बंगलादेशका पूर्वसांसदले मृत्युदण्डविरुद्ध अपिल गर्ने
ढाकाः बंगलादेशका पूर्वसांसद सेखावत हुसैनले आफूलाई दिइएको मृत्युदण्डको सजायका विरुद्धमा सर्वाेच्च अदालतमा अपिल गर्ने भएका छन् ।
बंगलादेशको युद्धअपराधसम्बन्धी एक विशेष अदालतले पूर्वसांसद हुसैनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । चार दिनअघि उक्त अदालतले सुनाएको फैसलाका विरुद्ध सांसद हुसैनले यस्तो अपिलको निर्णय गरेको उनका अधिवक्ताले जानकारी दिएका छन् ।
उक्त अदालतले उनीसहित अरू सातजना राजनीतिकर्मीलाई पनि युद्धअपराध गरेको आरोपमा जन्मकैदको फैसला सुनाएको थियो ।
सन् १९७१ मा बंगलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा ती सांसदले युद्धअपराध गरेको ठहर त्यस अदालतले गरेको छ । तिनै सांसदलाई सघाएको आरोपमा सातजनालाई अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
त्यस समयका राजनीतिक दलका नेता सेखावत हुसैनले सन् १९७१ को स्वतन्त्रता संग्रामको समयमा स्वतन्त्र बंगलादेशको पक्षमा लागेका नागरिकको हत्या गरेका थिए । उनीमाथि हत्या, बलात्कार र लुटपाटको आरोप छ ।
बंगलादेशको राजधानी ढाकामा रहेको युद्धअपराधसम्बन्धी अदालतमा भइरहेको सुनुवाइपछि अदालतले उनलाई गत बुधबार दोषी ठहराएको थियो । सेखावत हुसैन सन् १९९१ मा बंगलादेशका सांसद भएका थिए । अहिले पनि उनी बंगलादेशका एकजना राजनीतिकर्मी हुन् ।
बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले सन् २००९ मा युद्धअपराधसम्बन्धी उक्त अदालत स्थापना गरेकी हुन् । त्यसयता यस अदालतले बंगलादेश स्वतन्त्रताको क्रममा सन् १९७१ ताका भएका युद्धअपराधको छानबिन गरी दर्जनौं नेतालाई सजाय सुनाएको छ ।
बंगलादेशले सुरु गरेको स्वतन्त्रता संग्रामको समयमा भएको आमहत्या, बलात्कार, एवं कैयौं ज्यादतीका विरुद्ध यस अदालतले कारबाही गर्दै आएको छ । त्यस समयमा बंगलादेशम व्यापक मात्रामा युद्ध अपराध भएको बताइन्छ ।