कञ्चनपुरमा एकै दिन खोलामा डुबेर तीन जनाको मृत्यु
भीमदत्तनगर: कञ्चनपुरमा एकै दिन पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले चौधर नदीमा नुहाउने क्रममा पुर्नवास नगरपालिका–५ का १५ वर्षीय सुनिल तामाङको मृत्यु भएको हो।
उनका अनुसार बेलौरी नगरपालिका–२ दिनापुरका ५५ वर्षीय जयलाल चौधरीको पनि स्थानीय नालीमा डुबेर मृत्यु भएको छ। स्थानीय शारदा इँटाभट्टाभित्र रहेका नालीमा डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी बेलौरी नगरपालिका–६ मोतिपुरका ६० वर्षीय सुक्लाल डगौराको पनि खोलामा डुबेर मृत्यु भएको प्रहरी प्रवक्ता कार्कीले बताए। मादक पदार्थ सेवन गरेका डगौरा खाल्डोमा लडेपछि डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ। प्रहरीले तीनै जनाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाएको जनाएको छ।