ट्राफिक कारबाही ३.७१ प्रतिशतले कमी

ट्राफिक कारबाही ३.७१ प्रतिशतले कमी

काठमाडौंः ट्राफिक प्रहरीले गर्दै आएको कारबाहीमा ३.७१ प्रतिशत कमी आएको छ । सवारीचालकमा आएको चेतनाका कारण कारबाही दर घटेको हो ।

महानगरीय ट्राफिक महाशाखाले दुई आर्थिक वर्षमा उपत्यकामा भएका कारबाहीको विवरण विश्लेषण गर्दा यस्तो तथ्य फेला परेको हो । महाशाखाका अनुसार आर्थिक वर्ष २०७१/२०७२ मा पाँच लाख ६९ हजार आठ सय नौजना कारबाहीमा परेका थिए ।

२०७२/२०७३ मा घटेर पाँच लाख ४८ हजार चार सय ७० जनामात्रै कारबाहीमा परेको महाशाखाको अभिलेखमा उल्लेख छ । मदिरा सेवन गरेर सवारी हाँक्ने चालकमाथिको कारबाहीका १९ प्रतिशतले कमी आएको छ । आथिर्क वर्ष २०७१/२०७२ मा ३६ हजार ६५ जना कारबाहीमा परेकोमा २०७२/२०७३ मा ६ हजार आठ सय ६२ ले घटेर २९ हजार दुई सय तीनजना कारबाहीमा परेका थिए ।

महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्याल भन्छन्, ‘ट्राफिक प्रहरी अल्छी भएर कारबाही कम भएको होइन । चालकमै चेतना अभिवृद्धि भएको हो । पटकपटक कारबाहीमा परेपछि चालक सचेत भएर सवारी हाँकेपछि ट्राफिकले कारबाही गर्ने कुरै आउँदैन ।’

महाशाखाले आव २०७२/२०७३ मा ९१ हजार ६ सय ६९ जनालाई चेतना अभिवृद्धि गराएको छ । जसमा २८ हजार पाँच सय एकजनालाई मापसे गरेकालाई सचेतना, ११ हजार नौ सय ४६ जना विद्यार्थी, ४६ हजार दुई सय ८९ जना लेन अनुशासनमा कारबाही परेका चालक, एक हजार सात सय ४७ जना विभिन्न संघसंस्थाका प्रतिनिधि, दुई हजार एक सय १३ जना चालक र सहचालकलाई चेतनामूलक कक्षा लिएको छ ।

अर्यालले ट्राफिक प्रहरीले प्रविधिमार्फत कारबाही अभियान तीव्र बनाउँदासमेत कारबाही संख्या घटेको बताए । उनले भने, ‘गत चैतदेखि सुरु गरेको गोप्रो क्यामेराका माध्यमबाट मात्रै पाँच हजार नौ सय १२ जना, सीसीटीभीको प्रयोगबाट नौ हजार चार सय ६४ जना, सादा पोसाकका प्रहरीबाट एक हजार दुई सय ९४ र बुलेट मोटरसाइकलमा ट्राफिक प्रहरीले चलाएको कारबाही अभियानअन्तर्गत १० हजार ३६ जना कारबाहीमा परेका छन् । कारबाही रोकिएको होइन चालकमा चेतना आएको हामीले बुझ्यौं ।’

ट्राफिक प्रहरीले राजस्व र प्रोत्साहन भत्ताको लोभमा बढी कारबाही गर्दै आएको आरोपप्रति डीआईजी आर्यालले खण्डन गरेका छन् । उनले भने, ‘ट्राफिकको काम राजस्व उठाउने होइन, सडकमा सवारी व्यवस्थापन र चालकलाई सडक अनुशासन सिकाउने हो, नियम मिच्नेलाई कारबाही गर्ने हो । प्रोत्साहन भत्ता ट्राफिकले मागेको होइन सरकारले आफैं मूल्यांकन गरेर दिएको हो ।’

ट्राफिक नियम पाठ्यपुस्तकमा समेट्न माग

ट्राफिक नियम तथा सडक प्रयोगसम्बन्धी जानकारी पाठ्यपुस्तकमै व्यवस्था गर्न माग गरिएको छ । भक्तपुर ट्रक व्यवसायी संघद्वारा मंगलबार आयोजित ट्राफिक नियम र सवारीसाधनको प्राविधिक ज्ञानसम्बन्धी प्रशिक्षण कार्यक्रमका सहभागीले उक्त माग गरेका हुन् ।

प्रशिक्षण उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले आफ्नो पार्टीले डेढ दशकअघि नै ट्राफिक नियम तथा सडक प्रयोगसम्बन्धी जानकारी पाठ्यपुस्तकमा व्यवस्था गर्न माग गरेको जानकारी दिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले पनि ट्राफिक नियम र सडक प्रयोगबारे जानकारी पाठ्यपुस्तकमै व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख किरण बज्राचार्य, डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख देवेन्द्र साह, सैनिक आवासीय महाविद्यालयका सहप्राचार्य राजकुमार माथेमा, भक्तपुर ट्रक व्यवसायी संघका पूर्वअध्यक्ष नवीन प्रजापतिले ट्राफिक नियम तथा सडक प्रयोगबारे पाठ्यपुस्तकमै व्यवस्था हुनुपर्ने धारणा राखे । कार्यक्रममा २०७२ सालमा कुनै सडक दुर्घटना नगराएका उत्कृष्ट १० चालकलाई सम्मान गरिएको छ ।

यसरी सम्मान पाउने चालकमा कृष्ण चौगुठी, हरिगोपाल भेले, सत्यनारायण सुवाल, रामेश्वर बुढाथोकी, रोशन धुख्वा, सुनिल राजचल, हरिप्रसाद बोहजू, पाल्साङ तामाङ, उकेश गोसाईं र सुनिल लवजू छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.