महरा बेइजिङमा के सन्देश दिदैछन् ?

महरा  बेइजिङमा के सन्देश दिदैछन्  ?

काठमाडौंः उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष प्रतिनिधिका रूपमा दुईदिने भ्रमणमा सोमबार चीन गएका छन्।

पुष्पकमल दाहाल नेतृत्वमा सरकार बनेपछि उत्तरी छिमेकमा हुन लागेको यो पहिलो सरकारी उच्चस्तरीय भ्रमण हो । महरालाई चीन र अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई विशेष प्रतिनिधिका रूपमा भारत पठाएर छिमेकीसँगको सम्बन्ध सुदृढ गर्ने सरकारको दाबी छ ।

मन्त्रालयमा आइतबार पत्रकारसँग कुरा गर्दै मन्त्री महराले आफ्नो भ्रमण तीनवटा मूल मुद्दामा केन्द्रित रहने बताए । ‘नेपालमा भएको सरकार परिवर्तन र परिवर्तित राजनीतिक परिस्थितिबारे चीनलाई बोध गराउनु मेरो भ्रमणको उद्देश्य हो । निधिजी पनि त्यही उद्देश्यले भारत जाँदै हुनुहुन्छ', महराले भने ।

कुन कारणले नयाँ सरकार निर्माण भयो र सरकारको मुख्य कार्यभार के हो र सरकार कसरी अघि बढ्दैछ भन्ने सरकारको धारणालाई दुवै छिमेकीसमक्ष राखिने उनले बताए ।
‘नेपालको विकास, शान्ति र स्थिरताका निमित्त हाम्रा दुई छिमेकी मुलुकहरूबीचको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउने यो सरकारको धारणा हो', उनले भने, ‘दुवै छिमेकीसँग हामी राम्रो सम्बन्ध राख्न चाहन्छौं । दुवै देशबाट नेपालको विकास, स्थिरता र समृद्धिका लागि साथ र सहयोग चाहन्छ', उनले भने ।

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग गरेका पारवहन यातायातलगायत सन्धिसम्झौतालाई सकारात्मक रूपमा लिँदै तिनको अझ प्रभावकारी कार्यान्वयनमा सरकार अघि बढ्ने उनले प्रस्ट पारे ।

‘विगतका सरकारले चीनसँग गरेका केही राम्रा विषय छन् । तिनलाई सकारात्मक ढंगले अघि बढाउनेछौं र अझै नयाँ उचाइमा उठेर नेपालको विकासमा दुवै छिमेकीले सहयोग गर्न हामी अपिल गर्नेछौं', उनले भने ।

चीनसँग ऐतिहासिक सम्बन्ध रहेको बताउँदै महराले त्यो सम्बन्धलाई दीर्घकालीन रूपमा नयाँ उचाइमा उठाउन सरकारले चाहेको बताए । ‘वर्तमान सरकार चीनसँगको सम्बन्धलाई अझ माथि उठाउन चाहन्छ, समृद्ध बनाउन चाहन्छ । यसमा हाम्रो पूरै प्रतिबद्धता छ', उनले भने ।

महराले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिने बताए । असोज अन्तिम साता हुने भनिएको चिनियाँ राष्ट्रपतिको भ्रमणबारे आधिकारिक धारणा चीनबाट नआएको उनले बताए । ‘पहिले पनि चिनियाँ राष्ट्रपतिको भ्रमणबाट केही हल्ला आए । अस्ति चिनियाँ विज्ञहरूले भनेको कुरा पनि आधिकारिक होइन । अब म गएर चिनियाँ नेतृत्वसँग कुरा गर्छु', उनले भने ।

अघिल्लो साता नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति सी नेपाल भ्रमणमा आउनेमा कुनै शंका नरहेको बताउँदै त्यसका लागि नेपालले राजनीतिक स्थायित्व र पर्याप्त गृहकार्य गर्न आवश्यक रहेको बताएको थियो ।

महराले सरकार चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालमा होस् भन्ने पक्षमा रहेको बताए । ‘यसमा प्रधानमन्त्रीको पनि विशेष चाहना छ । म निमन्त्रणा लिएर जान्छु र भ्रमणका लागि आग्रह गर्नेछु । यसको निर्णय चिनियाँ पक्षले गर्ने हो । हामीले अनुरोधमात्रै गर्ने हो', उनले भने ।

मन्त्री महराले बेइजिङमा चिनियाँ उपप्रधानमन्त्री वाङ याङ, विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओसँग भेट्ने तय भएको महराका सल्लाहकार हिमाल शर्माले जानकारी दिए ।

उपप्रधानमन्त्री महरा छेन्दु हुँदै बेइजिङ पुग्ने कार्यक्रम रहेको अर्थमन्त्रीका सञ्चारविज्ञ त्रिभुवन पौडेलले बताए । अर्थमन्त्री महराका साथमा परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल रहनेछन् । उपप्रधानमन्त्री महरा भदौ ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.