उर्वर भूमि कमला र मरिणको कटानमा

उर्वर भूमि कमला र मरिणको कटानमा

सिन्धुलीः चुरे विनाससँगै बर्सेनि आउने खहरेका कारण जिल्लाको कमलाखोंच र मरिण क्षेत्रका हजारौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । चुरे क्षेत्रमा बर्सेनि हुने बनविनाश तथा चुरे उत्खननले बर्सात्को समयमा त्यस क्षेत्रबाट आउने खहरेसहितको कमला र मरिण नदीको कटानले गर्दा उर्वर भूमि बगरमा परिणत बन्दै गएको हो ।

कहिले बन कार्यालयले नै गर्ने काठ निकासी त कहिले सुकुमबासीका नाममा हुने चुरे अतिक्रमणकै कारण खहरे खोला बढी खेतीयोग्य जमिन कटानमा पर्न थालेको कमलामाई नगरपालिका १० का चुरेपीडित जंगबहादुर सहासंकर बताउँछन् ।

कमलाको कटानका कारण आफ्नो भएको ५ कट्ठा खेत पनि बगरमा परिणत भएको उनको भनाइ छ । ‘बर्सेनि कमला नदीले खेतीयोग्य जमिन कटान गर्छ’, उनले भने, ‘माथिबाट बगेर आउने चुरेको खहरेले पनि उत्तिकै पु¥यो । कमलाले पनि कटान गर्‍यो । अहिले त उही लालपुर्जा मात्रै छ । सात वर्षको अवधिमै चुरेले सुकुमबासी बनायो ।’

उनका अनुसार कमलामाई नगरपालिका ३ माईस्थानदेखि १८ नम्बर वडाका साथै रानीबास, निपाने, हर्षाही, टाँडी, हतपते, सिर्थौली, दुधौली, लदाभिरलगायत गाविसका सयौं परिवारको हजारौं बिघा खेतीयोग्य जमिन बर्सेनि कमलाले कटान गर्दै आएको छ ।

नेपालमै सबैभन्दा बढी सिन्धुली जिल्लाअन्तर्गत चुरे क्षेत्र पर्ने तथ्यांकमा उल्लेख छ । चुरेकै कारण मरिण क्षेत्रका कल्पवृक्ष, कपिलाकोट, क्यानेश्वर, डाडीगुराँसे, माहादेवस्थानलगायत एक दर्जनभन्दा बढी गाविसका किसान पनि यस्तै समस्यामा छन् । त्यस क्षेत्रमा मात्र झन्डै पाँच हजार बिघा खेतीयोग्य जमिन कटान भइसकेको छ । ‘बर्सेनि मरिण नदी र चुरेबाट आउने खहरेले बगाउँदा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ’, कपिलाकोटका शिक्षक अमृत तामाङले भने ।

‘बन अतिक्रमण र चोरी निकासीले उजाड बन्दै गएको चुरे बर्सात्को समयमा पाखै बगेर आउने खहरेको भेलले उर्बर जमिन बगरमा परिणत हुँदै गएको छ’, अर्का कमला नदीपीडित रानीबासका सकला धामीले भने, ‘खहरे नियन्त्रण हुन नसके उर्बर जमिन केही वर्षमै बगर बन्दा यहाँका सयौं जमिनदार सुकुमबासी बन्ने अवस्था छ ।’

‘चुरे जंगलको विनाशले नै बर्सेनि नयाँ खहरे जन्मिने गरेका छन्’, उनले थपे, ‘चुरे जंगलबाट निस्किने खहरेका कारण बर्सात्को मौसममा चुरेआसपासमा बसोबास गर्ने बढी पीडित हँदै आएका छन् ।’ कमलाखोंज क्षेत्रमा मात्रै सानाठूला गरी एक सयभन्दा बढी खहरे चुरे जंगलबाट निस्किएका छन् ।

चुरे जंगलबाट निस्किने खहरेले दस हजार बिघाभन्दा बढी उर्वर जमिन बगरमा परिणत गराइसकेको स्थानीय किसान बताउँछन् । हत्पते गाविसका रेखराज दाहालका अनुसार अहिलेसम्म कमला तथा मरिण नदी र चुरेको खहरे खोलाले यस क्षेत्रमा कति उर्वर जमिन कटान ग¥यो भन्ने एकिन तथ्यांक नभए पनि दस हजार बिघा जमिन कटान गरिसकेको अनुमान छ ।

‘यहाँ २०४१ सालदेखि कमला र चुरेको प्रकोप बढेको छ’, दाहालले भने, ‘लालपुर्जामा अहिले पनि सयौं बिघा जमिन छ तर उपभोगका लागि हेर्दा सबै बगरमा परिणत भएको छ’, उनले भने ।

मरिण नदीले पनि जिल्लाको अमले गाविसदेखि, कपिलाकोट, कल्पवृक्ष हुँदै त्यसतलका झन्डै एक दर्जन गाविसका सर्वसाधारण चुरेको चपेटामा छन् । कुनै जमानाका जमिनदारसमेत अहिले खहरेका कारण सुकुमबासी बन्दै गएपछि लालपुर्जामा भएको सयौं बिघा जमिनको तिरो तिर्नसमेत छाडेको पीडितहरू बताउँछन् ।

जिल्लामा चुरे जंगलको क्षेत्रफल एक लाख १२ हजार ६ सय ३१ हेक्टर रहेको जिल्ला बन कार्यालयको एक तथ्यांकले देखाएको छ । त्यसमध्ये एक लाख हेक्टर जंगल सरकारी स्वामित्वमा रहेको र बाँकी समुदायलाई हस्तान्तरण भइसकेको छ । चुरे जंगलको तल्लो फाँटको तीन हजार ३ सय ८३ हेक्टर बन पूर्ण रूपमा नष्ट भइसकेको बन कार्यालयको तथ्यांकमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.