सन्तुलित होइन व्यावहारिक कूटनीति

सन्तुलित होइन व्यावहारिक कूटनीति

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आफ्ना दुई उपप्रधानमन्त्रीलाई उत्तर र दक्षिणी छिमेकी मुलुकको औपचारिक भ्रमणमा पठाउने निर्णय गर्‌यो । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री कृष्णबहादुर महराले त्यहाँका प्रधानमन्त्रीलाई भेटिसकेका छन् भने अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीका विशेष दूतका रूपमा आज भारत जाँदैछन् ।

शक्तिशाली चिनियाँ राष्ट्रपति र भारतीय संवैधानिक राष्ट्रपतिबीचमा सन्तुलन मिलाउन खोजिएको अर्थ लाग्ने दूतहरूको भ्रमणले वास्तविक सन्तुलन कायम गर्छ कि गर्दैन भन्ने समयक्रममा प्रस्ट हुने नै छ । महाशक्ति बन्ने बाटोमा अघि बढेको चीन र छिमेकी मुलुकहरूमा सूक्ष्म व्यवस्थापनमा शक्ति खर्चिरहेको भारतबीचको सन्तुलन कति सम्भव भयो भन्ने विगततर्फ फर्केर हेर्दा प्रस्ट हुन्छ ।

साझा समृद्धिमा आफ्नो समृद्धि देखिरहेको उत्तरको छिमेकी र छिमेकी देशलाई असमान स्वाभिमानका भाइहरू ठान्ने दक्षिणको मित्रबीच दूतहरूको सन्तुलन कस्तो होला भन्ने प्रश्न पनि आफैँमा रोचक हुनेछ । तर के साँच्चै छिमेकी मुलुकसँगको नेपाली कूटनीति सन्तुलित नै थियो ? के यसले नेपालको राष्ट्रिय स्वार्थ पूरा गर्दै आएको छ ? वा यो छिमेकीलाई खुसी तुल्याउने हतियार बन्दै आयो भन्ने कुराको गम्भीर समीक्षा नभई नेपालको कूटनीति प्रभावकारी ढंगमा अघि बढ्ने देखिँदैन ।

एउटा देशको कूटनीति कस्तो हुने भन्ने उक्त देशको विदेश नीतिबाट तय हुने गर्छ । विदेश नीतिसँग राष्ट्रिय स्वार्थ पूरा गर्न एकाकार भएर अघि बढ्ने माध्यम हो कूटनीति । विदेश नीति देशको इतिहास, राजनीतिक पद्धति, आर्थिक अवस्था, सैन्यशक्ति, नेतृत्वको मनोविज्ञान, अन्तर्राष्ट्रिय संघसंस्थाहरूको रुचिमा मात्र होइन, उक्त देशको भूराजनीतिक अवस्था र भूरणनीतिक स्थानमा समेत निर्भर हुने गर्छ ।

भिन्न–भिन्न भूराजनीतिक र भूरणनीतिक परिवेश भएका देशहरूको विदेश नीति उस्तै हुन सक्दैन । किनकि आफ्नो देशलाई घेरिरहेका शक्तिशाली देशहरूको चरित्र, स्वार्थ र प्रथामिकताले चेपिएको सानो देशको विदेश नीति प्रभावित हुने गर्छ । संवेदनशील भूरणनीतिक स्थानको कारण कतिपय देशलाई आफ्नो विदेश नीति तय गर्न चुनौती हुन्छ । नेपालले लामो समयदेखि यस्तो चुनौती भोग्दै आएको छ ।

उदीयमान महाशक्ति र क्षेत्रीय शक्ति तथा वर्तमान विश्व व्यवस्थाअन्तर्गतका महाशक्ति र विश्व शक्तिहरूको रणनीतिक स्वार्थको चपेटामा पर्दै आएकाले नेपालले भोगिरहेका चुनौतीअनुसारको प्रस्ट विदेश नीति विश्वसामु राख्न नसकेकै हो ।

सामान्यतया विदेश नीति तयार गर्दा इतिहासबाट पाठ सिक्दै वर्तमानको भूराजनीतिक अवस्थामा देशले भोगिरहेका बाह्य चुनौतीलाई सूक्ष्म ढंगले केलाउन जरुरी हुन्छ । भूमण्डलीकरणको प्रभावले जुन कुनै अन्तर्राष्ट्रिय पात्र जतिखेर पनि आफ्नो देशको प्रभावशाली पात्र बनेर देखा पर्न सक्छ भन्ने हेक्का राख्नैपर्छ । भौगोलिक तवर र भूमण्डलीकरणको हिसाबले देखापर्ने बाह्य पात्रहरू फरक–फरक हुनु अनिवार्य छ ।

उनीहरूको संलग्नता र दबाबले आफ्नो देशमा पार्ने सम्भावित असरलाई ख्याल गर्नु उत्तिकै महत्त्वपूर्ण हुन्छ । जब विदेश नीतिको मूल मर्म र त्यहाँका प्रधान पात्रबीचको स्वार्थ बाझिन पुग्छ, उक्त विदेश नीति आफ्नो देशको राष्ट्रिय स्वार्थसिद्ध गर्न असमर्थ हुन्छ । नेपालको हकमा भएको यही हो ।

भारत भौगोलिक हिसाबले नेपालमा सबैभन्दा जब्बर पात्रको रूपमा देखा पर्नु स्वाभाविक हो । शालीन कूटनीतिक शैलीमा नयाँ विश्व–व्यवस्थाको निर्माणतर्फ अघि बढिरहेको चीन नेपालको भूराजनीतिमा बेवास्ता गर्नै नमिल्ने अर्को पात्र हो । भूमण्डलीकरणको कोणबाट महाशक्ति अमेरिका र युरोपका कैयन् विश्व शक्ति राष्ट्रहरू युरोपेली युनियनको नाममा नेपालमा थप प्रधान पात्रहरू बन्दै आएका छन् ।

जब नेपालको आन्तरिक र बाह्य स्वार्थ यी प्रधान पात्रहरूसँग जबर्जस्त जोडिन्छ, नेपाल आफैँले स्वतन्त्र रूपमा निर्णय गर्न कठिन अवस्थामा पुग्ने गर्छ । अर्कोतर्फ राष्ट्रिय राजनीतिका बहुआयामिक अन्तर्राष्ट्रिय पात्रहरूबीच एकापसमै स्वार्थ बाझिँदा सन्तुलनको आवश्यकता त्यहाँनिर पर्छ । फरक प्रकृति र स्वार्थ बोकेका प्रभावशाली अन्तर्राष्ट्रिय पात्रहरूबीचको सन्तुलनको प्रयास प्रस्ट रूपमा परिभाषित सन्तुलित कूटनीतिमा निर्भर हुने गर्छ ।

नेपालको सन्तुलित कूटनीति भनेको के हो र कुन–कुन निश्चित मापदण्ड पूरा गर्दा यो सन्तुलित हुन्छ भन्ने कुनै पनि सरकारी दस्ताबेजमा लेखिएको पाइँदैन ।

व्यवहारमा अर्कै

नेपाललाई 'दुई ढुंगाबीचको तरुल' भन्ने पृथ्वीनारायण शाहको भनाइले त्यतिबेलाको गोरखाली राज्यको सन्तुलित कूटनीतिलाई जनाउँदैन । चेपिएर रहेको तरुलले दुई ढुंगाको उच्च चापको बीचमा आफ्नो आकार जोगाएर सन्तुलन कायम गर्न सक्छ भन्ने उनले सोचेनन् ।

जीवनकालभरि नेपाल एकीकरणको सिलसिलामा सैन्यशक्तिको विकास र प्रयोगमै समय खर्चेका उनले अलिबढी 'सफ्ट पावर' सँग सम्बन्धित कूटनीति विकास गर्ने कुरामा सम्भवतः प्रशस्त ध्यान पुर्‌याउन सकेनन् । यसैले युद्धमोर्चामा नै जीवन खर्चेका उनको पालामा नेपालको कूटनीति सन्तुलित थियो भन्ने अनुमान सही नहुन सक्ला ।

त्यसपछिका राजाहरूले पनि सन्तुलित कूटनीतिको विकासमा ध्यान पुर्‌याएनन् । दरबारभित्र भारदारबीचको शक्ति संघर्षमै व्यस्त राजनीतिले त्यसतर्फ ध्यान पुर्‌याउन सकेको देखिँदैन । राणाकालको सुरुआतपश्चात् आफ्नो जहानिया शासनको रक्षाको निम्ति उनीहरू ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई खुसी तुल्याउने नीतिमा अघि बढे ।

सामान्यतया जुन शक्तिको प्रभाव आन्तरिक मामलामा बलियो गरी जोडिन्छ, उक्त देशको सम्बन्ध पनि त्यही देशसँग जोडिन्छ । राणाहरूका हकमा त्यही भयो । त्यसैले त्यतिबेला पनि 'सन्तुलित कूटनीति' को गन्ध कहीँ कतै पाइँदैन ।

२००७ सालको दिल्ली सम्झौतापश्चात् नेपालको मन्त्रिपरिषद्को बैठकमा भारतीय प्रतिनिधि सामेल रहने तहसम्मको हस्तक्षेप देखिँदै गयो । 'क्याबिनेट' का सदस्यभन्दा सूचना पहिला दिल्ली पुग्न थाल्यो । देशभित्रको आफ्नो साख गुम्दा त्यसको पुनप्र्राप्तिको लागि दिल्ली गुहार्ने प्रवृत्तिको सुरुआतले जबर्जस्त रूपमा भारतलाई नेपाली राजनीतिको प्रभावशाली पात्रको रूपमा उदय गरायो ।

यस्तो खालको उदय नेपाल पक्षबाट गरिएको सन्तुलित कूटनीतिको परिणाम थिएन । सुरक्षाको सवालले त्यतिबेला भारतलाई त्यो स्थानमा पुर्‌याएको होइन । किनकि चीनको चुनौती देखिने गरी दलाई लामाको निर्वासन र सन् १९६२ को चीन–भारत सीमायुद्धपश्चात् सशक्त बनेको हो ।

पञ्चायतकाल पनि कूटनीति सन्तुलित बनाउनेभन्दा पनि व्यवस्थाको सशक्तीकरण र विदेश सम्बन्धलाई बहुआयामिक बनाउनेतर्फ केन्द्रित भयो । राजा महेन्द्र, बीपी कोइराला र जवाहरलाल नेहरूबीचको त्रिपक्षीय व्यक्तित्व टकरावको असर नेपालको राजनीतिमा पर्‌यो ।

२०१७ साल पुसा १ को सम्भावित कदमबारे नेहरू अनभिज्ञ थिएनन् । उनको सर्त भनेको बीपीलाई अपदस्थ गरी व्यवस्थामा कुनै फेरबदल नहोस् भन्ने थियो । बीपीको अग्लिँदो राजनीतिक व्यक्तित्वको त्रास दक्षिण एसियाली राजनीतिमा नेहरूलाई पर्दै गएको थियो । तर महेन्द्रले जब बीपी र व्यवस्था दुवैलाई अपदस्थ गरे, टकरावले नयाँ मोड लिँदै नेहरू र महेन्द्रबीचमा द्वन्द्व केन्द्रित भयो ।

ओली सरकारको विस्थापन र प्रचण्ड सरकारको गठन पनि २००७ सालदेखिकै भारतीय प्रभाव र दबाबकै निरन्तरता हो । दाहाल सरकारका उपप्रधानमन्त्रीहरूको चीन र भारत भ्रमणले सन्तुलित कूटनीतिको आधार तयार गर्छ भन्ने आशा गर्नु उचित छैन ।

त्यो अवस्थामा पनि नेपाल पक्षबाट केवल राजनीतिक रक्षा र प्रतिरक्षाबाहेक सन्तुलित कूटनीतिको भरपूर प्रयास भएको देखिँदैन । कोदारी राजमार्ग निर्माण र नेपालको उत्तरी सिमानाका १८ स्थानमा स्थापित भारतीय सैन्य चेकपोस्टजस्ता विरोधाभास कुरा सन्तुलित कूटनीतिका उपज होइनन्, केवल बाध्यात्मक कदम र परिणाम मात्रै ।

तर रूपमा कसैले त्यसलाई राजा महेन्द्रको सन्तुलित कूटनीति भनेर बुझ्न पनि सक्छन् । यति हुँदाहुँदै पनि महेन्द्रको पालामा भएको नेपालको स्वाधीनताको रक्षा र नेपालको बहुआयामिक विदेश सम्बन्धको विकासलाई नजरअन्दाज गर्न मिल्दैन ।

२०४६ सालको जनआन्दोलनको उठान, २०५२ सालको माओवादी सशस्त्र युद्धको सुरुआत, २०६२ को बाह्रबुँदे दिल्ली सम्झौताको आधार, ०६२/६३ को अर्को जनआन्दोलनको पृष्ठभूमि र बीचमा हुने सरकार परिवर्तनको सिलसिला आदि सबै परिघटना कुनै पनि सन्तुलित कूटनीतिको जगमा आधारित छैनन् ।

ओली सरकारको विस्थापन र प्रचण्ड सरकारको गठन पनि २००७ सालदेखिकै भारतीय प्रभाव र दबाबकै निरन्तरता हो भन्नेमा कुनै शंका रहेन । यसैले जब वर्तमान सरकारको जग नै सन्तुलित कूटनीतिबाहिरको अभ्यास हो । दाहाल सरकारका उपप्रधानमन्त्रीहरूको चीन र भारत भ्रमणले सन्तुलित कूटनीतिको आधार तयार गर्छ भन्ने आशा गर्नु उचित छैन ।

ओली सरकारका लोकप्रिय कार्यक्रममा प्रधानमन्त्री दाहालमार्फत पूर्णविराम लगाउने र कांग्रेसको नेतृत्वमा चुनाव गराई माओवादीलाई समाप्त गर्ने दिल्ली योजनाको एक बलियो साझेदार नेपाली कांग्रेसको आगामी कदमबाट सन्तुलित कूटनीतिको थप व्याख्या स्वतः हुनेछ ।

सन्तुलित होइन–व्यावहारिक कूटनीति

शब्द चयनले मात्र अर्थ दिँदैन, त्यसको स्पष्ट परिभाषा र व्याख्या गरिनु आवश्यक हुन्छ । के हो सन्तुलित कूटनीति ? यसको व्याख्या विज्ञहरूले पनि आआफ्नै तरिकाले गरेको पाइन्छ । दुई देशको स्वार्थमा धक्का नपुर्‌याई आफ्नो स्वार्थ पूरा गर्न अपनाइने कूटनीतिलाई सन्तुलित कूटनीति भन्ने गरेको सुनिन्छ, तर त्यो सन्तुलित नभई वास्तविक रूपमा व्यावहारिक कूटनीति हो ।

दुई विपरीत तत्त्वबीचको बराबर चाप र त्यसबाट पैदा हुने समान दबाबको बीचमा सन्तुलन आवश्यक पर्दछ । चीन र भारतको नेपालमा समान स्वार्थ र उनीहरूले नेपालाई दिने राजनीतिक दबाबको प्रकृति उस्तै र बराबर हुन्थ्यो भने त्यहाँ सन्तुलित कूटनीतिको आवश्यकता पर्दथ्यो ।

तर उनीहरूको न स्वार्थ मिल्छ न उनीहरूले दिने राजनीतिक दबाबको मात्रा नै । सन् १९७५ मा सिक्किमलाई भारतमा विलय गराइँदा नेपाललाई पनि गाभ्ने योजना रहेको तर इन्दिरा गान्धीको चुनावी हारको कारण त्यो सम्भव नरहेको कुरा त भारतीय खुफिया संस्था 'रअ' कै पूर्वप्रमुखले लेखेका छन् ।

फिजीकरण र भुटानीकरणको प्रसंग पनि त्यत्तिकै उठेको होइन । संविधान घोषणाको विषयबाट गरिएको नेपालमाथिको कठोर नाकाबन्दी र अहिले संविधान संशोधनको लागि गरिएको जब्बर हस्तक्षेपले ल्याउने राजनीतिक दबाब चिनियाँ सहानुभूतिसँग विल्कुल मिल्दैन । एकातिर भयानक दबाब र अर्कोतिर स्वागतयोग्य सहानुभूतिबीच सन्तुलित कूटनीतिको कुरा गर्नु विल्कुल अव्यावहारिक कुरा हो । यस्तो अवस्थामा हामीले गर्ने भनेकै व्यावहारिक कूटनीतिको विकास हो ।

आउँदा दसकहरूमा नेपालले व्यहोर्ने राजनीतिक र रणनीतिक दबाब पनि भिन्नाभिन्नै प्रकृतिको हुने देखिन्छ । 'वान बेल्ट वान रोड' (ओबीओआर) को कार्यान्वयनमार्फत साझा समृद्धि र गन्तव्यको बाटोमा अघि बढेको चीन नयाँ विश्व व्यवस्थाको पक्षमा छ, जो नेपालमार्फत दक्षिण एसियासँग व्यापारिक र रणनीतिक हिसाबले जोडिन चाहन्छ ।

अर्कोतिर ओबीओआर चीनको मात्र नभएको र यसको कार्यान्वयनमा आफ्नो सहमति चाहिने भनि वकालत गरिरहेको भारत नेपाल मामलामा थप कठोर बन्ने देखिन्छ । ओबीओआरलाई चिनियाँ मोडेलको 'मार्सल प्लान' ठान्ने अमेरिकाले 'सांघाई सहकार्य संस्था' को आधारभूमि मानिने मध्य एसियामा मजबुत उपस्थिति जनाउन नेपाललाई आधार क्षेत्रको रूपमा अघि बढाउने संकेत देखिएको छ । यति सानो मुलुकमा दक्षिण एसियाकै ठूलो दूतावास स्थापना गर्नु संयोग मात्र हुन सक्दैन ।

युरो–अमेरिकी ध्रुवको धार्मिक र तिब्बती स्वार्थले नेपालमा ल्याउने चुनौती थप घनीभूत बन्नेछ । यी बहुआयामिक दबाब र सोही प्रकृतिका राजनीतिक पात्रहरूका बीचमा आफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्न प्रचण्ड सरकारले सन्तुलित कूटनीतिको नाटक होइन, व्यावहारिक कूटनीतिको विकास र प्रयोगमा अघि बढ्न जरुरी छ ।

-चन्द अन्तर्राष्ट्रिय मामलाका जानकार हुन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.