लेडेस्कीको उत्कृष्ट प्रदर्शन
रियो दी जेनेरियोः अमेरिकी पौडीबाज केटी लेडेस्की प्रशस्तै आशा र अपेक्षासहित अघिल्लो साता रियो ओलम्पिक खेलकुदमा सहभागी हुन ब्राजिलको राजधानी पुगेकी थिइन् । ठूलो प्रतियोगिताअघिको आशा र अपेक्षाले प्रायः खेलाडीलाई नकारात्मक असर पार्ने गर्छ ।
अर्थात् त्यही अपेक्षा खेलाडीका लागि दबाब बन्न पुग्छ र त्यसको नतिजा नकारात्मक हुने गर्छ । तर, यी १९ वर्षीया किशोरीले भने ती आशा र अपेक्षालाई शक्तिमा बदल्दै रियो ओलम्पिक खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेकी छन् । उनको यो प्रदर्शनलाई ओलम्पिक खेलकुदमै उत्कृष्टमध्ये एक मानिएको छ ।
अमेरिकाको वासिङ्टन डीसीकी लेडेस्कीले शुक्रबार राति पौडीको आठ सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै जारी रियो ओलम्पिक खेलकुदमा आफ्नो स्वर्णको संख्या चार पुर्याएकी छन् । यससँगै लेडेस्कीले आफ्नो नाममा कीर्तिमान थपेकी छन् । लेडेस्की एउटै ओलम्पिक खेलकुदअन्तर्गत पौडीको दुई सय मिटर, चार सय मिटर र आठ सय मिटर फ्री स्टाइलमा स्वर्ण जित्ने मात्र दोस्रो महिला खेलाडी बनेकी छन् । उनीभन्दा अघि आमेरिकाकै डेब्बिई मेयरले यी तीन विधामा स्वर्ण पदक जितेकी थिइन् ।
डेब्बिईले सन् १९६८ मा मेक्सिकोमा भएको ओलम्पिकमा सो सफलता हात पारेकी थिइन् । लेडेस्कीले डेब्बिईको कीर्तिमान बराबरी गर्न पाउँदा खुसी लागेको बताएकी छन् । ‘म कीर्तिमानका बारे त्यति धेरै सोच्दिनँ', लेडेस्कीले भनेकी छन्, ‘तर डेब्बिईको कीर्तिमान बराबरी गर्न पाउँदा निकै खुसी लागेको छ ।'
यस्तै उनी एकै ओलम्पिक खेलकुदमा सर्वाधिक चार स्वर्ण पदक जित्ने पनि तेस्रो अमेरिकन महिला पौडी खेलाडी बनेकी छन् । उनीभन्दा पहिले अमेरिकाकै एमी भान डिकेन र मिस्सी फ्रांकलिनले एकै ओलम्पिक खेलकुदमा त्यो सफलता हात पारेका थिए ।
चार वर्षअघि १५ वर्षको उमेरमा लन्डन ओलम्पिकमा सहभागी भएकी लेडेस्की त्यसयता अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन् । उनले यस अघि रियो ओलम्पिक खेलकुदमै पौडीको दुई सय मिटर र चार सय मिटर तथा चार गुणा एक सय मिटरमा स्वर्ण पदक जितेकी थिइन् ।
चार गुणा चार सय मिटरको फ्री स्टाइलमा भने उनको टोली दोस्रो भएको थियो । शुक्रबार उनले आठ सय मिटरमा नयाँ विश्वकीर्तिमानको समयसहित स्वर्ण पदक जितेकी हुन् । उनले आफ्नो पुरानो विश्वकीर्तिमानमा सुधार ल्याउँदै आठ मिनेट ०४.७९ मिनेटको नयाँ समयसहित स्वर्ण पदक जितेकी हुन् ।
आठ सय मिटर फ्रिस्टायलमा समेत स्वर्ण जितेपछि लेडेस्कीले आफ्नो इच्छा पूरा भएको बताइन् । ‘म सहभागी यी सबै स्पर्धामा स्वर्ण जित्न चाहन्छु । त्यसमा सफल भएकी छु', लेडेस्कीले भनिन् ।