हुम्लामा धामीनाच
सिमकोटः जनैपूर्णिका अवसरमा बिहीबार हुम्लाका अधिकांश गाउँमा धामीनाच आयोजना गरिएको छ । दुई दिनसम्म चल्ने धामीनाच जिल्लाका २७ वटै गाविसमा बिहानैदेखि सुरु भएको थियो ।
सदरमुकाम सिमकोटको माथिल्लो गाउँको मुग्राधाराको कालसिल्ताको माडु (मन्दिर) र तल्लो गाउँको चौपाणीमा दर्जन बढी धामीनाच प्रदर्शन गरिएको थियो । सिमकोटमा कालसिल्ता, बाणपाल, हिल्सोलगायतका धामी परम्परागत झाँकीको पहिरनमा नाचेका थिए । देवताका माडु (मन्दिर) मा पूजापाठ र धामीनाचका क्रममा सिमकोटमा मात्रै ५० बढी बोकाको बलि दिइएको सिमकोटका गाविस सचिव धर्मराज रोकायले बताए ।
डाँडाफया गाविसको पाल्मातुङमा पनि डाँडाफया, स्याँडा रहेप्काका स्थानीय बासिन्दाको सहभागितामा मेला लागेको छ । डाँडाफयाका विभिन्न १८ वटा धामी एकै ठाउँमा जम्मा भएर ठूलो मेला लागेको स्थानीय मन्दिरसिंहले जानकारी दिए । यसैगरी ठेहेस्थित रामपाल र बाणपालको माडुमा ठूलो मेला लागेको रलिङ माध्यमिक विद्यालयका शिक्षक सूर्यमणि बोहराले जानकारी दिए । मेलामा देधी धामी नाच प्रर्दशन गर्नुका साथै स्थानीय देउडा खेल पनि सुरु भएको छ ।
हुम्लाको छिप्रा, लाली, राया, खार्पुनाथमा पनि मेला लागेको छ । मेलामा जिल्लास्तरीय देउडागीत प्रतियोगिता आयोजना गरिएको स्थानीय वीरबहादुर छत्यालले जानकारी दिए ।