सरस्वतीलाई जापानमा प्रशिक्षणको अवसर
काठमाडौंः नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी सरस्वती चौधरीले जापानमा एक महिना भलिबल प्रशिक्षण गर्ने अवसर पाएकी छन् ।
सरस्वतीले जापानको तुसुकुवा युनिभर्सिटीमा एक महिनाको प्रशिक्षण लिनेछिन् । विभागीय टोली एपीएफ क्लबकी खेलाडी सरस्वतीलाई जापानमा प्रशिक्षण लिने अवसर जापानका भलिबल प्रशिक्षक सुन्जियाना गीता, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्वखेलाडी हरिनारायण चौधरीले जुटाइदिएका हुन् ।
प्रशिक्षणका लागि सरस्वती आइतबार जापान प्रस्थान गरेकी छन् । उनको प्रशिक्षण आगामी सेप्टेम्बर १५ तारिखसम्म चल्नेछ । सरस्वतीलाई जापान जाने, त्यहाँ बस्ने र प्रशिक्षणका क्रममा लाग्ने सम्पूर्ण खर्च जापानी प्रशिक्षकले व्यहोर्नेछन् । त्यसका साथै हरिनारायणले समेत उनलाई सहयोग गर्नेछन् ।
खेलाडीको रूपमा जापानमा गएर प्रशिक्षण लिन पाउनु मेरा लागि निकै खुसीको कुरा हो । त्यहाँ सिकेको सीपलाई मैले राष्ट्रिय टोलीमा प्रयोग गर्न सक्छु भन्ने लागेको छ । मेरो खेलबाट अन्य खेलाडीले पनि सिक्न सक्नेछन् ।
मलाई यो अवसर जुराई दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षणपछि मेरो खेलमा प्राविधिक निखारता आउनेछ भन्ने लागेको छ', आइतबार जापान प्रस्थान गर्नुअधि सरस्वतीले भनिन् ।
नेपाली भलिबल खेलाडीमध्ये सरस्वती वैदेशिक प्रशिक्षणको अवसर पाउने दोस्रो खेलाडी हुन् । सरस्वतीका अनुसार यसअघि जापानी प्रशिक्षक सुन्जियानाकै सहयोगमा पूर्वराष्ट्रिय खेलाडी दुर्जकुमार राईले साढे तीन महिनाको वैदेशिक प्रशिक्षण लिने अवसर पाएका थिए । दुर्जकुमारको वैदेशिक प्रशिक्षण भने जर्मनीमा भएको थियो ।
सानै उमेरमा नेपाली महिला भलिबलमा वर्चस्व जमाएकी सरस्वतीले २०६५ सालदेखि भलिबल खेल्न सुरु गरेकी हुन् । धनगढीकी बासिन्दा उनले पोखराको फिस्टेल एकेडेमीमा स्कुल पढ्ने क्रममा भलिबल खेल्न सुरु गरेकी थिइन् । तीन वर्षअघि उनलाई विभागीय टोली एपीएफ क्लबले अनुबन्ध गरेको थियो ।
२०६८ सालमा उनको गृह जिल्ला कैलालीको धनगढीमै भएको राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएकी २० वर्षीया सरस्वती त्यसपछि लगातार राष्ट्रिय टोलीको प्रभावशाली ओपन स्पाइकरको भूमिकामा छिन् ।
पढाइ र खेललाई सँगै अगाडि बढाएकी सरस्वती अहिले शंकरदेव क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छिन् । सस्वतीलाई आइतबार नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, सदस्य रीता कोइरालालगायतले बिदाइ गरे ।