सामन्ती पितृसत्ताः विकासको वाधक

सामन्ती पितृसत्ताः विकासको वाधक

जतिबेला म भौतिक योजना तथा निर्माण मन्त्री थिएँ, त्यतिबेला मेरै मन्त्रालयमा पर्ने एउटा दुर्गम सडकको शिलान्यास नेपाली कांग्रेसका अर्थमन्त्रीले गर्न लागेको थाहा पाएँ । तब मैले आफ्नो मन्त्रालयको कार्यकारी व्यक्ति भएकाले सीधै सो काममाथि हस्तक्षेप गरेँ र आफैँले त्यो योजनाको शिलान्यास गरेँ ।

त्यस्तै, काठमाडौँमा पानीको हाहाकार भएको बेलामा मैले पानी ट्यांकरको व्यवस्था मिलाएर पानी वितरण गर्ने काम गरेँ । यसरी विकासको क्षेत्रमा एउटा लैंगिक सचेत महिला भएको नाताले थोरै भए पनि हस्तक्षेप गर्न सकेँ । यद्यपि, अर्थमन्त्रीले मेरै मन्त्रालयअन्तर्गत पर्ने सडक विभागमा परिरहेको अतिरिक्त रकम पानी विभागमा हस्तान्तरण गर्न मानेनन् । यसको लागि मैले अन्तिमसम्म पनि मुकाबिला गरिरहेँ ।

त्यस्तै, मन्त्री भएकै बेला पहिलो संविधानसभामा मैले भोट माग्दै हात मिलाउँदै गर्दा प्रायजसो महिलाको हात चिसो पाएँ । कसैको हात भाँडा माझ्दा, कसैको लुगा धुँदा र कसैको बालबच्चालाई नुहाउँदा चिसो भएको रहेछ । साथै, कतिपय ठाउँमा पानीको अभावले घरभित्र र छरछिमेकमा कलहसमेत देखेँ । यसरी पानी र महिलाको बीचको सम्बन्ध कति गहिरो रहेछ भन्ने राम्ररी अनुभूति भयो मलाई । त्यसैले पनि मलाई अन्तर्राष्ट्रिय संस्था एडीबीसँग संघर्ष गर्ने हिम्मत पनि मन्त्री हुँदा मिल्यो । महिला तथा विकासप्रति मेरो सधैं चिन्ता र चासो भइरह्यो ।

हालै पनि मैले यस्तो दृश्य देखेँ, जहाँ मधेसको एकल महिला घाइते भएर काठमाडौँको नर्भिक अस्पतालमा ल्याइएको रहेछ । अन्नपूर्ण पोस्ट् दैनिकको समाचारमार्फत थाहा पाएँ, ती एकल महिलामाथि सांघातिक हमला भएको रहेछ । हालसम्म त्यो गाविसमा आउने एकल महिला भत्ता, वृद्धभत्तालगायत केही कर्मचारीले मिलेर सम्बन्धित पक्षलाई नदिएको रहेछ ।

जब त्यहाँका महिलाले त्यो कुरा थाहा पाए, त्यसपछि उनीहरूले महिला सशक्तीकरण समूह बनाएर ती महिलालाई अध्यक्ष बनाएका रहेछन् । ती महिला हुन् रामशकी देवी साह । अध्यक्षको हैसियतले उनी गत साउन १८ गते गाविसमा पुगेर त्यस्ता खाले बजेटबारे जिज्ञासा राखिन् तब, ती कर्मचारीले उनलाई सम्झाउनु त परै जाओस्, उल्टो भौतिक रूपमै उनीमाथि जाइलाग्न थालेछन् । उनीमाथि यसरी सांघातिक हमला गरेछन् कि उनको मुखबाट ह्वालह्वाल्ती रगत निस्केछ र शरीरको अन्य भागहरूमा पनि चोटको कारण नीलडाम थिए ।

समाचार स्रोतका अनुसार उनीमाथि समनपुर– ३, रौतहटका सहसचिव नागेन्दर यादव, लेखापाल सहायक कामेश्वर सहनी, बाबुलाल सहनी, रवीन्द्र सहनी, विजय सहनी, वीरेन्द्र सहनी, रुदल सहनी र तिनीहरूको समूहले मरणासन्न हुने गरी कुटपिट गरेको रहेछ । सो घटनाबारे उनका छोरा अशोककुमार साहले विज्ञप्ति जारी गरेर भत्र्सना गरेका थिए । उनको विज्ञप्तिसमेत मैले हेरेँ । यस घटनाले मलाई असाध्यै पीडाबोध गरायो । सोचेँ, नेपालमा गणतन्त्र त आयो तर महिलालाई आएन, शब्दमा आयो व्यवहारमा आएन । साथै, देश समृद्ध बनाउने अभियानमा सरकारका स्वयं केही कर्मचारी नै बाधक रहेछन् ।'

अझ महिला हकको कुरा गर्दा मानौँ महिलालाई मान्छे नै नभएको भिखारीजस्तो मानिँदो रहेछ । याद रहोस्, कतिपय पिछडिएका क्षेत्रमा अझै पनि महिलालाई बोक्सीको आरोप लाग्ने गरेको छ । विशेष गरेर तराईका गाउँहरूमा ।

यसरी रामशकिदेवी साह एउटी महिला मात्र नभएर एकल महिला भएकीले पनि उनीमाथि सांघातिक हमला भएको सहजै बुझिन्छ । हेक्का रहोस्, नेपाल जहाँ अधिकांश पुरुषहरू विदेश पलाएन भएका छन्, त्यहाँ भएका महिलालाई लैंगिक विकासका निम्ति जागरण अभियान चलाउँदासमेत आक्रमण गर्नु भनेको देश अग्रगमनतर्फ होइन, पश्चगमनतर्फको यात्रामा रहेको देखिन्छ ।

जबकि पटक–पटकको आन्दोलन, जनयुद्ध र विभिन्न आन्दोलनबाट राजनीतिक उपलब्धि संस्थागत भइसकेपछि आर्थिक समृद्धितर्फ लाग्नुपर्ने हो । अतः लैंगिक क्षेत्रमा काम गरिरहेका मानिसहरूले हकहितका साथसाथै महिलामाथि भएका उत्पीडनविरुद्ध संघर्ष गरी महिलालाई अझ उत्पादनशील कसरी बनाउने भन्नेतर्फ ध्यान दिनुपर्दछ । नेपाल देश धनी नभएर होइन, मन गरिब भएर यस्तो गति भएको हो ।

विकासका अवधारणा सर्वत्र नपुग्दा सुदूरपश्चिममा ‘छाउपडी चलन' अहिलेसम्म छ । हिमाली क्षेत्रमा ‘झुमा प्रथा' अझै छ । बालविवाह, अनमेल विवाह, बहुविवाह र यससँग जोडिएर आउने लैंगिक हिंसा प्रायः मधेसमा व्याप्त छ । साथै, दाइजोप्रथा पहाडमा समेत कम भएको छैन ।

महिलाहरू जातीय र क्षेत्रीय उत्पीडनभन्दा पनि धेरै उत्पीडित भएकोले तिनको विकासमा पहुँच पुग्न अझै जरुरी छ ।

बुझ्नुपर्ने कुरा के हो भने, स्रोतसाधन भनेपछि प्रायः मानिसले प्राकृतिक स्रोतसाधन सम्झन्छन्, तर त्यसलाई शून्यबाट एक सय डलरसम्म पुर्‌याउने माध्यम मानव जाति नै हो । तसर्थ जति आमजनतालाई उत्पादन शक्तिको स्रोत भनेर बुझिन्छ, त्यति नै आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू यस प्रक्रियाबाट टुटेका छन् ।

महिलाहरू जातीय र क्षेत्रीय उत्पीडनभन्दा पनि धेरै उत्पीडित भएकोले तिनको विकासमा पहुँच पुग्न अझै जरुरी छ । साथै महिलाहरूको विकासमा संलग्नताले उत्पादन शक्ति र उत्पादन सम्बन्धमा पनि प्रगतिशील मोड आएको देखिन्छ । अतः महिलालाई तालिम दिइयो भने उनीहरूले उत्पादन बढाउन सक्छन् । जसले गर्दा देशलाई समृद्ध बनाउन मद्दत पुग्छ ।

हालै, गोरखाको सिर्दिबासमा हेलिकोप्टर दुर्घटना भयो । जसको मुख्य कारण त्यहाँ विकास नपुग्नु नै हो । बच्चा पाउँदा ‘इन्फेक्सन' भएको र त्यसलाई ‘इलाज' गर्न काठमाडौँ आउनुपर्ने अवस्था आएको हो । यसरी विकासको अवधारणा नपुग्दा कति ठूलो दुर्घटना आइपर्दो रहेछ भन्ने यो घटनाले देखाउँछ । युरोपेली तथा अमेरिकन मुलुकहरूमा पनि महिलाको विकास भएको अवस्थामा नेपालमा भने यस्तो अवस्था देखिएको छ । नेपालमा महिलाको पक्षमा काम गर्ने एनजीओ, आईएनजीओ र संगठनहरू पनि छन् । तर यस्ता घटनालाई उनीहरूले किन गम्भीरतापूर्वक लिएनन् ?

मधेसमा यस्ता घटना हुनुको पछाडि त्यहाँ अझै पनि सामन्ती पितृसत्ता हाबी हुनु हो । त्यही प्रवृत्ति विकासको पनि वाधक बनेको छ । त्यसमाथि मधेस उत्पीडित क्षेत्र भएकाले त्यहाँ विकास नपुग्दा त्यहाँका महिलाले थप कष्ट बेहोर्नुपरेको छ । स्मरण रहोस्, जहाँ महिलाले जिम्मेवार भूमिका पाएका छन्, त्यहाँ भ्रष्टाचार, अपारदर्शिता र अनियमितता पनि नगन्य छ । तसर्थ, सामन्ती पितृसत्तालाई निरुत्साहित पार्दै विकासमा महिलालाई अगाडि ल्याउनु आवश्यक छ । यो मधेसको हकमा झन् सान्दर्भिक छ ।

[email protected]

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.