प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउन एमाले तयार छः योगेश भट्टराई
बुटवलः एमाले केन्दीय सचिव योगेश भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउन एमाले तयार रहेको बताएका छन्।
शनिबार प्रेस चौतारी रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले भने, ‘संविधान संशोधनको च्याप्टर खुलेमा दलहरुको पाँच प्रतिशत थ्रेसहोल्ड र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउन एमाले तयार छ ।’
भट्टराईले एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै संविधानको कार्यान्वयन र रक्षाका लागि जस्तोसुकै चुनौतीको पनि सामना गर्न तयार भएको प्रष्ट पारे ।
भट्टराईले यो संविधानप्रति एमालेको सबैभन्दा बढी अपनत्व रहेको बताउँदै यसलाई च्यात्न नदिन एमालेले प्रतिपक्षमै बसेर संविधानको रक्षा गर्ने बताए । ‘हाम्रो सहमतिबिना संविधान संशोधन हुन सक्दैन । एमालेलाई नजरअन्दाज गरे संसद् पनि चल्दैन,’ भट्टराईले भने ।
उनले कसैले कोठाभित्र बसेर गरेको सहमति एमालेलाई मान्य नहुने पनि स्पष्ट पार्दै भने, ‘दुई मधेस प्रदेशको माग एमालेलाई स्वीकार्न हुन सक्दैन ।’
भूकम्पपछिको पुनःनिर्माण अभियानलाई पूर्णता दिन एमालेले प्रतिपक्षमै भए पनि प्रभावकारी भूमिका खेल्ने उनले बताए ।