सोती बजारमा बुढीगण्डकी पसेपछि चार घर विस्थापित
गोरखाः लगातारको बर्षापछि बुढीगण्डकीको बाढी सोती बजारमा पसेपछि चार घर विस्थापित भएका छन् । बुढीगण्डकीको बाढी पसेपछि थुमी ७ को सोतीबजारका स्थानीयबासी विस्थापित भएका हुन् । उनीहरु बजारमाथिको खाली जग्गामा बसिरहेका छन्।
घरमै बुढीगण्डकी पसेपछि एबीसी होटल रहेको नेत्र भट्टको घर, ग्रीनभ्याली होटल रहेको चित्रबहादुर, कपडा पसल रहेको सोमबहादुर र आफै बसोबास गरिरहेको चन्दना अधिकारीको घर जोखिममा परेका छन् । उनीहरु सबै खुला क्षेत्रमा पाल टहरा बनाएर बसेको स्थानीय सपना गुरुङले जानकारी दिइन।
फूलबारी होटल रहेको उनको घरको पछाडि रहेको बङ्गुरको खोर, कुखुराको खोर पनि गण्डकीले बढारेर लगेको गुरुङले बताइन् । नजिकै गण्डकी आएकाले स्थानीय २५-३० घरका बासिन्दाले पनि घर छाडेर जङ्गलको खालि जग्गामा बुधबारको रात बिताएका थिए। ‘राती नौ १० बजे अचानक गण्डकी बजारमा पसेपछि सामान ओसार्ने, यता र उता गर्ने गरेरै रात बित्यो’ सपनाले भनिन्, ‘सपना भइदिए हुन्थ्यो भनेको बिहान हुँदा पनि बिपनै रहेछ । अब कहाँ जाने, कहाँ बस्ने ?’ घरै नबगाए पनि नजिकै गण्डकी आएपछि बाँकी घरका बासिन्दालाई पनि छोड्नु न बस्नु भएको उनले बताइन् ।
बाढीबाट विस्थापित हुँदा समेत जिल्ला प्रशासनले नहेरेको उनको गुनासो छ । ‘हाम्रो बिजोक हेर्न कोही आएका छैनन्’ उनले भनिन् ‘बिहान एकछिन तीन जना प्रहरी आएका थिए । गए । त्यति हो ।’
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने सोतीको क्षति बारे बुझ्न प्रहरी पठाइसकेको जनाएका छन् । भट्टले बाटोको पहिरो हटाउन डोजर पठाएको पनि बताए ।