प्रयोगशाला र कामरेडहरू

प्रयोगशाला र कामरेडहरू

पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेतृत्व गरेको नेपाल सरकारलाई माओवादीको सरकार पनि भन्ने गरिएको छ । जुन परिवेश र पृष्ठभूमिमा प्रचण्डको नेतृत्वमा सरकार बन्यो, त्यसको थप विवरण आवश्यक छैन । प्रचण्ड-बाबुरामले आर्जन गरेका काला दागहरूसित सबै माओवादीलाई जोडेर निष्कर्ष निकालिन्छ र सही र इमानदार माओवादीहरू विकृति र विसंगतिविरुद्ध लडिरहेका छन् भन्ने कुरा ओझेलमा पर्छ ।

माओवादका विरोधीहरू संसद्वादी 'माओवादीहरू' लाई मोडरेट भनेर फुक्र्याइरहेका हुन्छन् र उता क्रान्तिकारी तप्काभित्र पनि अनेक किसिमले चलखेल गरिरहेका हुन्छन् । अनि सुरु हुन्छ लालझन्डाविरुद्ध लालझन्डाको प्रयोग । अन्ततः बदनाम हुने भनेको माओवादी पदावली र माओवादी आन्दोलन नै हो ।

नैतिक बलको अभाव र आत्मग्लानिले भरिएको प्रचण्डको कान्तिहीन अनुहारले सबै कुरा खुलस्त पार्छ । तर उनमा बाबुरामको जति पनि इमानदारी देखिएन । अब यो माओवादी पदावलीको थप बद्नाम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालसित मेरो विनम्र अनुरोध छ । प्रचण्डलाई बधाई दिन कमरेड किरण प्रधानमन्त्री कार्यालय जानुभएको भन्ने समाचार सुनियो ।

कमरेड किरणले माओवादी नाम परित्याग गर्न प्रचण्डलाई अनुरोध गर्नुभएको भए त्यो भेटघाट साँच्चिकै सार्थक हुन्थ्यो ।यतिखेर नेपालको माओवादी आन्दोलन लालझन्डाविरुद्ध लालझन्डाको प्रयोगशाला बनेको छ एकातिर प्रचण्डले लिएको बाटो नै सही बाटो हो, त्यही नै सबथोक हो र त्यहाँ सबै कुरा पाइन्छको वातारण तयार पारी माओवादी आन्दोलनमा विद्यमान क्रान्तिकारी धारलाई सिध्याउन भित्र र बाहिरबाट परिपञ्च मिलाउन थालिएको छ, अनि अर्कोतिर माओवादी आन्दोलन भनेको भारतीय र पश्चिमा शक्तिहरूले चलाएको आन्दोलन हो भनेर सूचना भूमण्डलीकरणमार्फत जनतामाझ निरन्तर भ्रम फिँजाइएको छ ।

पात्रहरूमा रहेका कमजोरी तथा खास घटना र सन्दर्भलाई समातेर सिंगो माओवादी आन्दोलनविरुद्ध जनमत तयार पार्न लागिएको छ । वर्गसंघर्ष र जनताको मोर्चाबाट माओवादी आन्दोलनलाई पर धकेल्ने तारतम्य मिलाइँदैछ भन्ने प्रस्ट छ ।
जुनसुकै धर्म होस्, धर्म अफिम नै हो भन्नेमा विवाद छैन । कम्युनिस्टहरू धर्म निरपेक्षताको पक्षमा हुन्छन्, जनतामाथि यसका नाममा बलजफ्ती गर्नु उचित ठान्दैनन् ।

एकातिर धर्मले आवेग उत्पन्न गर्छ÷गराउँछ, अर्कोतिर जे छ सबै ठीक छ भनेर मान्छेलाई जीवन र जगत्बाट निस्पृह पारेर सामाजिक सरोकारबाट विमुख तुल्याउँछ । कम्युनिस्टले विरोध गर्ने भनेको धर्मका नाममा गरिने शोषण, विग्रह, वितण्डा, विद्वेष र विखण्डन हो । यतिखेर आफूलाई राजावादी, हिन्दुवादी अझ राष्ट्रवादी भन्ने एकथरीहरू, नरेन्द्र मोदीले ज्ञानेन्द्रलाई सिंहासनमा राखिदिऊन् र हिन्दुवादी मुलुकको घोषणा गरिदिऊन् भनेर चोबीसै घन्टा माध्यममार्फत 'पूजापाठ' गरिरहेका छन् ।

यस कामको लागि उनीहरूले सबैभन्दा बढी माओवादीहरूलाई बाधक देखेका छन् । यसको लागि उनीहरू एकसूत्रीय नारासहित सिंगो माओवादी आन्दोलन, दसबर्से जनयुद्ध क्रिस्चियन मिसिनरीको योजनामा चलेको, यसको लागि माओवादीले यति करोड र उति करोड लिएको जस्ता कुतर्क गर्दै योजनाबद्ध किसिमले माओवादीहरूविरुद्ध जनतामा भ्रम फिँजाइरहेका छन् ।

अर्थात् उनीहरू भारतीय उत्पीडित जनतामाथि आतंक मच्चाइरहेको संस्था आरएसएसको नेपाली भूमिका खेलिरहेका छन् ।
सत्य हो, पछिल्ला दिनमा नेपालमा क्रिस्चियन धर्म र यसका अवाञ्छित गतिविधिको विस्तार भएको छ, अनेक प्रलोभनमार्फत क्रिस्चियन धर्मको विस्तार गरिन थालिएको छ । आफूलाई मन परेको धर्म र संस्कृति अवलम्बन गर्ने कुरामा विवाद नभए पनि यसका नाममा गरिने अवाञ्च्छित गतिविधि मान्य छैन र हुँदैन ।

यसलाई त राज्यले नीतिनियम बनाएर व्यवस्थित गर्ने हो । साम्राज्यवादी योजनाबद्धतालाई एकातिर पन्छाएर एकथरी मान्छेहरू निरन्तर माओवादी आन्दोलनलाई जसरी बद्नाम गरिरहेका छन्, यसले थुप्रै प्रश्न उठ्नु÷उठाउनु स्वाभाविक छ । नेपाली जनयुद्धप्रति प्रचण्ड-बाबुरामले गद्दारी गरेकै हुन् र बादलहरूले आन्दोलनलाई धोका दिएकै हुन् । यसको वैचारिक चिरफार गर्ने कुरामा विवाद छैन ।

तर जसरी सिंगो जनयुद्ध र माओवादी आन्दोलनलाई बद्नाम गर्न क्रिस्चियन अभियानसित जोडेर कथाकुथुङ्ग्री बुनिएको छ, यो भ्रत्र्सनायोग्य छ । विडम्बनाको विषय के छ भने आफूलाई विश्वकै सबैभन्दा खाँटी क्रान्तिकारी भन्ने विप्लव माओवादी समूहसित सम्बद्ध एउटा अनलाइन नै प्रचण्डको विरोध गर्ने नाममा सिंगो जनयुद्ध र माओवादी आन्दोलनविरुद्ध कथिएका यस्ता कथाकुथुङ्ग्रीलाई, जागिर नै खाए झैँ गरी गौरवका साथ प्रचारित गरिरहेको छ । यसैलाई भन्छन् लालझन्डाविरुद्ध लालझन्डाको प्रयोग । जानीनजानी उनीहरू साम्राज्यवादी योजनाको अंग बनेका छन् ।

लालझन्डाविरुद्ध लालझन्डाको प्रयोग साम्राज्यवादको पछिल्लो योजना हो । खास गरेर भियतनाम युद्धमा अमेरिकी पराजयपछि उनीहरूले यसलाई व्यवहारमा प्रयोग गरे । स्टालिनको मृत्यु र युरो-कम्युनिज्मको नारा र माओको मृत्युपछि उत्पन्न संकटले यस परियोजनालाई सहयोग पर्‌यायो ।

नवउदारवादी योजनाबद्धताका साथै सूचनाविभ्रम, वित्तीय पुँजीको भूमण्डलीकरण, सैन्य फासीवाद र लालझन्डाविरुद्ध लालझन्डाको प्रयोगमार्फत कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने र साम्राज्यवादलाई ऊर्जा दिने योजनाको थालनी गरियो । आईएनजीओको भूमिकालाई पनि नयाँ किसिमले सक्रिय बनाइयो ।

यसैक्रममा आयो 'उत्तर' अवधारणा । सन् असीको दसकमा 'कम्युनिस्ट आन्दोलन भनेको प्रगतिको महाख्यान हो' र यसको अन्त्य भयो भनेर ल्योतार्डले यस किसिमको धारणा अघि सारे । कम्युनिस्ट आन्दोलनविरुद्ध हामी जति सशक्तता लड्नुमा नै हाम्रो विजय निश्चित छ भनियो । 'उत्तरवाद' लाई समामाजिक जीवनको हरेक क्षेत्रमा लागू गरियो ।

अनि उत्तरआधुनिकतावाद, उत्तरसंरचनावाद, उत्तरमाक्र्सवाद, उत्तरऔपनिवेशिकतावाद र उत्तरसाम्राज्यवादजस्ता थरीथरीका 'उत्तरवादी' धारणा देखा परे । उत्तर सिद्धान्तको आधार नित्सेको शून्यवादी दर्शन हो र यसको सारतत्त्व 'सबै कुराको अन्त्य' भयो भन्ने हो । अर्थात् हिजो थियो, अब छैन भन्ने हो । ज्ञानप्रसारण कालदेखिका सबै मूल्यहरू काम नलाग्ने भनेर वर्ग संघर्षद्वारा मानव समाजले आर्जन गरेको प्राप्ति खारेज गरियो ।

माक्र्सवादको मात्र अन्त्यको कुरा नगरेर आफ्नो स्वार्थअनुरूप उपनिवेशवाद र साम्राज्यवादको पनि अन्त्य भयो, यो उत्तर भयो र यसविरुद्ध आन्दोलन गर्नुको आवश्यकता र औचित्य छैन भन्ने विचारलाई भूमण्डलीकरण गरियो । उत्तरमाक्र्सवादी नाम पाएका हार्ड र नेग्रीहरू अब अमेरिका साम्राज्यवादी छैन भनेर उत्तरसाम्राज्यवादको वकालत गर्न थाले जतिबेर उत्तरउपनिवेशवाद र उत्तरसाम्राज्यवादलाई सही साबित गर्न पेन्टागनका थिंकट्यांकहरू लागेका थिए, इराक, अफगानिस्तानलगायत लिबियामाथि अमेरिकी हमला जारी थियो ।

ध्यान दिनुपर्ने कुरा के छ भने यस काममा एक कालखण्डमा माक्र्सवादसित जोडिएका बुद्धिजीवीहरू नै अग्रपंक्तिमा थिए, जो पछि अमेरिकी सरकार र पेन्टागनका सल्लाहकार बनेका थिए । यो पनि लालझन्डाविरुद्ध लालझन्डाको प्रयोग थियो ।
प्रचण्डको कुरा छोडौँ, लालझन्डाविरुद्ध लालझन्डाको विरोधको माध्यम आफूलाई 'क्रान्तिकारी' भन्नेहरूसमेत बन्न थालेका आधारहरू प्रकाशमा आउन थालेका छन् ।

प्रचण्ड, बाबुराम र अहिले विप्लवको स्थिति हेर्दा लाग्छ, साम्राज्यवाद विभिन्न कोणबाट टुक्राटुक्रामा माओवादी आन्दोलनलाई प्रयोगशाला बनाइरहेको त छैन ?

भर्खरै विप्लवले आफ्नो पार्टीको दस्ताबेजमा 'उत्तरवादी' धारणाको वकालत गर्दै 'अबको समय उत्तरसाम्राज्यवादी' भनेर ठोकुवा गरेका छन् । उनले जानेर भने कि नजानी भने, प्रचण्ड किरणले क्रान्ति गरेनन् भनेर क्रान्तिमा हिँडेका त्यत्रो नेतालाई 'जाबो माक्र्सवाद' र 'उत्तर' अवधारणाबारे ज्ञान रहेनछ भन्नु 'दुस्साहस' नै हुनेछ । सामान्य टिप्पणी गर्दा मात्र पनि 'क्रान्तिकारी जंक र पंकहरू' बाट भर्खरै पनि मैले गोली खानुपर्ने धम्की पाइसकेको छु ।

एकथरीलाई संसद्वाद अर्थात् 'उत्तर-माक्र्सवाद' मा फसाएर र अर्काथरीलाई क्रान्तिकारी आवरणमा 'चल्तापुर्जा' बनाएर साम्राज्यवादले नेपालको माओवादी आन्दोलनलाई कतै नयाँ प्रयोगशाला बनाउन त लागेको छैन भनेर प्रश्न उठ्नु स्वाभाविक छ । नत्र भने विप्लव समूहका दस्ताबेजहरू ह्वाइट हाउसका सल्लाहकार, 'इतिहासको अन्त्य' पुस्तकका लेखक फ्रान्सिस फुकोयामाको प्रशंसाले भरिने थिएनन् होलान् । कति कुशलताका साथ साम्राज्यवादले लालझन्डाविरुद्ध लालझन्डाको प्रयोग गर्छ !

नेपालको माओवादी आन्दोलन यतिबेर नेताहरूमा आएको वैचारिक विचलन र विग्रहको सिकार भएको छ । साथै प्रचण्ड, बाबुराम र अहिले विप्लवको स्थिति हेर्दा साम्राज्यवाद विभिन्न कोणबाट टुक्राटुक्रामा माओवादी आन्दोलनलाई प्रयोगशाला बनाइरहेको त छैन ? एकैचोटि 'उत्तर-माक्र्सवाद' र 'उत्तर-साम्राज्यवाद' को प्रयोग गरिरहेको त छैन ? भनेर आशंका गर्नुपर्ने अवस्था पनि देखा परेको छ ।

सिके राउतहरू पेन्टागन छोडेर त्यसै तराई पसेका छैनन् र मोहन वैद्यलाई वैचारिक र संगठनात्मक दृष्टिले सिध्याउने प्रयास पनि त्यसै भएको छैन । हिजो विप्लवको रहस्यमय बहिर्गमन र अहिले बादलको 'एकता नौटंकी' लाई सामान्य परिघटनाका रूपमा लिन मिल्दैन । किन अशोक मेहताहरू कमरेड किरणविरुद्ध जाइलाग्छन् र राकेश सूद र आनन्दस्वरूप बर्मा बाबुराम र विप्लवको प्रशंसामा आकाशपाताल जोड्छन् भन्ने कुरा पनि गम्भीरताका साथ लिनु आवश्यक छ ।

यस्तो बेला सबैको ध्यान कमरेड किरणतिर जानु स्वाभाविक छ । नेकपा (क्रान्तिकारी माओवादी) का पछिल्ला निर्णयले केही आशा पनि जगाएको छ । माओवादी आन्दोलन कमजोर भएको छ, तर समाप्त भएको छैन । यसमा कसैले पनि खुसी नमनाए हुन्छ । प्रश्न माओवादी आन्दोलनको मात्र होइन, प्रश्न मुलुकलाई साम्राज्यवादी-विस्तारवादी प्रयोगशाला हुनबाट कसरी जोगाउने भन्ने हो । यो सबैको साझा चिन्ता र चिन्तनको विषय हुनुपर्छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.