फाइनलमा बाबुलाई छोराले हराएपछि...
समय यस्तो थियो, हीराबहादुर थापालाई घरेलु स्क्वास भिडन्तमा हार्छुजस्तो कहिल्यै लागेन । र त्यो समय निकै लामो चल्यो, करिब दुई दशक । उनी प्रतिद्वन्द्वीको वास्ता कम हेर्थे, आफूलाई बढी विश्वास गर्थे । तर त्यो विश्वास त्यत्तिकै बनेको थिएन । लगातारको मेहनत र अनुभवको जगमा अडिएको थियो ।
'सधैंभरि जितिरहन्छु जस्तो लाग्थ्यो' एक साताअघि सातदोबाटोस्थित नेपाल स्क्वास एकेडेमीको ग्राउन्ड फ्लोरमा गफिन थाल्दा हीरा एकैछिन अघिमात्र नुहाएर 'फ्रेस' भएका थिए ।
उनी हार्न जान्दैनथिए, पटक्कै । हीराको खेल नतिजाले पनि यस्तै भन्थ्यो । त्यसैले उनी लोभिइरहे, खेलिइरहे ।
यतिसम्म कि समयले नेटो काटेको पनि पत्तै पाएनन् । ४९ वर्ष पुगिसकेका हीरालाई खेल्ने भोक अझै मेटिएको छैन । आफूले नै सिकाएका 'केटाकेटी' आज उनको प्रतिद्वन्द्वी भइसकेका छन् । तीनै छोराछोरी उमेरका खेलाडीसँग अचेल उनी हार्न थालेका छन् । दुई वर्ष अघिदेखि नै उनको पराजयक्रम सुरु भएको हो ।
तर पनि खेल्न छाडेका छैनन् । उपाधि जित्न नसके पनि अचेल उनी अरूलाई सजिलै खेल जित्न दिँदैनन् । मैले भेट्नु केही घन्टा अघिमात्र उनी राष्ट्रियस्तरको धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको सेमिफाइनलमा पराजित भएका थिए । सायद, एउटा हारले उनलाई दिनौंसम्म चिमोटी रहँदो हो ।
'पहिलाको जस्तो खेल अघि जितिन्छ भन्ने मनोबल हुन्न अहिले । शरीरले पनि साथ दिन छाडेछ क्यार । तर पनि खेल्न थालेपछि जित्नै खोजिनै रहेछ, सक्दो राम्रो खेल्न प्रयास हुने रहेछ' उनले भने । एकेडेमीमै उनी खेल्छन्, खेलाउँछन् । उनको दैनिकी यहीँ बित्छ । एकेडेमीको परिसरभित्र, सामुन्ने तीन कोठाको भुइँतले जस्ताले छाएको घर छ जहाँ एक छोरा र एक छोरीसहित चार जनाको उनको परिवार बस्छ ।
'स्क्वास त मेरो जीवन बनेछ । मैले यसैलाई पेसा बनाएछु ।' उनको चाउरिएको अनुहार मुस्कुरायो । उनी निक्कै खुसी देखिन्छन्, आफ्नो खेल जीवनदेखि । उनलाई जानकारी नै नदिई म उनलाई भेट्न पुगेको थिएँ ।
हीरालाई भेट्न सीधैं स्वाक्स एकेडेमी पुगे हुन्छ । गोरखाको दुर्गमबस्तीबाट दुई दशकअघि उनी काम गर्न भनी काठमाडौं छिरेका थिए । बत्तीसपुतलीस्थित एक स्वाक्स क्लबमा काम गर्ने मान्छे चाहिएको भन्ने खबर नजिकैका दाइबाट थाहा पाएपछि उनको स्क्वास कथा सुरु हुन्छ ।
त्यस क्लबमा सबै काम गर्नुपथ्र्यो उनले कार्यलय सहयोगीसरह । उनी त्यहीँ खान्थे, त्यहीँ बस्थे । स्क्वास उच्चवर्गमा मात्र खेलिन्थ्यो (अझै पनि आम मानिससम्म पुग्न सकेको छैन) । राम्रा खेलाडीहरू त्यहाँ खेल्न आउँथे, सिकारुहरू पनि हुन्थे । उनी समय पाएको बेला एक्लै खेलिबस्थे । राम्रा खेलाडीले खेलिरहेको उत्सुकतापूर्वक हेरिरहन्थे ।
'म सिकिरहेको हुन्थेँ तर अरूलाई पत्तो हुन्नथ्यो । कोही नभएको बेला घन्टौं एक्लै भित्तासँग खेलिरहेको हुन्थेँ' उनी भन्छन् । २४/२५ वर्षको युवकलाई स्क्वासको लत मनभित्रैसम्म गड्यो । नतिजा यस्तो देखियो कि, चारपाँच महिनापछि नै उनी राष्ट्रियस्तरको प्रतियोगिता खेल्न सफल भए ।
त्यो सहभागितामा सुरुको दुई सेट जितेर पनि क्वार्टरफाइनलमा पराजित भए । तर, राम्रो खेलेको भन्दै उनलाई प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरस्कार दिइयो । यसपछि उनी थप हौसिए, मेहनतको स्तर र अवधि बढाए । सन् १९९४ देखि सन् २०१४ सम्म उनी घरेलु प्रतियोगितामा पराजित भएनन् भन्ने दुर्लभ तथ्यको निर्माण भयो ।
'पाँच मिनेट आराम गर्न पाएँ भने अर्को खेलका लागि पनि तयार भइहाल्थेँ' उनले भने । समय दिन, महिना हुँदै वर्षौं बितेको पत्तै पाएनन् । तर, आजकल उनी थाक्न थालेका छन्, अलिक लामै समय । यो एउटा कारण पन हुन सक्छ त्यसैले दुई वर्षयता उनले उपाधि जित्न सकेका छैनन् । उनले आफूलाई पराजित गर्ने खेलाडी घरमै हुर्काइसकेका रहेछन् । हीरालाई आफ्नै छोरा अमृतले हराए ।
'मलाई हराउने पनि निस्कँदो रहेछ भन्ने लाग्यो, त्यो दिन', सामुन्ने बसेका छोरातर्फ हेर्दै उनले दुई वर्षअघिको त्यो हार सम्झिए, 'तर यति छिटो छोराले हराउला लागेको थिएन ।' २० वर्षपछि घरेलु प्रतियोगितामा उनको त्यो हारहारमा मात्र सीमित थिएन ।
उनी प्रतियोगितामा उपाधि जित्छु भनेर उत्रिएका थिए । र, त्यत्तिकै विश्वस्त थिए, जसरी अघिल्ला प्रतियोगितामा हुन्थे । त्यो हार अनि आफ्नै छोरासँगको त्यो पराजय उनले जीवनभर बिर्सने छैनन् । एउटा खेलाडी कसरी लामो समयसम्म एक छत्र राज गर्न सक्छ ? उनले केही उदाहरण दिए, सुरुमा ।
'पाकिस्तानमा जंगिर खान र जंसिर खानले लामो समय विश्व स्क्वासमा राज गरे । मलेसियाकी निकोल डेभिडले पनि महिला स्क्वासमा लामै समय डोमिनेट गरिन् । जित्दैजाँदा र अनुभव बढ्दै जाँदा आत्मविश्वास बलियो हुँदै जान्छ ।
पटक पटक जितिसकेको खेलाडीमाथि जित्नुपर्ने दबाब हुनाले उसको मेहनत पनि बढ्छ । सानो ठाउँमा जसको दिमाग बढी चल्छ, उसैले खेल जित्छ । फिजिकल्ली बलियो हुनुपर्छ', प्रश्न भुइँमा झर्न नपाउँदै हीराको अनुभव बोल्यो, 'हामी यस्तो खेलमा छौं, जहाँ खेलाडी पिकमा भएको बेला अन्य क्षेत्रमा सरिहाल्छ । दुई तीन वर्ष पनि टिक्दैन । तर म यसैमा टाँसिरहे ।' नेपाल स्क्वास संघले एकेडेमी बनाएपछि १३ वर्षअघि उनी परिवारसहित सातदोबाटो सरेका हुन् ।
२०६० सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले करारको जागिर दिएपछि हीरालाई केही सजिलो भयो ।जतिसुकै महान् खेलाडी भए पनि खेलिरहँदा एक दिन कम्तीमा उमेरले गाह्रो हुने उनले बुझेका थिए । 'हार्नु दुःखद् कुरा हो । तर म चाहेर पनि लगातार जित्न सक्दिनथिएँ । यति लामोसम्म अपराजित रहनु मेरो विशिष्ट क्षमता र मेहनतको प्रतिफल थियो', अब उनले हार बुझाउने प्रयत्न गरे, 'खेलेपछि एक दिन त हार्नु नै थियो ।
तर त्यो शौभाग्य मैले आफ्नै छोरासँग पाएँ । आफूले सिकाएको छोरोसँग पराजित भएँ ।' हीरालाई लागेको थिएन, उनको पहिलो हार आफ्नै छोरासँग हुनेछ । तर फेरी पनि उपाधि आफ्नै घरमा भित्रिरह्यो । उनको खुसी बोलीमा देखियो । हीरा खुसी बन्ने धेरै कारण थिए । आफ्नो हारसँगै छोराको उदय मुख्य थियो ।
पछिल्ला दुई वर्षयता आयोजित अधिकांश प्रतियोगितामा बाबुछोरा नै फाइनल पुगे । बाबुलाई हराउँदै अमृत विजेता बने । सायद, विश्व खेलकुदमा यस्ता घटना दुर्लभ हुन्छन् जहाँ बाबुछोरा राष्ट्रियस्तरको प्रतियोगिताको उपाधिका लागि भिड्छन् र यो क्रम लगातार दोहोरिरहन्छ । आफ्नो एकमात्र छोराले आफ्नै बिडो थामेको सन्तान सुख छुट्टै थियो ।
सानैदेखि अमृत बाबुआमासँगै बसे, छोरी गोरखामा हजुरबाको घरमा । सातदोबाटो परिवार सरेपछि उनले छोरीलाई पनि काठमाडौं ल्याए । जतिबेला हीरा अन्य खेलाडीलाई नियमित सिकाइरहेका हुन्थे, फुर्सद पाउनेबित्तिकै अमृत र उनकी दिदी कृष्णा कहिले हेरेर बस्थे त कहिले सिक्न प्रयास गर्थे ।
'उनीहरू (छोराछोरी) का लागि शारीरिक अभ्यास गर्ने सायद अरु विकल्प थिएनन् । म आफैं प्रशिक्षक भएकाले उनीहरूलाई सजिलो भयो । थाहै नपाई यो स्तरको खेलाडी बनिसकेका रहेछन्', मुसुक्क हासिरहेका छोरालाई हेर्दै हीरा पनि दंग देखिए । हीराकी छोरी कृष्णाले पनि स्क्वास खेल्न थालेको आठ÷दस वर्ष पुगिसकेको छ ।
उनले पनि राष्ट्रियस्तरको प्रतियोगिताको उपाधि जितेकी छिन् भने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि भाग लिएकी छिन् । थापा परिवारमय भएको नेपाली स्क्वासमा पछिल्लो समय अरहान्त केशरी सिंह टाउको दुखाइ बनेका छन् । हीरालाई अमृतले हराए तर यी दुवैजनालाई हराउँदै अरहान्तले यसै साता सम्पन्न धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि जिते ।
सिनियरस्तरको प्रतियोगितामा अरहान्तले पहिलो पटक अमृतलाई हराएका हुन् । यस अघि साग छनोटमा पनि अरहान्तले पहिलो पटक अमृतलाई हराएका थिए । अरहान्त तीनै खेलाडी हुन् जसलाई हीराले चार पाँच कक्षा पढ्दादेखि नै प्रशिक्षण गराउन थालेका थिए ।
दुई वर्ष इङ्ल्यान्डमा प्रशिक्षण गरेर आएपछि अरहान्त परिपक्व बनेका छन् । अरहान्त र अमृतले उमेरले लगभग दौंतरी हुन् । 'प्रशिक्षणमा पनि अरहान्त सधैं मसँग खेल्न मन पराउँथ्यों । सायद यही गुण उसको विशेष थियो', भर्खरै सम्पन्न प्रतियोगिताको सेमिफाइनलमा उनै अरहान्तले हीरालाई हराएका थिए । नेपाली स्क्वासमा अब थापा परिवारको सफलताको कथा कसरी अगाडि बढ्छ, स्वयम् हीरा पनि यकिन गर्न सक्दैनन् । अमृतले स्क्वासलाई अगाडि बढाउनेमा भने उनको शंका छ ।
'म र उबीच धेरै फरक छ । उसले अहिले सोच्नै र मैले त्यतिबेला सोच्ने परिस्थिति फरक थियो । अहिलेको पुस्ता भविष्य कसरी राम्रो बनाउने भन्नेमा केन्द्रित छ', उनले घुमाउरो पारामा भने । हीरा नवौं साफको समयमा केही साता पाकिस्तानमा गएर प्रशिक्षण गरेका थिए । त्यसपछि नेपालमै विदेशी प्रशिक्षक आएर प्रशिक्षण गराए । बाँकी उनले आफैं सिके र यहाँसम्म आइपुगे । उनलाई आफू कहाँ पुग्नुपर्ने थाहा छैन ।
तर, आज जहाँ छन् त्यसमा त्यति सन्तुष्ट छैनन् रे । 'खेल्दा र खेलाउँदा आनन्द पाउनुबाहेक अरू केही छैन भने पनि हुन्छ', यस पटक भने उनी केही गम्भीर देखिए, 'अन्तर्राष्ट्रिय प्रतियोगितामा हामी निकै तल छौं । हामीले गर्नुपर्ने अझै धेरै छ ।' सायद उनी भन्न खोज्दै थिए, हामीले अगाडि बढ्न धेरै कसरत गर्नुपर्छ प्रशिक्षणकै स्तरदेखि । हीरा फेरि मुसुक्क मुस्कुराए । सायद, उनी आफ्नो पीडा देखाउन जान्दैनन् ।