'ओभरलोड' बस ब्याक भयो, ब्रेक लागेन, भीरबाट खस्यो'

'ओभरलोड' बस ब्याक भयो, ब्रेक लागेन, भीरबाट खस्यो'

बनेपाः काठमाडौंबाट काभ्रेको मादनकुँडारीतर्फ जाँदै गरेको यात्रुवाहक बस सोमबार दिउँसो काभ्रे बिर्तादेउराली गाविसको खहरेखोलामा दुर्घटनाग्रस्त हुँदा २७ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् ।

अरनिको यातायातको बा ३ ख १०६ नम्बरको यात्रुवाहक बस दिउँसो करिब १ बजे भीरबाट करिब ३ सय मिटर तल खसेको थियो । छत र भित्र खचाखच यात्रु भरिएको उक्त बस कच्ची बाटोमा क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बसमा ८० जनाभन्दा बढी सवार थिए भने छत र भित्र पनि खाद्यान्न र अन्य मालताल राखिएको थियो ।काभ्रे प्रहरीका एसपी राजेशनाथ बास्तोलाले दुर्घटनामा २७ जनाले ज्यान गुमाएको जानकारी दिए । २६ जनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा काठमाडौंमा मृत्यु भएको जानकारी बास्तोलाले दिए ।

बास्तोलाका अनुसार गम्भीर घाइतेमध्ये काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा १३ जना र वीर अस्पतालको ट्रमा सेन्टरमा १५ जनाको उपचार भइरहेको छ । नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएका २९ जना घाइतेमध्ये एकको मृत्यु भएको हो । बास्तोलाले धुलिखेलस्थित अस्पतालमा १२ जनाको उपचार भइरहेको जानकारी दिए ।

'गाडीमा ओभरलोड थियो । उकालोमा बसले तान्न सकेन।  बस पछि सरेको सर्‍यै भयो। ‘ड्राइभर ‘ओट हाल, ओट हाल' भन्दै थिए, दुर्घटनामा घाइते भएका रामेछाप, बोजेनी ७ का दयाराम चौलागाईंले भने, एकैचोटि बस भीरबाट खस्यो । छ-सात बल्ड्याङ खाएपछि म बेहोस भएछु । धन्न छोरी र श्रीमतीलाई पनि दैवले हात थापेछ । हामी तीनैजना बाँच्यौं ।'

कतारबाट अघिल्लो दिनमात्र घर फर्केका चौलागाईं बनेपामा किनमेल गरी सपरिवार घर फर्केका थिए । दुई वर्षकी छोरी कृतिका र श्रीमती शान्तासहित उनी धुलिखेल अस्पतालमा उपचार गराइरहेका छन् ।

भूकम्पपीडितको अनुदान सम्झौताका लागि सदरमुकाम धुलिखेलमा लालपुर्जा बनाएर घर फर्कंदै गरेका गोठपानी १ का खेमबहादुर सुनारले दुर्घटनापछि आफूलाई सपनाजस्तो महसुस भइरहेको बताए । ‘तीनचार दिन लगाएर लालपुर्जा बनेको थियो । म खुसी भएर घर फर्कंदै थिएँ', उनले विह्वल हुँदै भने, ‘सँगै गफ गर्दै गएका साथीहरूको लास हेर्नुपर्‍यो । मेरो सारा खुसी लाससँगै हरायो । कति साथी प्राण त्याग्नुअघि पानी-पानी भन्दै मरे । मैले केही गर्न सकिनँ ।'

 

काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले दुर्घटनामा ठूलो मानवीय क्षति भएको जानकारी दिँदै तत्काल उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत घाइतेहरूको उद्धार गरेको बताए । ‘सामान्य घाइतेलाई एम्बुलेन्समा धुलिखेल अस्पताल पठायौं, गम्भीर घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं पठायौं', प्रजिअ पन्थीले भने । घटनास्थलमा भीरमा छरिएका शवहरू संकलन गर्न तथा शव पहिचान गर्न कठिन भएको एसपी बास्तोलाले बताए ।

प्रजिअ पन्थी उद्धारका लागि घटनास्थलमा खटेका थिए । उनीसँगै एसपी बस्तोला पनि घटनास्थल पुगेका थिए । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेको उद्धार गरेका थिए । प्रजिअ पन्थीले घटनास्थलमै मृतकको पोस्टमार्टम गर्ने व्यवस्था मिलाएका थिए ।

‘बस खस्नासाथ सुरुमै उछिट्टिएँ । पछि उठेर हेर्दा भीरभरि मान्छेका लास छरिएको देखी सकुन्जेल उद्धार गरें तर एक छिनमा आफैं बेहोस भएछु, थाहा नै भएन', कात्तिकेदेउराली गाविसका घाइते विनोद चौलागाईंले भने, ‘बस पछि हट्नेबित्तिकै पल्टने महसुस गरिसकेको थिएँ । बाटो चिप्लो थियो । बसमा ओभर लोड थियो । उकालोमा तान्न नसकेर पछाडि हटेको हट्यै भयो । छतमा बस्ने तैबिसेक, बसभित्र भएका अधिकांशको घटनास्थलमै मृत्यु भयो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.