अनेरास्ववियुमा तीन गुट

अनेरास्ववियुमा तीन गुट

काठमाडौंः एमाले निकट अनेरास्ववियु आपसी विवादका कारण फेरि तीन चिरा परेको छ । ६ महिनाअघि सम्पन्न राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको एक समूह र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालको अर्को समूहबीच प्रतिस्पर्धा भएको थियो ।

महाधिवेशनमा एकै प्यानलबाट चुनाव जितेका ओलीपक्षीय अध्यक्ष नवीना लामा र महासचिव ऐन महरबीच अहिले फाटो आएको छ । अध्यक्ष लामाले महाविधेशन सम्पन्न भएको ६ महिना बितिसक्दा पनि विभिन्न विभागमा जिम्मेवारी नतोकेको तथा जिम्मेवारी तोकिएकामध्ये आफू निकटका व्यक्तिमात्र रहेको भन्दै महर पक्षले असन्तुष्टि व्यक्त गरेको छ । महर पक्षले अध्यक्षसँग अनुमति नलिई एकलौटी निर्णयबाट भदौ चारका लागि राष्ट्रिय भेला आयोजना गरेको छ ।

भेला बोलाएको विषयमा अध्यक्षलाई टेलिफोनबाट मात्र जानकारी गराएको महरले बताए । लामा र महर पक्षको मिलनबाट उक्त समूहले गत फागुनमा सम्पन्न २२ औं महाविधेशनमा बहुमत पदमा विजय प्राप्त गरेको थियो । ‘दुई वर्षको कार्यकालका लागि निर्वाचित साथीहरूले ६ महिनासम्म पनि जिम्मेवारी पाएका छैनन् ।

त्यसैमाथि अध्यक्षले कुनै पनि बैठकबाट निर्णय नगराई केही साथीहरूलाई आफूखुसी जिम्मेवारी तोकेकी छन्’, महरले भने, ‘यस्ता गतिविधिले कार्यकर्तालाई अन्योलमा पारेको छ । यस्तो अन्योल हटाउनु महासचिव भएको नाताले मेरो जिम्मेवारी हो । त्यही भएर भेला बोलाएको हुँ ।’

भेलामा ७५ प्रतिशतभन्दा धेरै कार्यकर्ता उपस्थित हुने महरको दाबी छ । अध्यक्ष लामाले भने महरले भेला बोलाएको विषयमा आफूलाई जानकारी नभएको बताइन् । हाल उपत्यकाबाहिर रहेकी लामाले भनिन्, ‘म संगठनकै कामको सिलसिलामा प्युठान आइपुगेकी छु । मेरो अनुपस्थितिमा महासचिवले कुनै पनि निर्णय गर्न सक्दैनन् । भेला बोलाइएको भए पनि यो अनेरास्ववियुको आधिकारिक भेला होइन ।’

आफूले अहिलेसम्म गरेको निर्णय संगठनको विधानअनुसार रहेको दाबी उनले गरिन् । ‘काम गर्ने क्रममा केही कमजोरी भए मूल्यांकन गरेर सुधार्नुपर्छ भन्ने पक्षमा म छु’, लामाले भनिन् ।

अहिले महरको भेला बोलाउने निर्णयमा उपाध्यक्षद्वय सुनिता बराल र महेश बर्तौला तथा सचिवहरू अमृत बुढा, आरसी लामिछाने र समिक बडाल तथा निर्वाचन आयोगका अध्यक्ष तुलसी मैनालीको समूहले समर्थन जनाएको छ ।

एकै प्यानलबाट अध्यक्ष र महासचिव जितेका लामा र महरबीच फुट आएपछि माधव नेपाल पक्षका कार्यकर्ताले भने लामालाई समर्थन गरेका छन् । संगठनमा माधव नेपाल पक्षका तीनजना सचिव तथा अन्य सदस्य छन् ।

नेपाल पक्षको समर्थनमा सचिव बनेका सुदेश पराजुलीले भने, ‘महासचिवले बोलाएको भेला अवैधानिक हो । महासचिवजस्तो व्यक्तिले यस्तो भेला बोलाउनु भनेको संगठनकै बदनाम गराउनु हो । महासचिवले पदीय मर्यादालाई ख्याल गर्न जानेनन् ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.