स्क्रब टाइफसबाट यसरी टाढा रहने

स्क्रब टाइफसबाट यसरी टाढा रहने

काठमाडौं: संखुवासभाका एक बालकलाई हनहन्ती ज्वरो आयो । टाउको दुख्ने, जोर्नी दुख्ने समस्या सँगै देखियो । घरमै निको पार्ने प्रयासस्वरूप परिवारले उनलाई तातोपानी पिउन आग्रह गरे । अन्य घरेलु उपाय अपनाए । केही सीप नलागेपछि नजिकैको पसलबाट औषधि किनेर बालकलाई खुवाइयो ।

नतिजाको पर्खाइमा अभिभावकले कडा ज्वरो आएका ती बालकलाई सात दिनसम्म घरमै राखे । थला परेपछि मात्रै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका लागि लगियो ।

चिकित्सकले जाँचका विभिन्न उपाय अपनाउँदा पनि उपलब्धि नभएपछि उनको रगत निकालेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो । नजितामा ती बालकको रगतमा स्क्रब टाइफस रोग पुष्टि भयो । सोहीअनुसारको उपचार प्रक्रिया अघि बढाइए पनि ढिलो अस्पताल ल्याउँदा बालकले ज्यान गुमाउनु पर्‌यो ।

बालकको ज्यान गएपछि मात्र उनका अभिभावकले स्क्रब टाइफस कस्तो रोग हो भन्ने थाहा पाए । यो एउटा उदाहरण हो । स्क्रब टाइफसबारे जानकारी समयमै नपाउँदा वा नलिँदा अनायासै यस वर्ष अन्य दुईजनाले ज्यान गुमाउनु परेको छ । जब कि यो रोगको समयमै उपचार भयो भने निको हुन्छ ।

मुसामा पाइने किर्नाजस्तै कीरा (माइटको लार्भा)ले टोक्दा मानिसमा फैलिने उक्त रोगबाट वैशाखयता ९१ जनामा उक्त रोग पुष्टि भइसकेको छ । 'पहिले केही थाहा थिएन । अरू नै कारणले ज्वरो आएको होला भन्ने लाग्यो र कतै गइनँ । ज्यानै जालाजस्तो भयो अनि अस्पताल आएँ', टेकुस्थि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एक बिरामीले भने, 'अहिले थाहा भयो यो त निकै डरलाग्दो रोग रेहछ ।'

ढिलै भए पनि आफूमा देखिएको रोग उपचार हुने अस्पतालमा आएको र बाँच्ने आशा जागेको उनले बताइरहँदा अन्य दुईजना बिरामी पनि सोही समस्याबाट थला परेर उपचार गरिरहेका थिए । नेपालमा गत वर्ष पहिलोपटक पुष्टि भएको स्क्रब टाइफस रोगबाट मृत्यु हुने र बिरामी पर्नेको संख्या बढ्दो छ । समयमै उपचार नभएमा मुटु, फोक्सो, मस्तिष्कजस्ता संवेदनशील अंगमा क्षति भएर ज्यान जान्छ । त्यति बेला धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको आईसीयूमा भर्ना भएका ११ जनामध्ये ६ जना बालबालिकाको ज्यान गएको थियो ।

स्क्रब टाइफसले धनगढीमा पनि दुई महिलाको ज्यान लिएको थियो । टाइफाइड, डेंगुलगायत रोगसँग मिल्नेखालको ज्वरो आएका बिरामीलाई औषधिले काम नगरेपछि ती बिरामीको रगतको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा स्क्रब टाइफस देखिएपछि थप पुष्टिका लागि थाइल्यान्ड पठाइएको थियो ।

त्यहाँबाट रोग पुष्टि भएर आएपछि महाशाखाले मातहतका सबै स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई स्क्रब टाइफस उपचारको तरिकाबारे तयार पारिएको निर्देशिकाअनुरूप उपचार गर्न निर्देशन दिएको थियो ।

तर पनि जनचेतनामूलक कार्यक्रम विस्तार नहुँदा र स्थानीय स्वास्थ्य संस्थामा रोग परीक्षणका लागि उपयुक्त व्यवस्था नहुँदा अन्य अनगिन्ती रोगले आक्रान्त पारिरहेका बेला नयाँ रूपबाट देखा परेको यो रोगले मानिसलाई सास्ती दिएको छ । धनजनको क्षति उत्तिकै भएको छ । स्थानीयस्तरमै परीक्षण सुविधा नहुँदा चिकित्सक बिरामीको रगतको नमुना काठमाडौं पठाउन बाध्य छन् ।

टाइफसबाट संक्रमित हुनेको संख्या ९१ पुगेको छ । पूर्वी तराईमा धेरै देखिएको उक्त रोग अझै फैलिनसक्ने अनुमान चिकित्सकको छ । हाल यो संक्रमण संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, इलाम, धादिङ, चितवन, नुवाकोट, सुर्खेत, मकवानपुर, सिन्धुली, सर्लाही, कास्की, गोरखा, बारा, बर्दिया, दाङ, राजधानी काठमाडौंलगायत २० जिल्लाभन्दा बढी स्थानमा छ ।

गत वर्ष यो संक्रमण संखुवासभा, भोजपुर, धनकुटा, सिराहा, कैलाली, रामेछापमा देखिएको तथ्यांक छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका ट्रोपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाका अनुसार भूकम्प प्रभावित जिल्लाबाट आएका बिरामीमा पनि स्क्रब टाइफस पुष्टि भएको छ । संक्रमण फैलिएपछि मानिसमा कडा ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्नेजस्तो लक्षण देखा पर्छ ।

दुई वा त्योभन्दा धेरै यस्तो लक्षण देखिएमा स्वास्थ्य जाँच गराइहाल्नुपर्ने उनको सल्लाह छ । 'धेरै ढिलो उपचार गर्न आउँदा संक्रमित बिरामीको मृत्यु भइरहेको छ', बास्तोलाले भने, 'यो रोगको लक्षण अन्य रोगसँग पनि मिल्दोजुल्दो हुने भएकाले अल्मलिएर बस्नु हुँदैन । समयमै पुष्टि भएमा औषधि खाएर निको हुन्छ र यसले जटिल रूप लिन पाउँदैन ।'

स्क्रब टाइफसको उपयुक्त उपचार नगर्दा दीर्घकालीन रूपमा सुन्ने क्षमता गुम्ने, निम्न रक्तचाप, अंगमा क्षति र मिर्गौला फेल हुने, निमोनियाको संक्रमण देखिने, छारेरोग, सुस्त हुनेजस्ता समस्या देखिन्छन् । चिकित्सकका अनुसार स्क्रब टाइफस फैलाउने सूक्ष्म कीरा झाडी, घाँस जंगल, खेतको छेउछाउ, पहाडी इलाका आदि भएको ठाउँमा रहने मुसा प्रजातिका जनावरमा बढी पाइने गरेको छ । वर्षायाममा सहरी क्षेत्रमा समेत जंगली बोटबिरुवा वा घाँस नजिक यो कीराले टोक्ने खतरा रहन्छ । स्क्रब मानिसबाट मानिसमा सर्ने रोग भने होइन ।

रोगका लक्षण

-कडाखाले ज्वरो (१०२ देखि १०५ डिग्री फरेन हाइटसम्म) आउने
-टाउकोमा धेरै दुखाइ हुने
-श्वासप्रश्वासमा समस्या पैदा हुने
-जीउ, जोर्नी र मांसपेशीमा पीडा हुने
-खोकी लाग्ने
-पेट दुख्ने र पखाला लाग्ने
-शरीरका विभिन्न भागमा गुलाबी बिमिरा देखिनु

स्क्रब टाइफसबाट बच्ने उपाय

-घरवरपर सफा राख्ने र आफूले पनि सरसफाइमा ध्यान दिने
-लामो बाउला भएको कपडा लगाउने
-मुसाबाट टाढै रहने
-सामान्य रूपमा ज्वरो आउने वा खोकी लाग्नेजस्ता समस्या देखिमा एक दुई दिन घरमै आराम गरी तातो र झोलिलो खाने ।
-त्यसो गर्दा नभए सम्बन्धित चिकित्सकको सल्लाहमा उपचार अघि बढाउने ।
-असामान्य लक्षण देखिँदा शरीरमा भएका दागहरू नियाल्ने । केहीले टोकेकोजस्तो लाग्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिने

उपचारविधि

यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र कीराले टोकेको दाग देखेर पनि गरिन्छ । रगत परीक्षणअन्तर्गत सीबीसी काउन्ट, लिभर फंग्सन टेस्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षणसमेत गर्न सकिन्छ ।

नेपालमा हाल एलाइजा टेस्टबाटै काम चलाउने गरिएको छ, जुन हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ । महाशाखाका चिकित्सक गुणनिधि शर्माका अनुसार स्क्रब टाइफसको आशंका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधि दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.