महराले आज चिनियाँ विदेशमन्त्री भेट्ने

महराले आज चिनियाँ विदेशमन्त्री भेट्ने

काठमाडौंः चीन भ्रमणमा रहेका सरकारका विशेषदूत उपप्रधानमन्त्री कृष्णबहादुर महराले मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट्ने भएका छन् ।

उपप्रधानमन्त्री महरा र विदेशमन्त्री वाङबीच बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयमा भेटवार्ता तय भएको छ । ‘अन्य कुन तहका चिनियाँ अधिकारीसँग भेट हुन्छ तय भइसकेको छैन', बेइजिङस्थित कार्यवाहक नेपाली राजदूत हरीश्चन्द्र घिमिरेले अन्नपूर्णसँग भने ।

चीनको छेङ्दु हुँदै मन्त्री महरा सोमबार साँझ बेइजिङ पुगेका हुन् । बेइजिङ विमानस्थलमा मन्त्री महरालाई चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारी र कार्यवाहक राजदूत घिमिरेले स्वागत गरेका थिए । अर्थमन्त्री महरा दुई दिनसम्म बेइजिङमा रहनेछन् । महराका साथमा परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वासँगको कुराकानीमा मन्त्री महराले चीनसँगको सम्बन्धलाई अझ विस्तार गरी नयाँ उचाइमा पुर्‍याउन नेपाल सरकार इच्छुक रहेको प्रतिक्रिया दिएका छन् ।
‘पूर्ववर्ती ओली सरकारका कार्यकालमा भएका पारवहन सम्झौतालगायत अन्य सबै महत्वपूर्ण सम्झौता कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी गराउन चीन भ्रमणमा छु', मन्त्री महराले भनेका छन् ।

मन्त्री महराले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण होस् भन्ने सरकारको चाहना रहेकोसमेत बताए । ‘चिनियाँ अधिकारीसमक्ष राष्ट्रपति सीको भ्रमणका लागि निमन्त्रणापत्र हस्तान्तरण गर्नेछु', उनले भने ।

चीनले आफू रेल, सडक सञ्जाल र समुद्री मार्गबाट अन्य मुलुकसँग जोडिनका लागि अघि सारेको ‘वान बेल्ट वान रोड' अवधारणामा नेपाल सहभागी हुने मन्त्री महराले सिन्ह्वालाई बताएका छन् ।

नेपालमा नयाँ सरकार बनेपछिको अवस्था, संविधान कार्यान्वयनमा चीनको सहयोगलगायतका विषयमा भ्रमणमा कुरा हुने उनले बताए । चीनसँगको ऐतिहासिक सम्बन्ध नयाँ उचाइमा पु¥याउन आफूहरूले चाहेको महराले बताए ।

‘चीन र भारतसँग सन्तुलित सम्बन्ध राखेर उनीहरूले गरेका आर्थिक विकासबाट लाभ लिन चाहन्छौं', उनले भने । सरकारले एक साताअघि महरालाई चीन र अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारतका लागि विशेषदूतका रूपमा पठाउने निर्णय लिएको थियो ।

मन्त्री निधि सम्भवतः बिहीबार भारत जानेछन् । भारतीय स्वतन्त्रता दिवस सोमबार परेका कारण भ्रमण केही ढिला भएको भारतीय राजदूत रञ्जित रेले बताए । निधिको भारत भ्रमणपछि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको मिति तय हुने भारतीय राजदूत रेले अन्नपूर्णलाई बताए ।

‘नेपालका राष्ट्रपति भारत जाने र हाम्रा राष्ट्रपति नेपाल आउने विषयमा समेत भ्रमणमा कुराकानी हुनेछ', उनले भने । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नयाँ संविधान जारी भएको वार्षिकी अर्थात् असोज ३ का अवसरमा नेपाल भ्रमण गराउने पक्षमा नेपाल सरकार देखिएको छ ।

‘नेपालको नयाँ संविधानमा गम्भीर रिजर्भेसन राख्दै नाकाबन्दी लगाएको भारतले संविधान जारी भएको वर्ष दिनको अवसर पारेर उच्चस्तरीय भ्रमण गराउन राजी होला भनिहाल्न मुस्किल छ । तर प्रयास भइरहेको छ', एक अधिकारीले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.