जोड्दै जगद्गुरु
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र आउँदासम्म पनि त्राण नपाएका नेपाली जनताको टुटे-फुटेको मन जोड्न पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मको पैदलयात्रा पूरा गरेका छन् नेपालका प्रथम जगद्गुरु देवाचार्यले । महाकाली नदीकिनारको भम्केनीधाममा ७५ जिल्लाको प्रतीकका रूपमा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउने अभियान सुरु गरेका गुरु यस्तो भन्छन्ः
थोराङपास र नीलगिरि पर्वत
असारको पहिलो साता । मध्यरातको २ बजेको थियो । दुई सेना र दुई प्रहरीसँगै दुई भक्तका साथ मेरो यात्रा मुस्ताङबाट थोराङपासका लागि सुरु भयो । टर्चलाइटले बाटो देखायो । उपल्लो क्षेत्र भएकाले दिउँसोभन्दा रात र बिहानको यात्रालाई आत्मसात् गरेका थियौं ।
दुवैतिर बडेमानका हिमाल । बीचमा गल्छीजस्तो ठाउँ । एकातिर चिसोले कक्रक्क बनाउने अर्कोतिर सास फेर्न अक्सिजन नपाइने । धेरै उचाइमा पुगेरै होला अचम्म तालले टाउको दुख्ने अनि बान्ता होलाझैं हुने । हाई-हाई आउने अनि झम-झम निद्रा लाग्ने । त्यस्तो अनकन्टार उकालोमा उज्यालो हुनुअघिको रातमा निदाए के हुन्थ्यो ? उत्तर हामीसँगै थिएन । दिउँसो हिँड्नु कहालीलाग्दो त्यो बाटोमा एकदमै थोरैका लागिमात्र सम्भव रहेछ ।
दुई पाइला हिँड्यो कि थचक्कै बसुँझैं हुने । बाटो अपरम्पार छ । स्याँ, स्याँ अनि हिरिक, हिरिक । अहिले सम्झँदा पनि त्यो बाटोमा पर्ने ती भीमकाय हिमालहरू घँचेडेर पर पुर्याइदिउँ लाग्ने । आँखाबाट त्यतिखेरै ओझेल पर्दिए हुने लाग्ने ।
हिँड्नुको विकल्प थिएन मसँग । मनाङबाट जाँदाको यात्रा भने सहज रहेछ । महाकालीमा नेपाल आमाको मूर्ति निर्माण गर्ने संकल्पका कारण मेरो बाटो कालीदेखि मेची थियो । पुराणमा असाध्यै ठूलो महत्त्व भएकाले त्यो क्षेत्रमा पर्ने नीलगिरि पर्वतको परिक्रमा मेरा लागि महत्त्वपूर्ण र आवश्यक थियो ।
हामीले पर्वतलाई दाहिने पारेर परिक्रमा गर्र्यौं । नीलगिरि पर्वतलाई जसले देखेर पनि प्रणाम गर्दैन त्यो मानिस घोर नरकमा पर्दछ र यमराजका दूतले असाध्यै कठिन यातना दिने गर्छन् । यो श्लोकमा उद्धृत छ । तसर्थ पापबाट मुक्ति प्राप्तिका लागि नेपालको मुस्ताङमा पर्ने नीलगिरि पर्वतको दर्शन र परिक्रमा गर्नु महत्त्वपूर्ण भएको उल्लेख गरिएको छ ।
रामभक्त काकभुसुन्डीले विष्णुका वाहन गरुडलाई पर्वतको फेद तिलिचो तालमा पृथ्वीमै पहिलोपटक रामकथा (रामायण) सुनाउनु भएको थियो । त्यस्तै, काकभुसुन्डीले गरुडलाई कथा सुनाउँदा तालमा आई राजहंस बनी भगवान् शंकरले समेत काकभुसुन्डीबाट रामायणको कथा सुनेको रोचक प्रसंग रामायणमै भेटिन्छ ।
नेपाल धरतीमै रामायणका कथा चारपटक भएको कुरा पनि पुराणमा उल्लेख छ । पहिलो, नेपालमा पर्ने कैलाश पर्वतमा प्रथमपटक शिवजीले माता पार्वतीलाई रामायण सुनाउनुभयो । दोस्रो, काकभुसुन्डीले गरुडलाई तिलिचो तालमा सुनाउनु भयो । तेस्रो, वाल्मीकि ऋषिले लव र कुशलाई चितवनस्थित त्रिवेणीधामको वाल्मीकि आश्रममै रामायण सुनाउनुभयो । चौथो, आदिकवि भानुभक्त आचार्यले तनहुँको चुँदीरम्घा गाउँमा रामायणको व्याख्या गर्नुभयो ।
आम नेपालीले त्यहीँबाट रामायण रसको आस्वादन गर्न पाए । यसकारण चार, चार पटकसम्म नेपालकै पवित्र भूमिमा रामायण महाकाव्यको व्याख्या भएको गौरवमय इतिहास छ ।
३८ औं जिल्ला काठमाडौं प्रवेश
नेपालको सुनसरीमा पर्ने चतराधामस्थित वराह क्षेत्रमा बाह्रवर्षे महाकुम्भ मेला सकेर धार्मिक यात्रामा भारत पुगेँ । फर्किएर नेपाल प्रवेश गर्दा महाकाली नदीमा जलाइरहेका नेपाली लासमाथि भारतीय प्रहरीको हस्तक्षेप देखेर मन कटक्क काटियो ।
जलाउँदाजलाउँदै आधा लास छोडेर भाग्नुपर्ने नेपालीको अवस्थाले मन रोयो । एक दसवर्षे जनयुद्धले थिलथिलो भएर एकअर्कालाई विश्वास गर्न नसक्ने नेपालीकै अवस्था । प्रजातन्त्र आयो भनेर सुखका दिन पर्खिएका नेपालीले कहिले पटकपटकको बन्द-हडताल त कहिले मधेस आन्दोलन अनि दिनगन्तीका दर्जनौं सरकारको मारले अस्तव्यस्त जिन्दगीमात्रै व्यहोर्नु पर्यो । राहत कतैबाट भएन नेपाली जनतालाई । जता पुगे पनि अनेक कारणले टुटेको मनमात्रै ।
सुदूरपूर्व त केही भए पनि विकसित छ । यसै पनि सुदूरपश्चिम विकासबाट कोसौं टाढा छ । त्यसमाथि छिमेकीले पनि हेपाहा प्रवृत्ति थोपरिरहने । नेपाली कमजोर छैनन्, शिर उचो नै छ । र महाकाली पर्यटकीय दृष्टिले पनि प्रशस्त सम्भावना बोकेको ठाउँ हो । महाकालीले मेचीलाई र मेचीले महाकालीलाई समेटेको छ, मेची-कालीका आमनेपाली एक छन् र राष्ट्रको अस्मिता जोगाउँदै अघि बढिरहने छन् भन्ने प्रमाणका लागि मैले ७५ जिल्लालाई समेटेर ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउने अभियानमा हिँडेको छु ।
यसका लागि पैदल यात्रामा छु, सबै नेपालीबाट कम्तीमा एक रुपैयाँ र घर-घरमा रहेर उपयोगविहीन बनेका तामा र पित्तललगायतका धातुको अपेक्षा गर्दै हिँडेको छु । प्रारम्भिक अनुमानमा आमाको मूर्ति बनाउन १८ करोड रुपैयाँ लाग्नेछ ।
महाकालीको कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा पर्ने भम्केनीबाट २०७२ वैशाख १ गते सुरु गरेको मेरो पैदलयात्रा कैलाली, डँडेलधुरा, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी, अछाम, हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, रुकुम, जाजरकोट, दैलेख, सुर्खेत, सल्यान, रोल्पा, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ, तनहुँ, गोरखा, धादिङ, रसुवा र नुवाकोट सकेर साउन २९ गते काठमाडौं प्रवेश गर्दैछ ।
गण्डकीको महिमा
मुस्ताङको दामोदर कुण्डको शिर गौगिरि पर्वतबाट प्रकट भएको रहेछ । गण्डर्षी नामक ऋषिकी छोरी गण्डकीले गौगिरि पर्वतमा सृष्टिको आदिमा कठोर तपस्या गरी भगवान् श्रीहरिलाई प्रसन्न बनाई भगवान्बाट वरदान प्राप्त गरिन् । जसको परिणाम श्रीहरिले गण्डकीका गर्भबाट पुत्रका रूपमा पैदा हुने वचन दिए ।
फलस्वरूप भगवान् श्रीहरि नै गण्डकी माताको पुत्रका रूपमा शालग्राम शिला बनी प्रकट हुनुभएको पवित्र कथा वराह पुराणमा छ । यात्रामा देखे, भोगे र बुझेका कुरालाई शास्त्रहरूमा गरेको अध्ययन मिसाएर रचेको शालग्राम भगवान्को वन्दनाको एउटा अंश,
लीला अद्भुतको रचाउने अहो श्रीगण्डकीनन्दन
लाई तत्त्व परत्व सम्झी मनले गर्नु सधैं चिन्तन ।
शालग्राम स्वयं ब्रह्म अनादि तत्त्व हुन् भनी
शम्भुका कण्ठको हार शास्त्रका सार हुन् पनि ।
तत्त्वको सारको सार सर्वस्व प्राणका पति
तुलसीवल्लभ हाम्रा शालग्राम जगत्पति ।
शालग्राम पिता माता तुलसी प्राणवल्लभ
मानवा बान्धवा मित्र स्वामी हुन् दीनवल्लभ ।
दाता हुन् दानी हुन् हाम्रा तुलसी प्राणजीवन
गण्डकीतनय तिम्रो पाउमा कोटीवन्दन ।
मुस्ताङको मुक्तिनाथ हुँदै कागबेनी, गलेश्वरधाम, मोदीवेणी, जैमिनीघाट, सेतीवेणी, रुद्रवेणी, ऋषिकेश (रुरु) क्षेत्र, राम्दीघाट, हुँगीघाट, खोरियाघाट, रामघाट, देवघाट, नारायणघाटबाट स्वर्णभद्रा, पूर्णभद्रा, साथमा मिली गण्डकी नदी त्रिवेणी तीर्थका नामले प्रसिद्ध भएर भारत प्रवेश गर्दछिन् ।
उद्गमस्थल त्रिवेणीसम्म महान् तीर्थका रूपमा विश्वका हिन्दु धर्मावलम्बीहरूले गण्डकीलाई आत्मसात् गरेको पाइन्छ । यसअघि अन्नपूर्णकै यस्तै आलेखमा कर्णालीको महत्त्व उल्लेख गरिसकेको छु र अबको यात्रापछि कोसीको पनि गर्नेछु । गण्डकीको महानतालाई मैले शब्दमा यसरी उतारेको छु,
गण्डर्षिवमया पवित्र जल ली कल-कल गरी बग्दछिनहर्दमाचित्त पखाली जन्मभरिका संकष्ट यी हर्दछिन् ।
उच्चा पर्वतका उदायी शिरमा साक्षात् परब्रह्मले
गर्दा दृष्टि पवित्र भै बगिरिहन् श्रीगण्डकी प्रेमले... ।
पृथ्वीको पौरख
विशाल नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको योगदान गोरखा पुग्दा गम्भीर ढंगले महसुस भयो । गोरखा दरबार पुगेर त्यो धरतीलाई हेर्दा र त्यहाँका बूढापाकाले भनेको सुन्दा वास्तवमै राष्ट्रलाई माया गर्ने प्रत्येक राष्ट्रवादी नेपालीको आँखाबाट आँसु नचुहिरहन सक्दैन भन्ने लाग्यो । गोरखा धरतीमा जन्मिएर बिसे नगर्चीको सल्लाह र सहयोगबाट आफ्ना एक हजार दुई सय प्रजाबाट एक, एक रुपैयाँ उठाई बाह्र सय रुपैयाँ जम्मा पारी पृथ्वीनारायण भारत पुगे ।
जहाँबाट युद्धका अस्त्रशस्त्रहरू खरिद गरी गोर्खा भित्र्याएर जन्मिएको सात वर्षदेखि गोरखनाथ र मनकामना माताको आशीर्वाद लिएर युद्धमा होमिए । सुखसयल र मोजमस्ती अनि राजकीय ठाँटलाई हजारौं कोष टाढा राखेर निरन्तर संघर्ष, युद्ध र शत्रुहरूलाई परास्त गर्दै वर्तमानको विशाल नेपाल निर्माण गरेर भावी सन्ततिलाई हस्तान्तरण गर्नु महान् काम थियो ।
जीवनभर खाइनखाई रातदिन अहोरात्र खटिई व्यक्तिगत सुखको अपेक्षासम्म नगरेका पृथ्वीको पौरखले आजसम्म पनि सबै जातजाति, राजा-रैती, ठूला-साना सबैबीच सद्भाव कायम गर्न सफल भएको भन्दा अत्युक्ति हुँदैन । कल्पना गरौं, अहिले सारा उपकरणहरू, यातायात र भौतिक सुविधा सम्पन्नताले निरन्तर देश अघि बढिरहेको बेला देश निर्माणमा कसैको दूरदृष्टि नपुग्नु तर त्यो जंगला मुलुकमा यातायात समेत नहुँदा पहाड, पर्वत, जंगलामुलुक सबै छिचोल्दै एक सय एक अहंकारी र दम्भीहरूको भावनासमेत परिवर्तन गरी साहसका साथ नेपाल निर्माण गर्नु चानचुने कुरो थिएन भन्ने पैदल-यात्राको अनुभवले बताएको छ ।
त्यत्रो त्याग, तपस्या र समर्पणका साथ निर्माण गरिएको यो नेपाल राष्ट्रलाई पनि टुक्रा, टुक्रा पारी प्लटिङ गरेर ठेक्कापट्टा गर्नेले झैं समाप्त पारिरहेको देख्दा विशाल नेपाल निर्माणका पृथ्वीनारायण, भीमसेन थापा, कालु पाण्डे, बहादुर शाह र बिसे नगर्चीजस्ता अभियन्ताहरूले आजका नेताहरूको दूरदर्शितामाथि कति र कस्तो प्रश्न चिह्न तेर्साउँदा हुन् ?
'मेरा साना दुःखले आज्र्याको मुलुक होइन, सबैमा चेतना भया...' पृथ्वीनारायणको यो वाणी अहिलेका नेताहरू कस-कसलाई के-कति चेतना भइरहेछ, सबैमाझ छर्लंगै छ । पृथ्वीले एकीकरणताका गरेको पैदल-यात्रा गर्दा भेटिएका ती ढुंगा, माटो, शिला, अभिलेख र सन्धि भएका स्थानहरूको प्रत्यक्ष अवलोकन गर्दा अहिले मलाई वर्तमानका अदूरदर्शी नेताहरूको पराधीन भएर लापरबाही र उत्तरदायित्वविहीन बनेर केवल कुर्सीमोहमा लिप्त हुँदा देशलाई जतातर्फ धकेल्दैछन् त्यसले मेरोमात्र होइन, आमनेपालीको हृदय कति रुन्छ ?
नेपालीको चीरहरण
एक्काईसौं शताब्दीको यो समयमा पाश्चात्य मुलुकहरूका धर्महरूका नाममा गरिने प्रचारबाजीले नेपालको अस्तित्व र अस्मिता दिनानुदिन लुट्दै गएको यथार्थ चित्र यात्राका क्रममा दर्जनौं जिल्लामा देख्नु र भोग्नु पर्यो । भारतमा इष्ट इन्डिया कम्पनीले व्यापारका नाममा कलकत्ताबाट प्रवेश गरी केही दिनमै भारतका शक्तिशाली राजा-महाराजाहरू राष्ट्रवादी नेताहरू देशभक्त जनतालाई कालकोठरीमा बन्द गरी निर्मम हत्या गरेर छोडेको हामी छिमेकी नेपालीले बिर्सन नहुने हो ।
त्यसपछि भारतलाई आफ्नो शासनमा लिएको इष्ट इन्डिया कम्पनीले त्यो बेला पटक-पटक यो पवित्र धरती कौशिकी, गण्डकी, कर्णाली, महाकाली, मल्लिकाअर्जुन ज्योतिर्लिंग, वैद्यनाथ ज्योतिर्लिंग, छाया क्षेत्र, मुक्तिनाथ क्षेत्र, पाशुपत क्षेत्र र वराह क्षेत्रजस्ता परमपवित्र तीर्थस्थलहरूले सुशोभित देवभूमि नेपालमा विधर्मीहरूको अपवित्र खुट्टाहरूलाई स्पर्श गर्न पटक्कै दिइएन त्यसबेला ।
ती महान् देशभक्त मातृभूमिप्रेमी नेपाली वीर गोर्खालीहरूले देखाएको वीरता र बचाएको स्वाभिमानलाई पश्चिमा मुलुकहरूले त्यतिबेला अत्यन्तै पीडापूर्वक हेरिरहेका थिए । चार सय वर्ष पश्चिमा मुलुकले गुलाम बनाएको भारतलाई कब्जा गर्दा पनि नेपालीले आफ्नो अस्तित्व बचाएका थिए तर त्यही गोर्खालीको वीरता देखेर भयभीत भई भाग्न बाध्य अंग्रेजहरूले भारत छोडेर जाँदा नेपालको धरतीलाई आँखा कड्काएर हेरेको नेपालीले भुल्न हुँदैन ।
अहिले त हामीले तिमीलाई गुलाम बनाउन सकेनौं तर कुनै कालखण्डमा धर्म परिवर्तनका नाममा तिम्रो देशलाई हामीले अवश्य कब्जा गर्नेछौं भनेर भारत छोड्न बाध्य अंग्रेज फिरंगीहरू नै वर्तमानमा छदम् भेषमा नेपाल प्रवेश गर्ने प्रयत्नमा छन् ।
उनीहरूले नेपाल प्रवेश गरी धर्म परिवर्तनको नाममा नेपालीको चीरहरण गरिरहेको दृश्य हामीले मुलुकका कुनाकुनामा देखिरहेका छौं, मानौं मुलुक बनाउने नाममा सत्तामा लडाइँ गरिरहने अदूरदर्शी नेताहरू यसबाट कोसौं टाढा छन् ।
सरकार कसका लागि ?
घरमा दालभात पस्किएको छ भने छोराछोरीलाई नखुवाई आमाबुबाले कहिल्यै खान सक्दैनन् र हुँदैन पनि । दुर्भाग्य नै भन्नुपर्छ विशाल नयाँ नेपालका अभिभावक भनिएका राष्ट्रपति, प्रधानमन्त्री र राज्य सञ्चालन गरेका र गर्ने शासक वर्गहरू गत वर्षको भूकम्पले क्षत्विक्षत भएका घरहरू र सहाराविहीन बनेका हजारौं नेपाली छोराछोरीको दुर्दशा कसरी हेरिरहन सकेका छन् ?
पैदल यात्राका क्रममा देखेका पीडित जनताका कष्टसाध्य जीवन, भोजनरहित जीवनयापनलाई सरकारमा रहेकाहरूले गरेको बेवास्ता र निर्दयतापूर्वक आफ्नो पेट भरिरहेको सानदार जीवनसँग तुलना गर्ने हो भने पुरानो नेपाली उक्ति सम्झन बाध्य हुन्छ जो कोही, 'विद्या हराए काशी जानू, न्याय नपाए गोर्खा जानू ।' कतै यो मुलुकका प्रजातान्त्रिक शासकहरूले यो उक्तिलाई घचेडेर विदेशतिर पठाएका पो हुन् कि ? विकट गाउँबारे मेरा हरफहरू,
बाटो छैन कतै भिरालो छ कतै विद्यालय छैन है
पानी छैन कतै सुकेर विचरा सुक्खा परेको छ है ।
बाढी-पहिरो चलेर दौलत सबै गंगाजी पुग्दछ
हिजो पूर्ण थियो भिखारी बनेर बाटोमहाँ घुम्दछ... ।
र अन्त्यमा, तीन दर्जन जिल्ला घुमेपछिको सार मेरा यी हरफहरूमार्फत ।
कतै ज्ञानी ध्यानी कति अबुझ मुर्खै पनि मिले
कतै राम्रो चाला कति भ्रमणमा दुष्ट जनले ।
वचन गर्थे तीखा रुपैयाँ दिनुपर्ने किन भनी
ठगै होला हेर्दा कति ठगी सके हुन् अरु पनि ।
कतै गर्थे श्रद्धा, कति भनिरहन्थे मनपरि
कतै राम्रा माला मधुर रसिला भावुक बनी ।
कतै भन्थे आज सफल हुन गो जिन्दगी भनी
कतै रुन्थे आमा कठिन पदयात्रा रछ भनी... ।
(प्रस्तुतिः गोपीकृष्ण ढुंगाना)