संसद्‌मा खाजा खर्चःसांसदभन्दा कर्मचारीलाई डेढ गुणा बढी

संसद्‌मा खाजा खर्चःसांसदभन्दा कर्मचारीलाई डेढ गुणा बढी

काठमाडौंः खाजा र खानाका लागि दिइने कुपनमा व्यापक अनियमितता भेटिएपछि संसद् सचिवालयले भदौ १ गतेदेखि ‘कुपन सिस्टम’ बन्द गर्ने निर्णय गरेको छ । समितिका बैठकमा चियामात्र खुवाउने र कुपनको सट्टा सांसदलाई खाजा र खानाबापत दैनिक चार सय रुपैयाँ दिने निर्णय सचिवालयले गरेको छ ।

समितिको बैठक बस्दा एकजना नेताको पछाडि दर्जनौं सुरक्षाकर्मी, सहयोगी र ड्राइभरलाई पनि कुपन दिनुपर्ने, कर्मचारीलाई छुट्टै खाजा खर्च दिइए पनि कुपनबाटै खाजा र खाना खाने गरेको तथा कुपनको व्यापक दुरुपयोग हुने गरेको भन्दै कुपन सिस्टम बन्द गर्नुपरेको सभामुख ओनसरी घर्तीमगरको सचिवालयले जनाएको छ । सभामुख घर्तीले आर्थिक मितव्ययिता अपनाउन आफूले यस्तो निर्णय गरेको विभिन्न दलका सचेतकहरूसँगको छलफलमा बताएकी छन् । संसद् सचिवालयका एक कर्मचारीले एक दिनमा तीन हजार पाँच सयसम्म कुपन बाँडिएको र कुपनमा ठूलो रकम खर्च भइरहेको बताए ।

सचिवालयले सांसदलाई खाजा र खानाबापत नगद दिने निर्णय गरे पनि संसद्का कर्मचारीले पाइरहेको भन्दा निकै कम छ । संसद्का सबै तहका कर्मचारीले दैनिक ६ सय रुपैयाँ खाजा खर्च पाउँछन् भने बिदाको दिन एक सय ५० रुपैयाँ थप पाउँछन् ।

 एक दिनमा तीन हजार पाँच सयसम्म खाना कुपन बाँडेर व्यापक दुरुपयोग भएको पाइएपछि सचिवालयले सांसदलाई खाजा र खानाबापत नगदै दिने निर्णय गरेको छ।

तर सांसदले भने समिति बैठक बसेमा चार सयमात्र पाउनेछन् । ‘बिहान बैठक बसे सांसदलाई चार सय र साँझ ७ बजेपछि बैठक बसे थप चार सय रुपैयाँ खाना र खाजा खर्चबापत दिने निर्णय भएको हो’, सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले भने । बिहान र साँझ बैठक बस्यो भने सांसदले आठ सय पाउनेछन् ।

सभामुख घर्तीले आर्थिक मितव्ययिता, समितिको कार्यक्षेत्रलगायत विषयमा मंगलबार समितिका सभापतिहरूसँग छलफल गरेकी छन् । छलफलमा केही सभापतिले समिति बैठकमा चियासँग बिस्कुट पनि व्यवस्था गर्न माग गरेको स्रोतले बतायो । यस्तै केही सभापतिले समितिको बैठक कक्ष निकै साँघुरो रहेको भन्दै सभामुखसँग गुनासो पोखेका थिए ।

‘कुन समितिको कुन बैठक कक्ष भन्ने छैन । भएका बैठक कक्ष पनि व्यवस्थित छैनन् भन्ने कुरा राख्यौं’, सुशासन समितिका सभापति मोहनसिंह राठोरले भने । त्यस क्रममा एउटै विषयमा विभिन्न समितिले हात हाल्ने गरेको भन्दै जुन समितिको कार्यक्षेत्र हो, त्यसले मात्र हेर्नुपर्ने भन्दै केही सभापतिले गुनासो पोखेका थिए । समितिका बैठकमा शीर्ष नेताहरू नआउने गरेको भन्दै प्रमुख सचेतकमार्फत शीर्ष नेताहरू आउने वातावरण मिलाइदिन पनि केही सभापतिहरूले सभामुखसँग आग्रह गरेका थिए ।

फेरि ककसको तयारी

विगत संविधानसभामा निकै विवादमा परेको महिला सभासद्हरूको समूह (ककस) फेरि ब्युँताउने पहल भएको छ । विभिन्न दलका महिला सांसदहरूले सभामुख घर्तीसँग भेट गरी ककस गठनका लागि सहयोग गर्न आग्रह गरिरहेको संसद् सचिवालय स्रोतले बतायो ।

कांग्रेसकी ईश्वरी न्यौपाने, सीता गुरुङ, एमालेकी अष्टलक्ष्मी शाक्य, एमाओवादीकी सीता नेपालीलगायतले ककस गठनका लागि पहल गरिरहेको स्रोतले बतायो । उनीहरूले यस सम्बन्धमा मंगलबार ककस गठनको तयारी गरे पनि सभामुखसँग भेट नभएको उनको सचिवालयले जनाएको छ ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले पार्टीसँग व्यापक छलफल गरेर मात्र ककसका विषयमा अघि बढ्न उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई आग्रह गरेको स्रोतले बतायो । विघटित संविधानसभामा गठन भएको महिला ककसले एक अन्तर्राष्ट्रिय संस्थाबाट पैसा लिएर संविधान निर्माणमा लबिङ गरेको थियो । ककसको उक्त कार्यको महिला सभासद्हरूले नै विरोध जनाएपछि उक्त रकम सम्बन्धित संस्थालाई नै फिर्ता गरिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.