आतंकवाद हुर्काउँदै पाकिस्तानः बंगलादेश
नयाँदिल्लीः बंगलादेशका सूचना एवं प्रसारणमन्त्री हसनुल हक इनुले पाकिस्तानले आतंकवादलाई संरक्षण गरेको बताएका छन् । उनले यसबारेमा आफूसँग पर्याप्त प्रमाण रहेको दाबी गरेका छन् ।
मन्त्री हसनुल हक इनुले बुधबार भने, ‘आतंकवादका विषयमा पाकिस्तानको रेकर्ड निकै खराब छ । कयौं वर्षदेखि यसमा कुनै परिवर्तन आएको छैन ।’ पाकिस्तान आतंकवादको थलो बनेको र यसलाई पुष्टि गर्ने आधार आफूहरूसँग भएको उनले स्पष्ट पारेका छन् ।
हसनुल हक हमल भारत भ्रमणमा रहेका छन् । उनले बुधबार भारतीय समकक्ष वेंकैया नायडुसँग छलफल गरेका थिए । भारत र बंगलादेश मिलेर आतंकवादविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसका लागि दुवै देश सूचना आदान-प्रदान गर्ने विषयमा सहमत भएका छन् । दुई देशबीच सूचना समन्वय गर्न सके अपराध न्यूनीकरण गर्न सक्ने उनीहरूको भनाइ छ ।
मन्त्री हसनुलले भने, ‘आवश्यक सूचना आदान प्रदान गर्न सके अफवाह र गलत सूचना सम्प्रेषणमा रोक लाग्ने छ । यसबाट आतंकवाद विरोधी लडाइँमा सहयोग पुग्ने छ ।’
बैठकमा भारतीय मन्त्री नायडुले आतंकवादसँग लड्न सूचना सम्प्रेषण आवश्यक रहेको बताए । भारत र बंगलादेश दुवै आतंकवादसँग संघर्ष गरिरहेकाले मिलेर जानुपर्नेमा उनीहरूले जोड दिएका थिए ।