नेदरल्याडसविरुद्ध नेपालको कमजोर ब्याटिङः सात विकेटले पराजित
काठमाडौँः आईसिसी वल्र्ड क्रिकेट लिग(डब्लुसीएल) च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल सात विकेटले पराजित भएको छ ।
नेदरल्यान्ड्सको भीआरए ग्राउन्डमा शनिबार सम्पन्न खेलमा नेपाली टोलीले कमजोर ब्याटिङ गर्यो । टस जितेपछि नेदरल्यान्ड्सले नेपाललाई पहिला ब्याटिङ गर्ने जिम्मा दिएको थियो । नेपाली टोली ३८.१ ओभरमा ९४ रनमा समेटियो । ३८ रन जोड्दा केवल एक विकेट गुमाएको नेपाली टोली त्यसपछि लगातार दबाबमा रह्यो ।
नेपाली पालीमा प्रारम्भिक ब्याट्सम्यान अनिल मन्डलले सर्वाधिक २० रन जोडे । अर्का ओपनर ज्ञानेन्द्र मल्लले ११, तेस्रोक्रममा ब्याटिङ गर्न आएका शरद भेषावकरले १४ र तल्लोक्रमका सोमपाल कामीले १२ रन जोड्नुबाहेक अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कप्तान पारस खड्का गोल्डेन डक आउट भए । सागर पुनले सात, विकेटकिपर राजु रिजालले तीन, विनोद भन्डारीले नौ र बसन्त रेग्मीले सात (अविजित) रन जोडे ।
बलिङतर्फ डच टोलीका टिम भान डर गुग्टेन र माइकल रिप्पोनले तीन तीन विकेट लिए । रोएलोफ भान डर मार्वीले दुई तथा मुदासर बुखारी र पल भान मीकेरेनले एक एक विकेट लिए ।
घरेलु टोलीले १६.५ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्यो । विकेटकिपर वेस्ली वारेस्सीले ३७ र प्रारम्भिक ब्याट्सम्यान स्टेफन माइबर्घले अविजित ३३ रन बनाए ।
अर्का ओपनर रिप्पोन ६ तथा मध्यक्रमका बेन कुपर पनि ६ रनमा आउट भए । पहिलो विकेटका लागि १३ रनको साझेदारी गरेको नेदरल्यान्ड्सले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गर्यो ।