गीतलाई जिन्दगी
'यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैलेकैले
कसैलाई माया गर्ने एउटा भूल गरेँ मैले'
ह्यान्डसम थिए रे उनी । गरे होलान् भूल हजार । गीतमा लेखिदिए एउटामात्रै । कस्तो थियो भूल ? सोधेँ । तर, भनेनन् । यस्ता सयौं गीत छन् उनका । कालजयी अर्थात् कहिल्यै नमर्ने । बजिरहन्छन् हरपल, हरक्षण, हरप्रहर । उनको नाम ? यादव खरेल ।
यादव खरेल केवल एक नाम होइन । नेपाली संगीतको ग्रामोफोन रेकर्डिङ प्रविधिदेखि डिजिटल प्रविधिको युगसम्म अविच्छिन्न राज गरिरहेको परिचय पनि हो । आधा शताब्दी पुगिसकेछ संगीतमा समर्पित भएको । अझै उत्तिकै क्रियाशील छन्, उस्तै जाँगर छ । उस्तै फुर्ती ।
काभ्रेमा जन्मेर काठमाडौं र सप्तरीमा बाँडिएर हुर्किएका यादवले तीनवटै भूगोलको हावापानी चाखे । जीवन भोगाइका क्रममा विविधतामा भिज्न पाए । यही विविधताले सपार्यो उनको सिर्जना । सामाजिक सेवामा पसे, स्वदेश तथा विदेश अवलोकन गर्ने मौका पाए । झनै फैलियो सिर्जना । भन्छन्, 'जहाँ सिर्जना छ, त्यो ठाउँ मन पर्छ ।'
साहित्यका विविध विधा, सामाजिक सेवा, चलचित्र लगायतका थुप्रै क्षेत्रलाई बलियो बनाउने आधार खडा गर्दै हिँडेका यादवले आफ्नो जीवनलाई सबैतिर छरेर बिताए । पुग्दो परिवारमै जन्मिएका हुन्, कुनै एक पेसा समाएको भए आय आर्जन पनि राम्रै हुन्थ्यो, जीवन पनि राम्रै बित्थ्यो । तर, त्यतिले मात्र पुगेन उनलाई । भन्छन्, 'समाजका लागि केही त गर्नुपर्यो, समाज र देशका लागि आफू जति उपयोगी हुन सक्यो जीवनको सार्थकता त्यति हुने हो ।'
कार्यक्रम सहसञ्चालकका रूपमा रेडियो नेपालमा काम गर्न जाँदा भ्वाइस टेस्टमा पास भएको दिन उनको लागि कम खुसीको दिन थिएन । मविवि शाह, माधव खनाल 'भावुक'ले लेखेका गीत, धर्मराज थापा, कलानाथ अधिकारी, मास्टर रत्नदास प्रकाशजस्ता गायक त्यति बेला खुब चलेका थिए । उनीहरूलाई नै सुनेर उनको रेडियोप्रतिको आकर्षण बढेको थियो ।
विद्यार्थीको कार्यक्रमबाट काम सुरु गरेका उनी केही समयमै सञ्चालक भए । रेडियोले तीन सय रुपैयाँ दिँदा के के न पाएँजस्तो लाग्थ्यो रे । त्यति बेला रेडियोमा नाम भन्न पाइँदैनथ्यो । तर पनि आवाजकै भरमा उनलाई धेरैले चिन्थे । कार्यक्रममा बोलेर निस्कँदा संसारले आफैंलाई हेरिरहेजस्तो लाग्थ्यो रे ।
आफ्ना सहयात्रीहरू धेरैले संसार छोडिसके । ७३ वर्षे यादवको सक्रियतामा भने खासै कमी आएको छैन । अहिले पनि गीत, गजल र भजन गरी तीनवटा एल्बमको तयारी गरिरहेका छन् । गीतबाहेकको साहित्य सिर्जनाको पाटो त बेग्लै छ ।
२०१६ सालमा रेडियो नेपालको जागिरे भएदेखि उनको संगीत यात्रामा कुनै ब्रेक लागेको छैन । नेपाली संगीतको त्यो बेलाको अवस्था वर्णन गर्नसक्ने कोही छ भने त्यो व्यक्ति उनी नै हुन् । सोमबार गौरीघाटस्थित आफ्नै निवासमा भेटिएका यादवले रमाइलोसँग विगत सम्झिए ।
भन्छन्, 'सबै म्युजिक सिर्जनाको आधार रेडियो नेपाल हो, कहिलेकाहीँ नाचघर र एकेडेमीमा कार्यक्रम हुन्थ्यो ।' अरू विकल्प नभएको त्यो समयमा रेडियो नेपाल नै सबैको साथी थियो । संगीतको आधुनिकीकरणको उद्गमस्थल नै रेडियो नेपाल हो । गीतकार, संगीतकार र गायक सबै स्रष्टा जम्मा हुन्थे । त्यहीँ मित्रता हुन्थ्यो, त्यहीँबाट गीत उत्पादन हुन्थ्यो ।
कसको गीत, संगीत र स्वर कस्तो छ, कुन संयोजन बढी राम्रो हुन्छ भन्ने यही सर्कलभित्र घुमिरहन्थ्यो । सुरुमा रेकर्ड गर्ने प्रविधि नहुँदा कलाकारहरू रेडियोमा आएर लाइभ कार्यक्रममा गीत गाउँथे, जान्थे । बजेपछि सकिन्थे । यसरी धेरै गीत त्यत्तिकै मरेर गए ।
रेडियो नेपालबाटै वर्षमा दुई जनालाई भारतको कलकत्ता लगेर गीत रेकर्ड गराइन्थ्यो । डीबी महेश 'पाल्पाली'ले गाएको यादवको गीतले २१ सालमा कलकत्ता गएर रेकर्ड हुने मौका पायो । यो मौका सबै कलाकारका लागि ठूलो चिट्ठाजस्तो हुन्थ्यो । यादवलाई पनि आफ्नो गीत यसरी छानिँदा एसएलसी जाँच पास गरेजस्तो लाग्यो ।
रत्नबहादुर खड्गीले गाएको गीत पनि यसरी नै कलकत्तामा रेकर्ड भएको थियो । तर, रेडियो नेपालबाट त्यसको 'एलपी' नै हरायो । फत्तेमानले गाएको 'यस्तो पनि हुँदो रैछ' पनि कलकत्तामै रेकर्ड भएको थियो । यसरी गीत रेकर्ड भइसकेपछि आफूलाई सबैले भाग्यमानी ठान्थे ।
रेडियो नेपालमै गीत रेकर्ड हुन थालेपछि पनि परिस्थिति सजिलो थिएन । ग्रामोफोनमा रेकर्ड गर्दा गायक र वाद्यवादक सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्थ्यो । गायक संगीतकार सबैले एकैपटक काम गर्नुपथ्र्यो । प्रत्यक्ष गाएरै रेकर्ड गर्नुपर्ने हुँदा एउटाले सानो गल्ती गर्नासाथ पूरै गीत पुनः रेकर्ड गर्नुपथ्र्यो । आठदसवटा भन्दा बाजा हुँदैनथे ।
रेकर्डिङ सबैका लागि चुनौतीपूर्ण हुन्थ्यो । एउटै गीत रेकर्ड गर्न दिनभरि पनि लाग्थ्यो । एकैपटकमा कुनै गीत रेकर्ड हुँदैनथ्यो । यादव स्मरण गर्छन्, 'सबै भेट्रान मान्छे रेकर्डिङपछि धन्न बाँचियो भन्दै निस्कन्थे, एकैपटकमा गाए भने अपवाद हुन्थ्यो ।'
नेपाली संगीतको विकासक्रममा सुरुमा लोक, शास्त्रीय र आधुनिक संगीत थिए । संगीतको प्रभाव पनि यही सीमावरिपरि हुन्थ्यो । त्यति बेला बाह्य प्रभाव भारतको मात्र भयो । यादव भन्छन्, 'हिन्दी गीतको प्रभाव थियो, हिन्दी गाएमात्र शास्त्रीय हुन्थ्यो ।' शास्त्रीय संगीत गाउँदा हिन्दीमै गाइन्थ्यो ।
उर्दु फारसीबाट हिन्दीमा प्रभाव भएको छ, त्यही प्रभाव हिन्दी हुँदै नेपालमा परेको थियो । संगीतको निर्माण क्रममा शास्त्रीय र लोकको बढी प्रभाव थियो । भन्छन्, 'अहिले केको प्रभाव छैन ? ' उनका अनुसार पहिलेका गीत सिर्जना, मधुरता र 'ओरिजिनालिटी'ले गर्दा ५० वर्ष नाघिसक्दा पनि लोकप्रिय छन् । पुराना गीत अहिलेका गीतलाई तुलना गर्दै उनले भने, 'अर्गानिक खाना र फास्टफुडजस्तो भइसक्यो ।' पहिलेका स्रष्टाले संगीतलाई पूजाको रूपमा लिन्थे ।
अहिले संगीतमा बढी व्यापारीकरण भयो । पहिले महिनौं रियाज गरेर गीत गाइन्थ्यो । संगीत व्यापारभन्दा माथि थियो । यादव भन्छन्, 'अहिले जहाँ दुई हजार बढी भयो त्यतै कुद्छन् ।' व्यावसायिकता नराम्रो होइन तर प्रतिबद्धता पनि उत्तिकै चाहिने उनको भनाइ हो ।
कुनै पनि गीत चर्चित हुँदा गायकको नाम अघि हुन्छ । गीतकार अदृश्यजस्तै हुन्छ । नेपाली संगीतमा यादवको योगदानको कदर गर्दै हिडन ट्रेजरले उनको एकल साँझ 'अविरल यात्रा २०७३' आयोजना गर्दैछ । योगेश वैद्य, लोचन भट्टराई, कुन्ती मोक्तान, उदय सोताङ, सत्यराज आचार्य, स्वरूपराज आचार्य, मिलन अमात्यजस्ता पुरानादेखि नयाँ कलाकारले उनका चर्चित गीत गाउँदैछन् । कार्यक्रमका लागि उनी पनि सक्रिय देखिएका छन् ।
यो उमेरमा यस्तो सक्रियता कुनै राजनीतिज्ञबाहेक अरू पेसाकर्मीमा कमै देखिन्छ । प्रकृतिले दिएका सीमामा र अनुशासनलाई पालना गर्दै अहिलेसम्म स्वस्थ र तन्दुरुस्त देखिएका यादव सकेसम्म सकारात्मक सोच्न कोसिस गर्छन् । यसले उनको जीवनलाई सही बाटोतर्फ डोर्याइरहेको छ ।
भन्छन्, 'कर्मको फल प्राप्त हुन्छ, ढिला वा चाँडो, खराबले अन्ततोगत्वा हानि नै गर्छ ।' संगीतमात्र नभई समाजका कयौं पाटामा उनको योगदान खोतल्दै जाने हो भने धेरै पुस्तकका ठेली तयार हुन्छन् । उनले स्थापना गरेका र काम गरेका संस्थाको सूचीको सिंगै पुस्तक बन्ला ।
रहरलाग्दो कुरा त उनको नेपाली संगीतप्रतिको चिन्तन र सक्रियता नै हो । यो सक्रियता कहिलेसम्म यस्तै रहला त ? 'जबसम्म प्रकृतिले दिन्छ, जति प्रयोग गर्न सकियो, यो त्यति लम्बिन्छ', उनी भन्छन्, 'दिमागको अत्यन्त ठूलो सामथ्र्य छ, जति प्रयोग गर्यो त्यति फाइदा हुन्छ ।'