामा उसले एउटा सोकेस देख्यो । त्यसमा एउटा सैनिकको ठूलो फोटो सजाएर राखिएको थियो । उसले केही बेर फोटो नियाल्यो । बल्ढ्यांग्रे आँखा, झुकेको निधार र बढेमानको उदेकलाग्दो जुँगा भएको त्यस सैनिकका दुवै कुम आभूषणले ढाकिएका थिए । उसको चौडा छाती तक्माले सजिएको थियो । कस्तो हास्यापद दृश्य ! उसलाई यी सब तामधाम निकै घिनलाग्दो, अति सामान्य लाग्यो । उसको मन गलेको थियो लुको उकुसमुकुसले, यो उत्कट प्रेमले, हिजोको उत्कट आनन्दले । अलि पर बेहुलाबेहुलीको एउटा जोडी देख्यो ।
बेहुलाले लामो फ्रककोट र सेतो नेकटाई लगाएको थियो, कपाल दुम्सीकाँडे शैलीमा काटेको थियो । हत्तपत्त उसले आफ्ना आँखा त्यस जोडीबाट हटायो र अलि पर उभिएको एउटा विद्यार्थीको छड्के टोपीमा बिसायो । उसले लगाएको टोपीमा हँसिली केटीको फोटो देख्यो । यी सब अपरिचितहरूलाई देखेर उसलाई ईष्र्या लाग्यो । यी हँसमुख प्राणीहरूको पीडामुक्त जीवन सहन नसकेर ऊ सडकतिर एक तमासले हेर्न थाल्यो ।
कहाँ जाऊँ म ? के गरौं ? यस्ता उत्तरविहीन, पीडादायी प्रश्नहरू उसको मस्तिष्कमा सलबलाइरहे ।
सडक पूरै खाली थियो । वरिपरिका घरहरू सबै एकैनासका देखिन्थे- सेता दुईतले, मध्यम वर्गीय, हरेकका अगाडि एउटा ठूलो बगैंचा फैलिएको । तर ती मानवरहित देखिन्थे । सडक पेटी बाक्लो धुलोले ढाकिएको थियो । चर्को घामले गर्दा सम्पूर्ण पर्यावरण तिलमिल तिलमिल देखिन्थ्यो । तप्त, राफिलो, उल्लासमय र प्रयोजनहीन चम्किरहेको सूर्यको प्रकाशमा वरपरका हरेक वस्तु नुहाएझैं लाग्दथ्यो । उकालो सडक उचाइको एउटा बिन्दुमा पुगेर जुरोझैं उठेको थियो । हल्का नीलो देखिने त्यो जुरो कञ्चन, सफा, खरानी रङको क्षितिजसँग जोडिएको थियो ।
यस दृश्यले सेबासटोपोल, अनापु, कर्चजस्ता दक्षिणी भेगका स्थानहरूको झझल्को दिन्थ्यो । अनापुको सम्झनाले लप्टनलाई असह्य पीडा भयो । त्यसपछि ऊ घोसेमुन्टो लगाएर चर्को घाममा आँखा चिमचिम गर्दै त्यहाँबाट फर्कियो । उसका आँखा भुइँमा गडेका थिए, खुट्टा लर्खराएका थिए ।
फर्किएर ऊ होटेलमा आयो । थकाइले जीउ चुँडिएको थियो । ऊ तुर्किस्तान या सहारा मरुभूमिको लामो यात्राबाट फर्किएझैं थकित देखिन्थ्यो । रहलपहल शक्ति खिचेर ऊ होटेलको ठूलो, निर्जन कोठामा छिर्यो । कोठा सफा गरिसकेको थियो । त्यस अज्ञात प्रेमिकाको अन्तिम स्मृति सबै बडारकुँडार भइसकेको थियो । उसले बिर्सेकी एउटा काँटा भने अझै पनि ओछ्यान नजिकैको टेबलमा एक्लै टक्रक्क लडिरहेको थियो ।
ज्याकेट खोल्यो र ऐनामा आफ्नो अनुहार निहाल्यो । ऐनामा देख्यो उसले एउटा अधिकृत र घामले डढेर कालो भएको उसको सामान्य अनुहार, नीलोनीलो सेता आँखा, घामले खाएर सेतो भएको जुँगा । उसले त्यस अनुहारमा एक प्रकारको उद्विग्नता, पागलपना देख्यो । आफूले लगाएको पातलो सेतो कमिजको कडा कलरमा उसका आँखा पुगे । घाँटीमा सीधा ठडिएका ती कलरमा उसले युवा जोश देख्यो । त्यसले उसमा झन् विरक्तिको भावना उम्लिएर आयो । ओछ्यानमा उत्तानो पल्टियो ।
धुलाम्मे जुत्तासहितका खुट्टा फुटबोर्डमा अड्यायो । झ्यालहरू खुलै थिए । तिनमा झुन्डिएका पर्दा हल्का बतासले बेलाबेलामा हल्लिन्थे । त्यस बताससँगै भित्रिन्थ्यो तातेको छानाको गन्ध र उकुसमुकुस गर्मी, अनि चम्किलो भोल्गा नदीको परिवेश जुन अहिले निकै मौन, उदास, जनशून्य थियो । हातको सिरानी लगाएर ऊ त्यसै पल्टिरह्यो । उसका आँखा शून्यमा हराए । उसको मनमा दूर दक्षिणी भेगको एउटा धूमिल चित्र बन्यो । त्यस चित्रमा देख्यो उसले त्यहाँको घाम, त्यहाँको समुद्र, अनि अनापु सहर जुन उसलाई अन्य सहरभन्दा निकै भिन्न लाग्यो । त्यो तिलस्मी सहर जहाँ ऊ गएकी थिई, जहाँ ऊ छे अहिले । कताकता उसलाई आफूभित्र तातो आँसुको मुहान फुट्दै गरेझैं लाग्यो ।
अन्ततः ऊ निदायो ।
आँखा खुल्दा साँझ परिसकेको थियो । उसले पर्दाको चेपबाट बाहिर हेर्यो । साँझको रातो सूर्य निस्तेज हुँदै गइरहेको थियो । बतास चल्न बन्द भइसकेको थियो । कोठा फेरि आरनझैं तातेको थियो । उसले हिजो र आज बिहानका सबै घटना स्मरण गर्यो । सम्झिँदा ती घटना १० वर्ष अघिका जस्ता लाग्न थाले ।
ऊ कुनै हतार नगरी उठ्यो । कुनै हतार नगरी जीउ सर्र पखाल्यो । त्यसपछि पर्दा एकातिर पन्छायो । घन्टी बजाएर कामदारलाई बोलायो । सामोभार कितली र बिल ल्याउन भन्यो । कितलीको पानीमा कागती चिया बनायो । धेरै बेर लगाएर चिया खायो । त्यसपछि टाँगा बोलायो, आफ्नो सरसामान बाहिर निकाल्यो । टाँगाको डढेको रातो सिटमा बस्दै उसले कामदारलाई पूरा पाँच रुबल टिप दियो ।
'साहेब, हिजो राति मैले नै हजुरलाई यहाँ ल्याएजस्तो लाग्छ', टाँगावालाले लगाम समात्दै भन्यो ।
तिनीहरू बन्दरगाह पुग्दा अँध्यारो भइसकेको थियो । गर्मीयामको बादलरहित कालो आकाश भोल्गा नदीमाथि टाँगिएकोे थियो । नदीमा बहुरंगी प्रकाश छरिएको थियो । आउँदै गरेको जहाजको मस्तुल त्यस प्रकाशमा टल्किँदै थियो ।
'ठीक समयमा नै आइपुगियो ।' टाँगावालाले उसको मन जित्न खोज्यो ।
लप्टनले टाँगावालालाई फेरि पनि पाँच रुबल दियो र टिकट हातमा लिएर बन्दरगाहतिर गयो । हिजोजस्तै आज पनि जहाज बाँध्ने लठ्ठाको मधुर आवाज उसको कानमा पर्यो । जहाज ढलपल ढलपल हुँदा आज पनि उसलाई रिँगटा लाग्यो । सबै हिजोको जस्तै- टाउको माथिबाट स्वाट्ठ गएको लठ्ठा, जहाजको पांग्रा घुम्दा निस्केको पानीको आवाज । यात्रुले खचाखच झलमल्ल जहाज र भान्छाबाट निस्किएको गन्धले उसलाई न्यानो स्वागत गरेझैं लाग्यो ।
एकाध मिनेटपछि जहाज आफ्नो गन्तव्यतिर लाग्यो । नदीको माथिल्तिर यात्रारत यो वाहन उसकी अज्ञात प्रेमीकालाई आज बिहान जुन दिशामा लिएर गएको थियो अहिले त्यतै जाँदै थियो ।
अघिल्तिर सूर्यास्तपछिको आकाश अँध्यारो हुँदै थियो । गर्मीयामको यतिखेरको आकाश नदीमा उदास, स्वप्निल र रंगदिप्त भई टिलपिलाइरहेको थियो, पर अगाडि पानीका असंख्य लहरामा काला छायाहरू नाचिरहेका थिए, जहाज वरिपरि छरिएको प्रकाश अँध्यारोमा विस्तारै विस्तारै हराउँदै थियो ।
लप्टन डेकमा टाँगिको एउटा त्रिपालमुनि गएर बस्यो । उसलाई ऊ आफू एक दिनमा १० वर्ष बूढो भएझैं लाग्न थाल्यो ।
(इभान बुनिन नोबेल पुरस्कार पाउने पहिलो रुसी लेखक हुन् । अंग्रेजीमा सनस्ट्रोक शीर्षकको यस कथालाई समरसेट मौघहमले विश्वकै एक उत्कृष्ट कथा भनेका छन् ।) अनुवादकः बलराम अधिकारी