नेविसंघ चुनावमा दुई पक्षीय प्रतिस्पर्धा

नेविसंघ चुनावमा दुई पक्षीय प्रतिस्पर्धा

काठमाडौंः झन्डै ढेड सातादेखि विवादका कारण अवरोध हुँदै आएको नेपाल विद्यार्थी संघको नेतृत्व चयनका लागि बुधबार चुनाव हुने भएको छ ।
प्रतिनिधि विवाद सहमतिका आधारमा समाधान भएपछि बुधबार बिहान ७ देखि साँझ ७ बजेसम्म चुनाव हुने भएको छ । संघको एक सय २९ सदस्यीय कार्यसमितिका लागि विभिन्न पदमा ६ सयभन्दा बढीले उम्मेदवारी दिएका छन् ।

पटकपटक अधिवेशन घोषणा भएर पनि चुनावमार्फत नेतृत्व चयन हुन नसकेको संघको नौ वर्षपछि पहिलोपटक चुनावमार्फत कार्यसमिति चयन हुन लागेको हो । यसअघि तत्कालीन पार्टी सभापति सुशील कोइरालाले महाधिवेशन गराउन तीनपटकसम्म आयोजक समिति गठन गरेका थिए ।

पार्टीको तेह्रां महाधिवेशनबाट गत चैतमा सभापति चयन भएका शेरबहादुर देउवाले केन्द्रीय समितिको पहिलो बैठकबाटै नेविसंघलगायतका भ्रातृ संस्थाको अधिवेशन गराउने निर्णय गरेका थिए ।

प्रतिनिधि विवादका कारण अधिवेशनको चुनावी प्रक्रियामा केही अवरोध आए पनि अन्ततः शीर्ष नेताहरूबीच सहमति गरेर उक्त विवाद समाधान गरी नेतृत्वका लागि चुनावमा जाने सहमति भएको हो ।

निर्वाचन समितिले मंगलबार साँझ प्रकाशित गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा अध्यक्षमा सातजना प्रतिस्पर्धी छन् । पार्टी महाधिवेशनमा जस्तै संघको महाधिवेशनमा पनि सभापति देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । दुवै पक्षले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । अध्यक्षमा देउवा पक्षबाट नैनसिंह महरले र पौडेल पक्षबाट मनोजमणि आचार्यले उम्मेदवारी दिएका छन् । महर र आचार्य दुवै नेविसंघका पूर्वउपाध्यक्ष हुन् ।

त्यस्तै आनन्द त्रिपाठी, शुभराम बस्नेत, लक्ष्मण आचार्य, बच्चन कार्की र नगेनसिंह ठकुरीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
संघको अर्को महत्वपूर्ण निर्वाचित हुने दुई महामन्त्रीमा देउवा पक्षबाट कुन्दनराज काफ्ले र सरोज थापाले उम्मेदवारी दिएका छन् भने पौडेल पक्षबाट दीपक भट्टराई र हिमालदत्त श्रेष्ठको उम्मेदवारी परेको छ ।

महामन्त्रीमा राजेश ज्ञवाली र शंकर पौडेलले पनि उम्मेदवारी दिएका छन् । निर्वाचित हुने सात प्रदेशबाट एकएकजना र दलित, महिला, जनजाति र मधेसी आरक्षणतर्फका उपाध्यक्षमा पनि चार दर्जनभन्दा बढीको उम्मेदवारी परेको छ ।

उपध्यक्षमा दलितबाट सागर परियार, डम्बरबहादुर सुनार, पदम नेपाली र राम नेपालीको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपाध्यक्षमा उर्मिला थपलिया, महेश्वरी कुँवर र कृष्णकुमारी बस्नेतको उम्मेदवारी परेको छ । मधेसी उपाध्यक्षमा परमेश्वर शाह, पवन यादव, प्रभुनाथ राउत र मो.अजिद अरसदको उम्मेदवारी परेको छ । जनजाति उपाध्यक्षमा अृमतकुमार श्रेष्ठ, धनबहादुर छन्त्याल, नवीन राई, शिरा थापा, राजेश श्रेष्ठ, रिसा श्रेष्ठसहित ११ जनाको उम्मेदवारी परेको छ ।

प्रदेश नम्बर १ को उपाध्यक्षमा विष्णु कार्की, गोपाल सेढार्इं, विकास केसी, सुभाषा भण्डारीसहित सातजनाको उम्मेदवारी परेको छ । प्रदेश नम्बर २ बाट खगेन्द्र कर्ण, प्रवेशकुमार चौधरी, राम यादव र सञ्जयकुमार यादवको उम्मेदवारी परेको छ । प्रदेश नम्बर ३ बाट भरत खड्का, रामप्रसाद अधिकारी, विनयराज भट्ट, विष्णु पौडेलसहित सातजनाको उम्मेदवारी परेको छ ।

प्रदेश नम्बर ४ बाट सुवास कोइराला, पुष्पा तिवारी, पवन नेपाल, लक्ष्मीभक्त खनालसहित आठजनाको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेश नम्बर ५ बाट अजय रावल, टंकप्रसाद पाण्डे, पूर्ण केसीसहित १२ जनाको उम्मेदवारी परेको छ । प्रदेश नम्बर ६ बाट कृष्णप्रसाद जैसी, केशरबहादुर शाही, खड्कबहादुर डाँगी र राजीवकुमार केसीको उम्मेदवारी परेको छ भने प्रदेश नम्बर ७ बाट उपाध्यक्षमा ईश्वर मल्ल, राजन कुँवर, सरोज न्यौपानेसहित ६ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै कोषाध्यक्षमा अञ्जना अर्याल, उमेश भट्टराई, कमला न्यौपाने, केदार खनाल, टीका श्रेष्ठ, निमा गिरी, विश्वामित्र रिजाल र शिव रिमालको उम्मेदवारी परेको छ ।

त्यस्तै सात प्रदेशबाट एकएकजना, दलित, महिला, जनजाति र मधेसीका साथै उपत्यका र पिछडिएको क्षेत्रबाट निर्वाचित १३ जना सहमहामन्त्रीमा पनि पाँच दर्जनभन्दा बढीको उम्मेदवारी परेको छ ।

प्रत्येक प्रदेशबाट निर्वाचित हुने दुई महिलासहित ६, दलित जनजाति, मधेसी, महिला र उपत्यकाका साथै पिछडिएको क्षेत्रबाट निर्वाचित हुने सदस्यमा पनि सयभन्दा बढीको उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार बुधबार साँझ सात बजे मतदान सकिएलगत्तै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.