काभ्रेको दुर्घटनामा अर्ध बेहोस हुँदै उद्धारमा खटिएकी कोपिला
काठमाडौं: अस्पतालको शय्यामा चार दिन बिताएर आराम खोज्दै घर फर्कंदै गरेकी काभ्रे ज्यामिरेकी २१ वर्षीया कोपिला गौतमले २४ घन्टामै अर्को अस्पतालको शय्यामा पुग्नुपर्यो एउटा भयानक दुर्घटनामा नयाँ जीवन पाएर र जीवनको याचना गरिरहेका धेरैलाई बचाएर । काभ्रेको बिर्तादेउराली, खहरेखोलामा सोमबार भएको दुर्घटनाकी साक्षी कोपिलाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक विभागमा उपचार भइरहेको छ ।
अनमीकी विद्यार्थी कोपिलाले आफ्नो घाइते शरीर घिसार्दै शक्ति रहुन्जेल दुर्घटनाका अन्य घाइतेलाई बचाउने कोसिस गरिन् । मंगलबार उनलाई भेट्न ट्रमा सेन्टर पुग्दा वरिपरि आफन्त र साथीभाइको भीड थियो ।
भीरबाट बस गुल्टिँदा आफू उछिट्टिएर पछारिँदा ढाड, घाँटी र हातमा चोट लागे पनि उनी आफू बाँचेकोमा खुसी छिन् । उनले सिट छोडिदिएका छिमेकी दुई वृद्धा आमाहरूको भने दुर्घटनामा ज्यान गयो । बसयात्राका क्रममा तेस्रोपटक सिट छोडिदिएकी गाउँकी अर्की महिलाको गम्भीर अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
अचानक बढेको ज्वरो र टन्सिलाइटिसका कारण सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गरी आइतबार डिस्चार्ज भएकी कोपिलाले आराम गर्ने र बुबाआमासँग भेट गर्ने योजना बनाउँदै सोमबार घर जान टिकट बुक गरेकी थिइन् । बिहान साढे सात बजे उनी कोटेश्वर पुगेर बस चढ्न खोज्दा भित्र ठेलमठेल यात्रु देखेर आश्चर्यमा परिन् ।
उनले बुक गरेको सिटमा एक बिरामी आमा बसेको देखेपछि उनी चुपचाप उभिइन् । आफूलाई सन्चो नभएको र उभिएर घरसम्म जान नसक्ने भनी पटकपटक अनुरोध गरेपछि बसका स्टाफले उनलाई बल्लतल्ल सिट मिलाइदिए । त्यो सिटमा बस्नुपहिल्यै उनका आँखा नजिकै सकिनसकी उभिइरहेकी वृद्धा आमातिर मोडिए र तत्कालै उनलाई सिट छोडिदिइन् ।
दोलालघाटमा खाना खाएर बस चढ्दा उनलाई फेरि अर्को सिट मिलेको थियो । फेरि उनका आँखा भाँचिएको हातका साथ सिट नपाएर कष्ट बेहोर्दै गरेकी अर्की महिलामा गयो । उनलाई सिट दिँदै चामलको बोरामाथि बसिन् कोपिला ।
दोलालघाटमा चालकले बस स्टार्ट गर्न खोज्दा भएन । केही सीप नलागेपछि उनले यात्रुलाई बोलाएर बस ठेल्न लगाए ।
केहीबेरको यात्रापछि खहरेखोलाबाट देउरालीको उकालो लाग्दै गर्दा बसको ब्रेक फेल भयो र सोच्ने समय नपाउँदै बस भीरबाट गुल्टियो । कोपिला बसबाट उछिट्टिएर पछारिन पुग्दा केहीबेर उनका आँखामा अँध्यारो छायो ।
घाइतेहरूको कोलाहलले उनका आँखा खुले । आँखाअघि कोही टाउको नभएका, कोही हात नभएका, कोही रगताम्मे शरीर भएकाहरू थिए । नजिकै चामलको बोराले थिचिएकी उनकी गाउँले साथी प्रतीक्षा चौलागाईं 'मलाई बचाऊ कोपिला' भन्दै रोइरहेकी थिइन् । कोपिला उठ्न खोजिन् । पछारिएको शरीर उठाउन उनलाई पनि कठिन थियो । आफ्ना हातखुट्टा सद्दे नै भएको पाएपछि उनले आफूअघिका शवहरू छिचोल्दै प्रतीक्षामाथि थुप्रिएको चामलको बोरा उठाइन् ।
प्रतीक्षालाई उठाउन नपाउँदै कोपिलाका ठूलोबुबाका छोरा सुदर्शन गौतम चोटले कराइरहेको देखिन् र सकिनसकी दाइलाई पनि तानेर सजिलो ठाउँमा पुर्याइन् । असरल्ल परेको आफ्नो ब्यागमा भेटिएको ब्यान्डेज लगेर रगत बगिरहेकाहरूको शरीरमा बाँधिदिइन् । उनीहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बचाउन खोजे पनि फुपूको छोरा उमेशलाई उनले गुमाइन् । आफन्तहरूलाई उद्धार गरिसकेपछि उनको ध्यान आफूले सिट छाडेका आमाहरूमा गयो । उनीहरूको ज्यान गइसकेको थियो । चिच्याइरहेका अन्य घाइतेलाई पनि उनले सकिनसकी सजिलो ठाउँमा लगेर राखिन् । हस्याङफस्याङ गर्दै घाउँलेहरू घेरिए तर वास्तवमै उद्धार गर्ने मानिसहरू कम थिए ।
आफ्नो चोटको परबाह नगरी अर्धबेहोस अवस्थामा उद्धारमा खटिएका गाउँलेसँग मिलेर घाइतेलाई सहज बनाउँदै गरेको कोपिलालाई सम्झना छ । त्यसपछि उनलाई पनि अन्य घाइतेसँगै हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । अस्पतालमा ल्याएको केही समयपछि बल्ल उनी पूर्ण होसमा आएकी थिइन् ।
'त्यो दुर्घटना सपनाजस्तै लागिरहेको छ । म थिइनँजस्तो लाग्छ त्यो घटनामा', कोपिलाले अन्नपूर्णसँग भनिन्, 'सम्झियो भने पनि शरीर काँप्न थाल्छ ।' उनी त्यस्तो कहालीलाग्दो दुर्घटनामा आफू बाँच्नुमा बुबाआमालाई कारक मान्छिन् । भनिन्, 'म भाग्यमानी रहेछु । मेरा बुबाआमाले राम्रो काम गर्नुभएको थियो होला । सायद त्यसैले आज म यहाँ छु । अरूका छोराछोरी पनि बाँचेका भए कति खुसी हुन्थे होलान् ।' कोपिलाको भनाइ सुनेर नजिकै बसिरहेका उनका बुबा पनि मुस्काए र उनको हात समात्न पुगे ।
बाल्यकालदेखि बिरामीको सेवा गर्ने रहर पलाएपछि उनी काठमाडौं बसेर बबरमहलस्थित जनशक्ति विकास अनुसन्धान संस्थानमा अनमी अध्ययन गर्दै थिइन् । उनले पढाइ पूरा गर्न पाँच महिना बाँकी थियो । आफूले कुनै बेला चाहिएला भन्दै झोलामा राखेको ब्यान्डेज र गज आफूसँग यात्रा गरिरहेका घाइतेमा प्रयोग भएकोमा उनलाई सन्तुष्टि प्राप्त भएको छ ।
उनलाई दुःख छ ठेलमठेल गरेर बस चढ्नु परेको र बिग्रिएको बस जबर्जस्ती चलाएकामा । 'हाम्रो त बाध्यता हो त्यसैगरी घर जाने र आउने । बाटो त्यस्तै डरलाग्दो छ । बिग्रिएको बस हो भन्ने जानेर पनि हामीले बीच बाटोमा ओर्लने आँट गर्न सकेनौं । हामीसँग अर्को विकल्प पनि थिएन', उनले भनिन् । पटकपटक बिग्रने गरेको बसमा पैसाका लागि जबर्जस्ती यात्रु बसाउने र सकीनसकी बसभित्र कोचिने यात्रु स्वयंको पनि गल्ती भएको कोपिलाको अनुभव छ ।