महसुल नतिर्नेको लाइन काट्न निर्देशन

महसुल नतिर्नेको लाइन काट्न निर्देशन

काठमाडौंः नवनियुक्त ऊर्जामन्त्री जनार्दन शर्माले तीन दिनभित्र महसुल नतिर्ने ठूला ग्राहकको लाइन काट्न विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सार्वजनिक रूपमै निर्देशन दिएका छन् ।

प्राधिकरणको ३१ औं वार्षिकोत्सवमा बुधबार आयोजित कार्यक्रममा ऊर्जामन्त्री शर्माले कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई निर्देशन दिँदै भने, ‘म आफैं गएर लाइन काट्दा सस्तो लोकप्रियतामात्र हुन्छ । त्यसैले क्रियाशील ट्रेड युनियनका पदाधिकारीलाई समेत लिएर तपाईं आपैंm गई पैसा नतिर्नेका लाइन काट्नोस् ।’

प्राधिकरणले वार्षिकोत्सवको अवसर पारेर बुधबारै प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा गत असार मसान्तसम्म महसुल बक्यौता १० अर्ब ५४ करोड रुपैयाँ रहेको उल्लेख छ । यो रकम प्राधिकरणको एक सय २२ दिनको विद्युत् बिक्रीसरह हो । उठ्न बाँकी कुल रकममा नगरपालिका तथा गाविसहरूको सडक बत्तीबापत मात्रै तीन अर्ब ३९ करोड रुपैयाँ छ । प्राधिकरण र सडक बत्ती बाल्ने स्थानीय निकायबीच महसुल भुक्तानीबारे लामो समयदेखि विवाद चल्दै आएको छ ।

प्राधिकरणले गत वर्ष पाँच महिना तराईमा चलेको आन्दोलनका कारण बक्यौता उठ्न नसकेको जनाएको छ । यसअघि विद्युत् महसुल बक्यौता नतिरेका ठूला ग्राहकको लाइन काटेर तत्कालीन ऊर्जामन्त्री गोकर्ण बिष्ट चर्चामा आएका थिए ।

भाषणका क्रममा निकै आक्रामक देखिएका ऊर्जामन्त्री शर्माले प्राधिकरणले ट्रान्सफर्मर र मिटर खरिद नगरेकोप्रति रुष्ट हुँदै सम्बन्धित जिम्मेवार कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए । ‘ट्रान्सफर्मर र मिटर किन खरिद नगरेको ? छैन भने किन टेन्डर नगरेको ? पैसा छैन भने मन्त्रालय (ऊर्जा) लाई किन नभनेको ? ’ शर्माले भने, ‘म कारबाही गर्छु । ट्रान्सफर्मरको टेन्डर किन नगरेको ? ट्रान्सफर्मरभित्र आल्मुनियमको साटो तामाको तार हुनुपर्छ । अख्तियारले केही गरे म त्यसको जिम्मेवारी लिन्छु ।’

कर्मचारीको सेवासुविधा बढाई लोकप्रिय हुन पनि मन्त्री शर्मा चुकेनन् । उनले आपूmले जिम्मेवारी समालेलगत्तै कर्मचारीको वृत्ति विकासका लागि महत्वपूर्ण निर्णय गरेको भन्दै आगामी सात दिनभित्र ट्रेड युनियनका माग पेस गर्न प्राधिकरण अध्यक्ष एवं ऊर्जासचिव सुमनप्रसाद शर्मालाई भाषणकै क्रममा निर्देशन दिए । ‘म तपाईं (कर्मचारी) लाई आतंकित पार्न होइन, प्रेरित गर्न आएको छु । सेवासुविधा वृद्धि गर्न आएको छु’, शर्माले भने, ‘तर सरुवा गर्दा पैसा खाने ट्रेड युनियनका पदाधिकारीलाई छाड्दिनँ ।’

आले विगतको ‘जनयुद्ध काल’ मा ३५ हजार फौजको नेतृत्व समालेको उल्लेख गर्दै तत्कालीन माओवादीको डेपुटी कमान्डरसमेत रहेका शर्माले प्राधिकरणका ११ हजार कर्मचारीलाई सजिलै परिचालन गर्नसक्ने पनि बताए ।

आफ्नो कार्यकालमा प्राधिकरणलाई नाफामूलक बनाएरै छाड्ने र यसमा हुने भ्रष्टाचारजन्य गतिविधिमा आफ्नो ध्यान केन्द्रित गर्ने उद्घोष पनि शर्माले गरे । उनले प्राधिकरणले सञ्चालन गरेका सबै आयोजनाका प्रमुखलाई प्रत्येक दिन आयोजना प्रगतिसम्बन्धी प्रतिवेदन आफूसमक्ष पेस गर्न निर्देशन दिए ।

‘समयमै र निर्धारित लागतमा आयोजना बनेन भने लागत अनुमान गर्ने र कार्यान्वयन गर्ने आयोजना प्रमुखलाई कारबाही गर्छु’, उनले भने, ‘कामको जिम्मेवारी लिनुपर्छ । तपाईंहरूले गरेको कामको अनुगमन म परियोजनामै गएर गर्नेछु ।’

प्राधिकरण अध्यक्ष एवं ऊर्जासचिव शर्माले प्राधिकरणसित विगतमा निर्दिष्ट लक्ष्य र गन्तव्य नभएका कारण ऊर्जा क्षेत्रको विकास हुन नसकेकाले सरकारले ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक’ सम्बन्धी कार्ययोजना तयार पारेको बताए ।

‘मन्त्रिपरिषद्ले समेत पारित गरिसकेको यो कार्ययोजना लागू भएपछि प्राधिकरणको सुधार र क्षमता वृद्धि हुनेछ’, सचिव शर्माले भने । प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले गत वर्ष बिजुली बिक्री गर्दा प्राधिकरणलाई ११ अर्ब ७९ करोड रुपैयाँ घाटा भएको प्रतिवेदन पेस गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.