पहिरो आएपछि २५ घर विस्थापित 

पहिरो आएपछि २५ घर विस्थापित 

धादिङः गाउँमाथिबाट लगातार पहिरो झर्न थालेपछि उत्तरी धादिङको दार्खा गाउँ विकास समिति ८ धार्नामा रहेका २५ घरका परिवार विस्थापित भएका छन । आइतबार राति गाउँमाथिको डाँडो भास्सिएर पहिरो झरेपछि त्रासका कारण गाउँ नै विस्थापित भएको हो ।

लगातारको वर्षाका कारण झरेको पहिरो नरोकिएपछि जोखिममा रहेका परिवारलाई प्रहरीको सहयोगमा आइतबार बिहानै अन्यत्र सारिएको दार्खा प्रहरीले जनाएको छ । धार्ना गाउँबाट विस्थापित भएकालाई दार्खा गाउँ विकास समिति ८ कै लाङचेत गाउँमा ७५ जना र दार्खा ८ कै भोग्टेनी प्राथमिक विद्यालयमा २५ जनालाई राखिएको स्थानीय शमशेरबहादुर घलेले टेलिफोनमा जानकारी दिए ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि दार्खाकै अन्यत्र गाउँबाट विस्थापित भएर धार्नामा बस्दै आएकाहरू पनि आइतबार रातिको पहिरोका कारण फेरि विस्थापित भएका छन् । भूकम्पपछि बनाएको अस्थायी टहरा छाडेर विस्थापित हुनु परेपछि महिला, बालबालिका र वृद्धवृद्धाको बिजोग भएको छ ।

‘बर्खा मासकोबीचमा दैनिक पानी परिरहेको छ । भूकम्पपछि बनाएको टहरो पनि छोडेर खुला ठाउँमा आएर बस्नुपयो, न त्रिपाल छ, न अस्थायी शिविर बनाउने केही सामान नै छ’, स्थानीय घलेले भने, ‘भूकम्पपछि जसोतसो अस्थायी टहरा बनाएर गाउँमै बसिरहेका थियौँ, अहिले पहिरोले लखेट्यो । बालबालिका र बूढाबूढीलाई राख्न समस्या भएको छ ।’

पहिरोबाट विस्थापित भएकालाई राख्न स्थानीय युवा र प्रहरीको सक्रियतामा सोमबार पाँचवटा त्रिपाल गाडेर सामूहिक आवास बनाइए पनि थप तथा सामग्री नहुँदा समस्या भएको छ ।

विस्थापित भएकालाई सहयोग गर्न मंगलबार पनि दार्खा प्रहरीचौकीबाट प्रहरी परिचालन भए पनि शिविर बनाउने कुनै स्रोत साधन नहुँदा समस्या भएको छ ।

पहिरोका कारण गाउँ नै बगाउने जोखिम भएपछि त्यहाँबाट विस्थापित भएकाहरूलाई लाङचेतकै स्थानीयको तीन रोपनी खाली जग्गामा राख्ने तयारी भइरहेको दार्खाकै स्थानीय सानुकान्छा तामाङले बताए ।

पानी पर्नासाथ पहिरो झर्न सुरु हुने र गाउँभन्दा तल पनि पहिरो जान सुरु भएकाले पहिरोको अत्यन्तै जोखिम रहेका टोलका स्थानीयलाई प्रहरीकै अग्रसरतामा अन्यत्र सारिएको हो ।

भूकम्पले विस्थापित भएकाहरू पहिरोले फेरि विस्थापित
विस्थापितलाई खानभन्दा पनि बासको समस्या

गाउँको तलमाथि नै पहिरो जान थालेपछि धार्नाको सुरक्षित भनिएका टोलका स्थानीय पनि दिनभर खेतबारीमा काम गर्ने र राति नजिकैको सुरक्षित स्थलमा गएर बस्ने गरेको स्थानीय मरिचमान तामाङले बताए । पहिरोको जोखिम भएपछि विस्थापित भएकालाई खानेकुराको समस्या नभए पनि बस्न समस्या भएको छ । मरिचमानले भने, ‘पहिरोले घर नै बगाएको छैन । खानेकुरा त घरबाट झिकेर लैजान सकिन्छ तर एकैपटक धेरैजना गाउँ छाड्नुपर्दा बस्ने ठाउँको समस्या भएको छ ।’

सदरमुकाम धादिङबेसीबाट दुई दिनको पैदल दूरीमा रहेको दार्खा गाविसमा गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट पनि धेरै मानिस गाविसभित्रै विस्थापित भएका थिए । हिउँको समयमा दार्खामा गाडी पुगे पनि बर्खायामा यातायातका साधन प्रायः ठप्प नै हुने गरेको छ । सवारीसाधन नचल्दा पहिरोबाट विस्थापित भएकालाई त्रिपाल र शिविर बनाउन सामान पठाउन सकिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.