ड्रोन आक्रमणमा पाँच आइएस आतंककारी मारिए
जलालाबादः अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा शनिबार बिहानीपख भएको अमेरिकी ड्रोन आक्रमणमा आइएसका पाँच जना आतङ्ककारी मारिएका छन् । प्रान्तीय सरकारले शनिबार ड्रोन आक्रमणको विवरण दिएको हो ।
गएराति आचिन जिल्लाको बन्दाआर इलाकामा लुकेर बसेका आतङ्ककारीलाई लक्ष्यगरी अन्तर्राष्ट्रिय बलले रातभरी चालकरहित विमानबाट कारबाही गरेको थियो ।
आक्रमणको क्रममा शनिबार बिहानीपख कम्तीमा पनि पाँच जना आइएस आतङ्ककारी मारिएका जानकारी दिइएको छ ।
आक्रमणमा परी अरु पनि कैयौँ लडाकू घाइते भएका छन् । हवाई आक्रमणमा आतङ्ककारीले भण्डारण गरेर राखेका कैयौँ हातहतियार समेत नष्ट भएको जनाइएको छ ।
यस हवाई आक्रमणबाट सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ । तर पनि अफगान नागरिकहरुले भने यस्ता प्रकारका ड्रोन हमलामा सर्वसाधारण नै मारिने गरेको बताएका छन् ।
अफगानिस्तानमा अफगान सुरक्षाबलले आतङ्ककारीविरुद्ध गरिने कारबाहीमा बृद्धि गरेपछि हिंसामा कमी आएको बताइएको छ । त्यसैगरी देशभर नेटोआवद्ध सेनाले पनि हवाई आक्रमण जारी राखेका छन् । एजेन्सी