वीरगन्जका अस्पतालमा अवैध गर्भपतन

वीरगन्जका अस्पतालमा अवैध गर्भपतन

वीरगन्ज: दुई छोरीका बुबा पर्सा जगरनाथपुरका जाकिर हुसेनले आफ्नी पत्नीको गर्भमा फेरि छोरी नै रहेको थाहा पाएपछि गर्भपतन गराउने निधो गरे ।

चार महिनाको गर्भपतन गराउनका लागि हुसेन वीरगन्जको लिंकरोडमा अवस्थित मेरी स्टोप्स सेन्टरमा पुगे । तर मेरी स्टोप्सका कर्मचारीले १२ साता (तीन महिना) भन्दा बढी समयको गर्भपतन गर्न नमिल्ने भन्दै हुसेनलाई छेउकै निकिता फार्मेसीभित्र रहेको चिकित्सक ममता चौकीकारको क्लिनिकमा जान सुझाव दिए ।

त्यसपछि हुसेनले १८ हजार रुपैयाँ तिरेर चिकित्सक चौकीकारको क्लिनिकमा पत्नीको गर्भपतन गराए । 'सुरुमा ४५ हजार मागेका थिए', हुसेनले भने, 'धेरै अनुरोध गरेपछि १८ हजारमै गरिदिए ।'

सरकारले अनिच्छित गर्भ रहेमा अधिकतम १२ सातासम्मको गर्भपतन गराउन कानुनी मान्यता दिएको छ । त्यो पनि सरकारले तोकेका सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थामा मात्रै अनिच्छित गर्भपतन गराउन पाइने नियम छ ।

पर्सामा बगही, बागवाना, विश्रामपुर, पोखरिया, सेढवा, निर्मलबस्ती, ठोरी, बागेश्वरी तित्रौना, महुवन र मुडली गाविसमा रहेका स्वास्थ्य चौकीमा नौ सातासम्मको मात्र अनिच्छित गर्भ औषधि सेवन गराएर गर्भपतन गराउन पाइने सेवा उपलब्ध छ । यसको सेवा शुल्क पाँच सय रुपैयाँ मात्र छ ।

यस्तै वीरगन्जमा रहेको नारायणी उपक्षेत्रीय अस्पताल र मेरी स्टोप्स सेन्टरमा भने शल्यक्रिया गरेर अधिकतम १२ सातासम्मको गर्भपतन गराउन मिल्ने सेवा उपलब्ध छ । यसको सेवा शुल्क एक हजार रुपैयाँ छ ।

 सुरुमा ४५ हजार मागेका थिए', हुसेनले भने, 'धेरै अनुरोध गरेपछि १८ हजारमै गरिदिए ।

यीबाहेक अन्य कुनै पनि स्वास्थ्य संस्था, अस्पताल वा क्लिनिकमा गर्भपतन गराउन पाइँदैन । तर वीरगन्जमा रहेका निजी क्लिनिक र नर्सिङ होममा महिलासँग १८ देखि ४५ हजार रुपैयाँसम्म असुलेर १८ देखि २० सातासम्मको गर्भ पतन गराउने काम भइरहेको छ ।

मेरी स्टोप्समै पनि राज्यले तोकेको शुल्कभन्दा बढि रकम असुलेर १२ साताभन्दा बढीको गर्भ पतन गराउने काम भइरहेको छ ।

यस्तै मेरी स्टोप्सकै ठीक सामुन्ने रहेको निकिता फार्मेसीभित्र सञ्चालित डाक्टर चौकीकारको क्लिनिकमा पनि गर्भवती महिलाको आर्थिक अवस्थाअनुसार १५ देखि ४५ हजार रुपैयाँसम्म असुलेर गैरकानुनी रूपमा १२ साताभन्दा बढीको गर्भ पतन गराउने गरिएको छ ।

मेरी स्टोप्स सेन्टरमा पुग्ने गर्भवती महिलाको गर्भ १८/२० साताभन्दा बढीको भएमा भने त्यहाँका कर्मचारीले सीधै अगाडिपट्टि रहेको चौकीकारको क्लिनिकमा पठाइदिने गरेका छन् । त्यसबापत ती कर्मचारीले चारदेखि पाँच हजार रुपैयाँ कमिसन चौकीकारबाट लिने गरेका छन् ।

चौकीकारले भने आफ्नो क्लिनिकमा गैरकानुनी रूपमा गर्भपतन नगरिएको बताइन् । 'मेरो क्लिनिकमा त्यस्तो गैरकानुनी काम हुँदैन', 'उनले भनिन्, 'यो सब निराधार कुरा हो ।'

वीरगन्जमा रहेका डाक्टर चौकीकारको क्लिनिक, मेरी स्टोप्स सेन्टर र अन्य निजी अस्पताल तथा नर्सिङ होमले चर्को रकम असुलेर गैरकानुनी रूपमा १२ साताभन्दा बढी समय अवधिको गर्भ पतन गराउँदै आएको भए पनि नियामक निकाय जिल्ला जनस्वास्थ्य कार्यालयले भने अहिलेसम्म कुनै अनुगमन र निरीक्षण गर्ने गरेको छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख जनस्वास्थ्य अधिकृत राजकिशोर पण्डितले भने अवैध गर्भपतन गराएको बारेमा कुनै उजुरी नआएको बताए । 'बेलाबेलामा हामी अनुगमन त गर्छौं तर हाम्रो कार्यालयमा कुनै उजुरी वा गुनासो भने आएको छैन', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.