आँसुले लेखेका सौगातका शब्द
अर्को साल नि दसैं आउला, कसले टीका लाउला
यो संसारमा मेरी आमा, खोजेर काँ पाउँला
मेरै घरका छ जना थ्यौं, बाँकी इष्टमित्र
कुनै ठाउँमा खाली थिएन, बसको बाहिर भित्र
कोही भन्थे ऐय्या मरेँ, कोही भन्थे पानी...
यो के भयो भयो,
कठै ! आज धरैको गाडीले ज्यान गयो । यी शब्द गाइरहँदा गायिका टीका पुनले आँसु झारिन् । रेकर्डिस्ट स्तब्ध भए । वाद्यवादकहरू भक्कानिए । ‘मैले हरेक शब्द आँसु झार्दै लेखेको थिएँ’, गायक सौगात ओझाले भने, ‘जति रुनु थियो, गीतका शब्द लेख्दै रोएँ । आमालाई जलाएको खबरले रोएँ । काखमै मरेकी छोरीको अनुहार सम्झिएर अस्पतालमै रोएँ ।’
२०७१ असोज २० गते डोटीको जोरायलमा बस दुर्घटना भयो । त्यो दसैंको तेस्रो दिन थियो । दसैं मनाएर फर्किरहेका २९ जनाले घटनास्थलमै ज्यान गुमाए । ६८ जना घाइते भए । रेडियो एफएमहरूमा समाचार ‘डढेलो लागेझैं’ भयो । समाचारमा मृत्यु हुने पात्रमा गायक सौगातकी आमा, कान्छी छोरी र हजुरआमाको नाम पर्यो । घाइतेमध्ये उनी आफैं, उनकी धर्मपत्नी र अर्की छोरी थिइन् ।
दसैं मनाएर फर्कंदै गर्दा ‘रुट परमिट’ नै नभएको गाडी जोरायलमा दुर्घटना भयो, जुन घटनाले गायक सौगातको काखबाट स्नेहको थुंगा चुँडेर लग्यो । दसैंमा आशीष दिने आमा र हजुरआमा खोसेर गयो । नियति पनि कस्तो उनले काखमै गुमाएकी छोरी वसन्ती र एउटै यात्रामा अलग्गिएकी आमा भागिरथी अनि हजुरआमालाई अन्तिम बिदाइ गर्न पाएनन् । ‘म अस्पतालको शय्यामा थिएँ, श्रीमती र अर्की छोरीको पनि उपचार भइरहेको थियो’, सौगातले भने, ‘हाम्रो भाग्यमा थिएन होला, त्यही दसैं अन्तिम खुसी बन्यो । प्राणहीन शरीरको बिदाइसम्म गर्न पाएनौं ।’
हाँसीखुसी मनाएको दसैं, उत्साहले थालिएको यात्रा बीचैमा चुँडालिएपछि उनी मर्माहत भए । परिवार बिचल्ली भयो । ‘मन कहिल्यै थाम्न नसकिने भयो’, उनले भने, ‘त्यही भएर रुँदै ती शब्द लेखेँ ।’
दैवको यो लीला कस्तो, कुन बेला के हुन्छ
सम्झिँदा त त्यो घटना झन्झन् यो मन रुन्छ
कुरा गर्दागर्दै उनी स्तब्ध भए । त्यही पीडा कम गर्न उनले लेखेका शब्द गाइरहँदा गायिका टीक पुन रोइन्, रेकर्डिस्ट स्तब्ध भए । सुन्नेहरू भक्कानिका थिए ।
२०४३ सालमा डोटीको सरस्वतीनगर-२ मा जन्मिएका सौगातको गायक बन्ने सपना थिएन । उनी पहिलोपटक २०६२ मा राजधानी पस्दा चलचित्रमा कलाकार बन्ने रहर थियो । ‘न चिनेका न जानेको’ सहरमा उनी कुहिरोका कागजस्तै बने । ‘जानु कहाँ जानु’, सौगातले भने, ‘दुई रात त रत्नपार्कको बेन्चमै सुतेँ ।’ चितवनका छिरिङ लामासँग उनको त्यहीँ भेट भयो । सौगातका बारेमा सोधे । सबै कुरा सुनेपछि छिरिङले उनलाई सँगै लिएर गए ।
‘मेरै दुर्भाग्य होला, एक महिनापछि म बिरामी भएँ’, सौगातले भने, ‘केही गर्दा सन्चो भएन, गाउँमा गएर देवीदेउता पनि गरियो, पछि थाहा भयो मलाई मुटुको समस्या रहेछ ।’ डाक्टरले नै नाचगान, दौडधुप र चिन्ता कम गर्नू भनेपछि उनको कलाकार बन्ने सपनामा पूर्णविराम लाग्यो । सौगातको कलाकार बन्ने हुटहुटी भने रहिरह्यो ।
कक्षा ७ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा सम्झना ओझासँग विवाह गरेका थिए । त्यसपछि छुटेको पढाइ औषधि खाँदै गाउँमा बस्ने क्रममा उनले निरन्तरता दिए । छोरीसँगै स्कुल गए । शिवपुर माविबाट उनले एसएलसी गरे । एसएलसी सकेर उनी फेरि ०६५ तिर काठमाडौं आए । त्यस क्रममा उनले राजधानीमा भाँडा माझ्ने, लुगा धुनेसम्म काम गरे । ‘एक से एक’ चलचित्र निर्माणका क्रममा भाँडा माझ्दै गुनगुनाउँदै गर्दा उनलाई अर्जुन सिलवालले ‘तीजको गीत लेखिदिन सक्छौ ? ’ भने । उनले ‘फुर्सदमा छैन म’ गीत लेखेर दिए ।
राधिका हमाल र खुमन अधिकारीको स्वरमा गीत निकै रुचाइयो । उनको लय, शब्द मन पराएर बर्दियाका नगेन्द्र चन्दले सौगातसँग गीत मागे । ‘मनभित्र तिमी छौ’ आफ्नै शब्द, संगीत र स्वरमा बनाइदिए । रामजी खाँडलाई गाउन दिने भनेको गीत एकपटक उनले नै गाउने मौका पाएपछि उनलाई निद्रा लागेन । ‘पहिलोपटक स्टुडियो छिर्दै थिएँ’, उनले भने, ‘कसरी राम्रो गाउने होला भन्ने चिन्ताले पिरोलिरह्यो ।’ गीत रेकर्ड हुँदा नहुँदै रेकर्डिस्ट खडक बाजुरालीले प्रशंसा गरे । गीत राम्रो भएपछि चन्दले नै राजधानीमा कोठा खोजेर उनलाई व्यवस्थित बसाइको जाँचो मिलाइदिए ।
त्यसपछि उनी कुशल लोकगायक र गीतकारका रूपमा आफ्नो क्षेत्रमा चिनिन थाले । ‘आयो बरै दसैं र तिहार’ उनको चलेको लोकलयको गीत हो । त्यही क्रममा २०७१ को दसैं सकिँदा नसकिँदै डोटीको जोरायल बस दुर्घटनाले उनको मन भित्रैदेखि चिथोरेर लग्यो । ‘जे भए नि बाँच्नै पर्दो रहेछ’, उनले भने, ‘जानेहरू छोडेर गए, हामी बाँच्नेहरूको अंगभंग भएन, चित्त बुझाउने आधार यत्ति भएको छ ।’
त्यो घटनाले आफूलाई जिन्दगीमा धेरै थोक सोचेर चिन्ता गर्न नहुने रहेछ भन्ने पाठ सिकाएको सौगातले बताए । ‘जे हुनु छ, क्षणभरमै हुँदो रहेछ, हाम्रो हातमा त के नै रहेछ र !’, उनले भने, ‘काखकी छोरी त खोसेर लग्यो ।’ त्यसैले उनले गीतमै उक्त पीडा ओकल्दै लेखेः
कति मरे कति घाइते, कोइ अपांग भए
बाँच्नेलाई गाह्रो भयो, जानेहरू गए...।
यो गीत जतिपटक सुन्दा पनि सौगात आफैंलाई झन् पीडित बनायो । सबैले दयाभावजस्तो देखाउन थाले । जस्तो आइलागे पनि बाँच्नैपर्ने जीवनलाई बुझेर उनी फरक गर्ने सोचमा पुगे । त्यसका लागि उनले संगीतकै माध्यम रोजे । उनले ‘झुमझाम भुमझाम...मलाई त यै काली मोरी मन परी’ गीत लेखे । ‘हट’ गायिका ज्योति मगरसँग उक्त ‘आइटम दोहोरी’ गीत गरे । ‘यो गीत छोटो समयमै १० लाखले युट्युबमा हेरे’, उनले भने, ‘धेरैले दोहोरी गीत बिगार्यो भन्ने आरोप पनि लगाइरहेका छन् ।
तर मैले नयाँ गर्न खोजेको मात्रै हुँ ।’ यति बेला उनी ‘साडीको फल्लाले’ तीज गीत गरिरहेका छन् । यसैमा मन भुलाउने र दर्शक श्रोता रिझाउने कोसिस गरिरहेका छन् ।
फेरि कहिल्यै आशीष दिन नफर्किने आमा र पुनः काखमा लुटपुटिन नआउने छोरीको सम्झना उनले मुटुको गहिराइमा दबाएर राखेका छन् । भन्छन्, ‘सकेपछि उनीहरूको सम्झनामा एउटा वृद्धा श्रम बनाउनेछु । त्यहीँ उनीहरूलाई भेटाउनेछु ।’