आँसुले लेखेका शब्द
अर्को साल नि दसैं आउला, कसले टका लाउला
यो संसारमा मेरी आमा, खोजेर काँ पाउँला
मेरै घरका छ जना थ्यौं, बाँकी इष्टमित्र
कुनै ठाउँमा खाली थिएन, बसको बाहिर भित्र
कोही भन्थे ऐय्या मरेँ, कोही भन्थे पानी...
यो के भयो भयो,
कठै ! आज धरैको गाडीले ज्यान गयो । यी शब्द गाइरहँदा गायिका टीका पुनले आँसु झारिन् । रेकर्डिस्ट स्तब्ध भए । वाद्यवादकहरू भक्कानिए । ‘मैले हरेक शब्द आँसु झार्दै लेखेको थिएँ’, गायक सौगात ओझाले भने, ‘जति रुनु थियो, गीतका शब्द लेख्दै रोएँ । आमालाई जलाएको खबरले रोएँ । काखमै मरेकी छोरीको अनुहार सम्झिएर अस्पतालमै रोएँ ।’
२०७१ असोज २० गते डोटीको जोरायलमा बस दुर्घटना भयो । त्यो दसैंको तेस्रो दिन थियो । दसैं मनाएर फर्किरहेका २९ जनाले घटनास्थलमै ज्यान गुमाए । ६८ जना घाइते भए । रेडियो एफएमहरूमा समाचार ‘डढेलो लागेझैं’ भयो । समाचारमा मृत्यु हुने पात्रमा गायक सौगात मल्लकी आमा, कान्छी छोरी र हजुरआमाको नाम प¥यो । घाइतेमध्ये उनी आफैं, उनकी धर्मपत्नी र अर्की छोरी थिइन् ।
दसैं मनाएर फर्कंदै गर्दा ‘रुट परमिट’ नै नभएको गाडी जोरायलमा दुर्घटना भयो, जुन घटनाले गायक सौगातको काखबाट स्नेहको थुंगा चुँडेर लग्यो । दसैंमा आशीष दिने आमा र हजुरआमा खोसेर गयो । नियति पनि कस्तो उनले काखमै गुमाएकी छोरी वसन्ती र एउटै यात्रामा अलग्गिएकी आमा भागिरथी अनि हजुरआमालाई अन्तिम बिदाइ गर्न पाएनन् । ‘म अस्पतालको शय्यामा थिएँ, श्रीमती र अर्की छोरीको पनि उपचार भइरहेको थियो’, सौगातले भने, ‘हाम्रो भाग्यमा थिएन होला, त्यही दसैं अन्तिम खुसी बन्यो । प्राणहीन शरीरको बिदाइसम्म गर्न पाएनौं ।’
हाँसीखुसी मनाएको दसैं, उत्साहले थालिएको यात्रा बीचैमा चुँडालिएपछि उनी मर्माहत भए । परिवार बिचल्ली भयो । ‘मन कहिल्यै थाम्न नसकिने भयो’, उनले भने, ‘त्यही भएर रुँदै ती शब्द लेखेँ ।’
दैवको यो लीला कस्तो, कुन बेला के हुन्छ
सम्झिँदा त त्यो घटना झन्झन् यो मन रुन्छ
कुरा गर्दागर्दै उनी स्तब्ध भए । त्यही पीडा कम गर्न उनले लेखेका शब्द गाइरहँदा गायिका टीक पुन रोइन्, रेकर्डिस्ट स्तब्ध भए । सुन्नेहरू भक्कानिका थिए ।
२०४३ सालमा डोटीको सरस्वतीनगर–२ मा जन्मिएका सौगातको गायक बन्ने सपना थिएन । उनी पहिलोपटक २०६२ मा राजधानी पस्दा चलचित्रमा कलाकार बन्ने रहर थियो । ‘न चिनेका न जानेको’ सहरमा उनी कुहिरोका कागजस्तै बने । ‘जानु कहाँ जानु’, सौगातले भने, ‘दुई रात त रत्नपार्कको बेन्चमै सुतेँ ।’ चितवनका छिरिङ लामासँग उनको त्यहीँ भेट भयो । सौगातका बारेमा सोधे । सबै कुरा सुनेपछि छिरिङले उनलाई सँगै लिएर गए ।
‘मेरै दुर्भाग्य होला, एक महिनापछि म बिरामी भएँ’, सौगातले भने, ‘केही गर्दा सन्चो भएन, गाउँमा गएर देवीदेउता पनि गरियो, पछि थाहा भयो मलाई मुटुको समस्या रहेछ ।’ डाक्टरले नै नाचगान, दौडधुप र चिन्ता कम गर्नू भनेपछि उनको कलाकार बन्ने सपनामा पूर्णविराम लाग्यो । सौगातको कलाकार बन्ने हुटहुटी भने रहिरह्यो ।
कक्षा ७ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा सम्झना ओझासँग विवाह गरेका थिए । त्यसपछि छुटेको पढाइ औषधि खाँदै गाउँमा बस्ने क्रममा उनले निरन्तरता दिए । छोरीसँगै स्कुल गए । शिवपुर माविबाट उनले एसएलसी गरे । एसएलसी सकेर उनी फेरि ०६५ तिर काठमाडौं आए । त्यस क्रममा उनले राजधानीमा भाँडा माझ्ने, लुगा धुनेसम्म काम गरे । ‘एक से एक’ चलचित्र निर्माणका क्रममा भाँडा माझ्दै गुनगुनाउँदै गर्दा उनलाई अर्जुन सिलवालले ‘तीजको गीत लेखिदिन सक्छौ ? ’ भने । उनले ‘फुर्सदमा छैन म’ गीत लेखेर दिए । राधिका हमाल र खुमन अधिकारीको स्वरमा गीत निकै रुचाइयो ।
उनको लय, शब्द मन पराएर बर्दियाका नगेन्द्र चन्दले सौगातसँग गीत मागे । ‘मनभित्र तिमी छौ’ आफ्नै शब्द, संगीत र स्वरमा बनाइदिए । रामजी खाँडलाई गाउन दिने भनेको गीत एकपटक उनले नै गाउने मौका पाएपछि उनलाई निद्रा लागेन । ‘पहिलोपटक स्टुडियो छिर्दै थिएँ’, उनले भने, ‘कसरी राम्रो गाउने होला भन्ने चिन्ताले पिरोलिरह्यो ।’ गीत रेकर्ड हुँदा नहुँदै रेकर्डिस्ट खडक बाजुरालीले प्रशंसा गरे । गीत राम्रो भएपछि चन्दले नै राजधानीमा कोठा खोजेर उनलाई व्यवस्थित बसाइको जाँचो मिलाइदिए ।
त्यसपछि उनी कुशल लोकगायक र गीतकारका रूपमा आफ्नो क्षेत्रमा चिनिन थाले । ‘आयो बरै दसैं र तिहार’ उनको चलेको लोकलयको गीत हो । त्यही क्रममा २०७१ को दसैं सकिँदा नसकिँदै डोटीको जोरायल बस दुर्घटनाले उनको मन भित्रैदेखि चिथोरेर लग्यो । ‘जे भए नि बाँच्नै पर्दो रहेछ’, उनले भने, ‘जानेहरू छोडेर गए, हामी बाँच्नेहरूको अंगभंग भएन, चित्त बुझाउने आधार यत्ति भएको छ ।’
त्यो घटनाले आफूलाई जिन्दगीमा धेरै थोक सोचेर चिन्ता गर्न नहुने रहेछ भन्ने पाठ सिकाएको सौगातले बताए । ‘जे हुनु छ, क्षणभरमै हुँदो रहेछ, हाम्रो हातमा त के नै रहेछ र !’, उनले भने, ‘काखकी छोरी त खोसेर लग्यो ।’ त्यसैले उनले गीतमै उक्त पीडा ओकल्दै लेखे:
कति मरे कति घाइते, कोइ अपांग भए
बाँच्नेलाई गाह्रो भयो, जानेहरू गए...।
यो गीत जतिपटक सुन्दा पनि सौगात आफैंलाई झन् पीडित बनायो । सबैले दयाभावजस्तो देखाउन थाले । जस्तो आइलागे पनि बाँच्नैपर्ने जीवनलाई बुझेर उनी फरक गर्ने सोचमा पुगे । त्यसका लागि उनले संगीतकै माध्यम रोजे । उनले ‘झुमझाम भुमझाम...मलाई त यै काली मोरी मन परी’ गीत लेखे । ‘हट’ गायिका ज्योति मगरसँग उक्त ‘आइटम दोहोरी’ गीत गरे । ‘यो गीत छोटो समयमै १० लाखले युट्युबमा हेरे’, उनले भने, ‘धेरैले दोहोरी गीत बिगा¥यो भन्ने आरोप पनि लगाइरहेका छन् । तर मैले नयाँ गर्न खोजेको मात्रै हुँ ।’ यति बेला उनी ‘साडीको फल्लाले’ तीज गीत गरिरहेका छन् । यसैमा मन भुलाउने र दर्शक श्रोता रिझाउने कोसिस गरिरहेका छन् ।
फेरि कहिल्यै आशीष दिन नफर्किने छोरी र पुनः काखमा लुटपुटिन नआउने छोरीको सम्झना उनले मुटुको गहिराइमा दबाएर राखेका छन् । भन्छन्, ‘सकेपछि उनीहरूको सम्झनामा एउटा वृद्धा श्रम बनाउनेछु । त्यहीँ उनीहरूलाई भेटाउनेछु ।’