सबै शक्तिबीच सहकार्य गर्न चीनको सुझाव

सबै शक्तिबीच सहकार्य गर्न चीनको सुझाव

काठमाडौंः चीनले नेपालको शान्ति र राजनीतिक स्थायित्वका लागि राजनीतिक शक्तिहरूले मिलेर काम गर्नुपर्नेमा जोड दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा उत्तरी छिमेकी चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग मंगलबार भएको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले भने, ‘हामी चाहन्छौं नेपालका राजनीतिक शक्तिहरू देशको शान्ति, राजनीतिक स्थायित्व र विकास प्रक्रियामा संयुक्त रूपमा मिलेर काम गरून् ।’

चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिअनुसार उपप्रधानमन्त्री महराले नेपालको शान्ति, स्थायित्व र संविधान कार्यान्वयनमा चीनबाट महत्त्वपूर्ण सहयोगको अपेक्षा लिएको बताएका थिए ।

नेपालमा नयाँ सरकार बनेकोमा स्वागत गर्दै वाङले सरकार परिवर्तनका कारण दुई देशबीचको मित्रवत् सम्बन्ध, पारस्परिक विश्वास र लाभदायी सहकार्यमा कुनै परिवर्तन नआउने अपेक्षा व्यक्त गरे ।

अहिलेको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने पक्षमा आफूहरू रहेको महराले बताए । नेपालमा भएको हालैको सत्ता परिवर्तनका कारण चीनसँगको सम्बन्ध र विदेश नीतिमा कुनै परिवर्तन नआउने महराले प्रस्ट पार्ने कोसिस गरेका थिए ।

बेइजिङस्थित विदेश मन्त्रालयमा भएको एक घन्टा लामो भेटमा चिनियाँ विदेशमन्त्रीले नयाँ सरकारसँग विगतमा भएका द्विपक्षीय सहमति तथा सम्झौताहरू कार्यान्वयनका लागि मिलेर काम गर्न तयार रहेको बताए ।

 ‘विगतमा हाम्रा दुई देशका शीर्ष नेतृत्वबीच पारवहन, यातायात, स्वतन्त्र व्यापार, पुनर्निर्माण, ऊर्जालगायत क्षेत्रमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्दै सम्बन्धलाई अझै गहिरो बनाउन नेपालको वर्तमान सरकारले काम गर्नेछ भन्नेमा चीन आशावादी छ’, भेटमा चिनियाँ विदेशमन्त्रीले भने ।

‘चीनसँगको हाम्रो परम्परागत र मित्रवत् सम्बन्ध निरन्तर अघि बढ्नेछ । पूर्ववर्ती सरकार र चीनबीच भएका सहमति र सम्झौताको भावनाअनुसार द्विपक्षीय सम्बन्धलाई अझै नयाँ उचाइमा उठाउन हामी प्रतिबद्ध छौं’, महराले भेटमा भने ।

पूर्ववर्ती ओली सरकारको पालामा भएको पारवहन सम्झौतालगायत ऐतिहासिक सम्झौता दाहाल सरकारले कार्यान्वयन नगर्ने हो कि भन्ने आशंका व्याप्त भइरहेका बेला चिनियाँ विदेशमन्त्रीले सत्ता परिवर्तनका कारण विगतका सहमति र सम्झौता कार्यान्वयनमा समस्या नआउने अपेक्षा राखेका हुन् । मन्त्री महराले एक चीन नीतिप्रति नेपाल दृढ रहेको बताए ।

मन्त्री महराले चिनियाँ विदेशमन्त्रीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीहरूलाई नेपाल भ्रमण गर्न दिएको निमन्त्रणापत्र हस्तान्तरण गरेको बेइजिङस्थित नेपाली दूतावासले विज्ञप्तिमा जनाएको छ ।

‘चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुनेछ भन्नेमा नेपाल सरकार विश्वस्त छ । हामी भ्रमणको व्यग्र प्रतीक्षामा छौं’, मन्त्री महराले भने । चिनियाँ विदेशमन्त्रीले चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने बताए । भेटमा सहभागी अधिकारीहरूका अनुसार वाङले चिनियाँ राष्ट्रपति वा प्रधानमन्त्री कुन तहमा भ्रमण हुन्छ भन्ने खुलाएनन् ।

‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि माहोल बनेको छ । विदेशमन्त्री वाङसँगको भेटवार्ता निकै सकारात्मक र फलदायी भएको छ’, बैठकमा सहभागी परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्यालले टेलिफोनमा अन्नपूर्णसँग भने । उपप्रधानमन्त्री महराले सरकारले शान्तिप्रक्रियाका बाँकी रहेका काम पूरा गर्ने, संविधान कार्यान्वयन गर्ने, पुनर्निर्माणलाई गति दिनेलगायत विषयलाई प्राथमिकतामा राखेको बताए ।

चिनियाँ प्रधानमन्त्रीसँग आज भेट्ने

मन्त्री महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग बुधबार भेट्ने तय भएको छ । स्थानीय समयअनुसार बिहान १०ः३० बजे चिनियाँ प्रधानमन्त्रीसँग महराको भेट हुनेछ । तीन साताअघि दाहाल नेतृत्वमा कांग्रेस—माओवादी गठबन्धन सरकार बनेयता नेपालका तर्फबाट उत्तरी छिमेकी चीनमा भएको यो नै पहिलो उच्चस्तरीय सरकारी भ्रमण हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.