झारफुकमा अल्झिँदा दुई बालबालिकाको ज्यान गयो

झारफुकमा अल्झिँदा दुई बालबालिकाको ज्यान गयो

सुर्खेत: घरनजिकैको मकैबारीमा बाँदर धपाउन गएका उनीहरूलाई अरिङ्गालले चिल्यो । शनिबार बिदाको दिन बारीमा बाँदर रुँघ्न जाँदा अरिङ्गालले चिलेपछि उनीहरू अत्तालिँदै घर आए । घाइते अवस्थामा घर आएका उनीहरूलाई उपचारका लागि आफन्तले अस्पताल लगेनन् । घरमै झारफुकबाट निको पार्ने प्रयास गरियो । झारफुक गर्दागर्दै पाँच वर्षीय रिजन पुन र तीन वर्षीया भावना पुनको ज्यान गयो ।

जाजरकोटको भेरीमालिका नगरपालिका ७ खातीगाउँमा शनिबार बिदाको दिन भएकाले अभिभावकले बालबालिकालाई मकैबारीमा बाँदर धपाउन पठाएका थिए । पाक्नै लागेको मकै खाएर बाँदरले हैरान बनाएकाले उनीहरू बारीमा बाँदर धपाउन पुगेका थिए । सोही क्रममा एक्कासि अरिङ्गालले उनीहरूलाई चिलेको थियो । गम्भीर घाइते रिजन र भावनाले उपचारको अभावमा ज्यान गुमाउनुपर्‌यो । यस्तै सात वर्षीया कविता पुनको अवस्था गम्भीर रहेको गाउँलेले बताएका छन् ।

अन्धविश्वास र अस्पताल नजिक नहुँदा दुई बालबालिकाले स्वास्थ्य उपचारको अभावमा ज्यान गुमाएका छन् । शनिबार अरिङ्गालको चिलाइबाट घाइते भएका उनीहरूको आइतबार बिहान मृत्यु भएको हो ।

घरायसी उपचार गर्दागर्दै उनीहरूको मृत्यु भएको रिजनका बुबा नरोज पुनले बताए । उनले भने, 'गाउँमा अस्पताल छैन । जिल्ला अस्पताल टाढा छ । जडीबुटीले निको होला भन्ने ठानेका थियौं तर बचाउन सकिएन ।' उनका अनुसार सदरमुकाममा रहेको जिल्ला अस्पतालमा उपचारका लागि ल्याउन पैदल एक दिन लाग्छ । गाउँमा स्वास्थ्य संस्था नहुँदा आफूहरूले घरायसी उपचारमै ध्यान दिएको स्थानीयको भनाइ छ ।

स्थानीय कलावती पुनकी सात वर्षीया छोरी कविताको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् । आइतबार अबेरसम्म उनलाई अस्पताल भर्ना गरिएको थिएन ।
कविता रिजन र भावनालाई साथमा लिएर बाँदर धपाउन गएकी थिइन् । बाँदरले अरिङ्गालको गोलो चलाइदिएपछि उनीहरूलाई चिलेको हुनसक्ने स्थानीय लालबहादुर पुनले बताए ।

'गाउँमा भरपर्दा स्वास्थ्य संस्था छैनन् । जिल्ला अस्पताल आउन एक दिन लाग्छ', स्थानीय पत्रकार दीपेन्द्र शर्माले भने, 'समयमै उपचार पाएको भए उनीहरू बाँच्ने थिए । घरमै झारफुक र जडीबुटीको उपचारमा अल्झिएछन् । अहिले पनि गाउँमा धामीकै भरपर्ने संस्कार छ । यसले मान्छेहरू अस्पतालको उपचार नपाएर मर्ने गरेका छन् ।' अन्धविश्वास र अस्पताल नजिक नहुँदा गाउँमा धामीकै शरणमा पर्नुपर्ने बाध्यता रहेको शर्माको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.