धेरै अधिकृतको रोजाइ सीडीओ

धेरै अधिकृतको रोजाइ सीडीओ

काठमाडौं: सामान्य प्रशासन मन्त्रालयले एक महिनाअगाडि ७५ जना शाखा अधिकृतलाई गृह मन्त्रालय मातहतमा पोस्टिङ गर्‌यो । उनीहरूलाई कार्यालय छनोट गर्ने मौकासमेत दिइयो । सबैको इच्छा काठमाडौंमै देखिएपछि मन्त्रालयको मानव स्रोत व्यवस्थापन महाशाखाका कर्मचारी अचम्ममा परे ।

अधिकांश शाखा अधिकृतले एयरपोर्ट, अध्यागमन, सीडीओ कार्यालय र सकेसम्म गृहमै बस्ने चाहना राखेपछि उनीहरूलाई प्रश्न सोधियो, 'काठमाडौंमै किन ? ' उनीहरूको जबाफ थियो, 'पढ्नुपर्छ, काठमाडौंमै पोस्टिङ भयो भने सजिलो हुन्छ ।'

सरकारी जागिर खाएपछि जहाँ खटायो त्यहाँ जानुपर्ने हुन्छ, तपाईंहरूलाई थाहा छैन भनेपछि ती अधिकृतहरूले ठाउँ रोजे । सामान्यले पठाएको ७५ जनामध्ये पाँचजना शाखा अधिकृतहरुले पुनः सामान्यमै पुगेर गृह मातहत बस्न नचाहने भन्दै अयन्त्रै पोस्टिङ रोजे ।

नागरिकता र अन्य प्रशासनिक काममा सजिलोका लागि अहिले ७२ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापित छन् । शाखा अधिकृतहरूलाई पोस्टिङ छान्न लगाउँदा मुगु, हुम्ला, डोल्पा, डलेल्धुराको जोगबुढा, बैतडीको पुर्चौंडी, अछामको विनायक, दैलेखको दल्लु, ओखलढुंगाको फलौटे, खोटाङको ऐसेलुखर्क, सोलुखुम्बुको सोताङबजार, रौतहटको गुरुडालगायत २२ वटा इलाका प्रशासन कार्यालयसमेत समावेश गरिएको थियो । तर यी ठाउँ कसैले रोजेन ।

कारागार र सीमा प्रशासनमा समेत उनीहरूको चासो नदेखिएको गृहका एक सहसचिवले बताए । उनका अनुसार शाखा अधिकृत लक्ष्मी कार्कीको दरबन्दी दाङ जिल्ला प्रशासनमा थियो । दुई वर्ष नभई अर्को अञ्चलमा सरुवा हुन नपाउने प्रावधान मिच्दै उनी गृहमै बसिन् । लामो समयसम्म दरबन्दी भएको ठाउँमा नगएपछि गृहले खोजतलास गर्दा कार्की पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको सचिवालयमा पुगेको रहस्य खुल्यो ।

'गृहमा सरुवा हुन खोज्ने उपसचिव र सहसचिवमध्ये ८० प्रतिशतको सीडीओमै जाने इच्छा र त्यसभन्दा तलकालाई काठमाडौंमै बस्ने इच्छा भएपछि काम कसरी गर्न सकिन्छ ? ', गृहका एक उच्च अधिकृतले भने । दुई महिनादेखि ललितपुरको सहायक सीडीओबाट फिर्ता भएका होमनाथ थपलिया, गुल्मीको कामु सीडीओबाट फिर्ता भएका प्रदीपराज कँडेल र काठमाडौंको सहायक सीडीओबाट फिर्ता भएका शरदकुमार पोखरेल गृहमै हाजिर गरिरहेका छन् । उनीहरूलाई सहायक सीडीओमा सरुवा गर्न खोज्दा नमानेको र बरु गृहमै बस्छु भनेपछि पोस्टिङ गर्न नसकिएको गृहका एक उच्च अधिकृतले बताए ।

एक महिनाअघि रुकुमका सहायक सीडीओ नीलम न्यौपानेको काममा धेरै गुनासो आएपछि उनलाई गृहमा झिकाएर सोधपुछ गरिएको थियो । उनले उल्टो गृहका हाकिमलाई धन्यवाद दिए । 'सर हजुरलाई धेरै धन्यवाद मैले एउटा महाकाव्य लेखें', भनेर जबाफ दिएपछि गृहका एक सहसचिव छक्क परे । न्यौपानेलाई गृहले महाकाव्य लेख्न पठाएको थिएन, सरकारी काम गर्न पठाएको थियो ।

दुई वर्षअघि एयरपोर्ट अध्यागमनमा जान नरुचाएका गृहअन्तर्गतका कर्मचारीहरू अहिले धमाधम सरुवा भएका छन् । नयाँ आएका शाखा अधिकृतमध्ये २८ जना विभिन्न शक्तिकेन्द्र धाएर अध्यागमनमा पोस्टिङ भएका छन् ।

गृहमन्त्री परिवर्तन हुनेबित्तिकै कर्मचारी व्यवस्थापन महाशाखाका कर्मचारी पहिलो 'टार्गेट' मा पर्छन् । गृहमन्त्रीमा विमलेन्द्र निधि आएपछि उक्त महाशाखामा दुई नयाँ कर्मचारी आए र दुई सरुवा भइसके । तर त्यो जानकारी समान्यले गृहलाई दिएको छैन ।

शाखा अधिकृत लीला न्यौपाने परिवर्तन भएपछि उनको स्थानमा प्रदीप राई आएका छन् । नायब सुब्बा गोविन्द भण्डारी सरुवा भएर उनको ठाउँमा उपेन्द्र साह आइसके । ' कर्मचारीको सरुवा व्यवस्थापन गरिरहेका बेला काम गरिरहेका कर्मचारी सरुवा भएर नयाँ ल्याएपछि कसरी काम गर्न सकिन्छ ? कम्तीमा एउटा जिम्मेवारी राम्रोसँग पूरा गरेपछि सरुवा भए हुन्थ्यो नि', गृहका एक अधिकृतले भने, 'अहिले को कहाँ काज र दरबन्दीमा छन् हेर्नपर्‌यो भने पत्ता लगाउन गाह्रो छ ।'

गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले कर्मचारीमा छाडापन देखिएको स्वीकारे । उनले भने, 'कर्मचारीको सुरुको स्कुलिङ नै गलत छ, दुईचार वर्ष जागिर खाएका हुँदैनन्, माथि पुग्ने इच्छा, राम्रै ठाउँ चाहिने देखिन्छ । जनताको काम गर्न भनेर सरकारी जागिर खाने अनि खटाएको स्थानमा नजाने बेथितिले असर गरेको छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.