पत्नीको हत्यापछि आत्महत्या प्रयास
![पत्नीको हत्यापछि आत्महत्या प्रयास](https://annapurnapost.prixacdn.net/media/albums/Hatya-57b5207ee101a3.72473107_yOoFUbCD3A.jpg)
पोखराः पत्नीको हत्यापछि आत्महत्या प्रयास गरेका सञ्जीवबहादुर नेपालीको पनि मृत्यु भएको छ । पोखरा–८ चालिसे चोकमा बुधबार खुकुरी प्रहार गरी नेपालीले पत्नी सोनम रेग्मीको हत्या गरेका थिए । साँझ ५ बजे पत्नीको हत्या गरेपछि विष सेवन गरेका नेपालीको उपचारकाका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको कास्की प्रहरीले पुष्टि गरेको छ ।
स्याङ्जा पौवेगौंगे घर भएकी रेग्मी र स्याङ्जाकै किचनास घर भएका नेपालीबीचको सम्बन्ध विच्छेदको मुद्दा अदालतमा चलिरहेको छ । चालिसे चोकमा भाडामा बस्दै आएकी रेग्मीलाई कोठा बाहिर गेटनजिक नेपालीले खुकुरी प्रहार गरेको स्थानीयले जनाएका छन् ।
मार्ने प्रयास एकपटकमा सफल नहुँदा उनले निर्मम प्रहार गरेको पनि स्थानीयले बताएका छन् । स्थानीयले उक्त घटनाको मेसो पाएलगत्तै प्रहरीलाई खबर गरेका थिए । नेपालीले लगत्तै विष सेवन गरेकाले उपचारका लागि प्रहरीले गण्डकी मेडिकल कलेज लगेको थियो । तर, अस्पतालमै उनको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)