डेब्यु खेलमै इब्राहिमोभिचले गरे गोल
लण्डनः स्वीडेनका भेट्रान खेलाडी जाल्टन इब्राहिमोभिचले डेब्यु खेलमै गोल गरेका छन्। फ्रान्सेली क्लब पीएसजीसँगको करार सकिएपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग आबद्ध भएका जाल्टनले प्रिमियर लिग फुटबलको पहिलो डेब्यु खेलमै गोल गर्न सफल भएका हुन्।
गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई हराउँदा जाल्टनले टोलीका गोल गर्दै अग्रता तेब्बर पारेका थिए। उनले खेलको ६४ औं मिनेटमा बर्नमाउथविरुद्ध गोल गरेका थिए। म्यानचेस्टर युनाइटेडसँग आबद्ध भएको पहिलो सिजनमै कम्युनिटी सिल्ड जिताउने क्रममा जाल्टनले लेष्टर सिटीविरुद्ध पनि महत्वपूर्ण गोल गरेका थिए।
जाल्टनले प्रिमियर लिगको पहिलो डेब्यु खेलमा गोल गरेसँगै एउटा इतिहास पनि बनाएका छन्। जाल्टनले अहिलेसम्म खेलेका सबै लिगमा डेब्यु खेलमा गोल गर्न सफल भएका छन्। जाल्टनले यसअघि इन्टर मिलानबाट खेल्दा सिरी ए, स्पेनिस क्लब बार्सिलोनाबाट ला लिगा र च्याम्पियन्स लिगमा डच क्लव एज्याक्सबाट खेल्दा डेब्यु खेलमै गोल गरेका थिए।
इब्राहिमोभिचले स्वीडेनका लागि खेलेका १ सय १६ खेलमा ६२ अन्तर्राष्ट्रिय गोल गरेका छन्।