फरक कक्षाका विद्यार्थीको एउटै कोठामा पढाइ

फरक कक्षाका विद्यार्थीको एउटै कोठामा पढाइ

सुर्खेतः पश्चिम सुर्खेत कुनाथरी गाविसको बड्डिचौरस्थित जनज्योति उच्च माध्यमिक विद्यालयमा सुस्त श्रवण भएका १० जना विद्यार्थी अध्ययनरत छन् । उनीहरूका लागि छुट्टै कोठा र एकजना शिक्षकको व्यवस्था गरिएको छ ।

तर फरकफरक कक्षामा पढ्ने ती सबै विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य छन् । यस्तै वीरेन्द्रनगरको इत्राममा रहेको श्रीकृष्ण संस्कृत तथा साधारण उच्च माविमा १० जना दृष्टिविहीन बालबालिका अध्ययनरत छन् । उनीहरूलाई पनि अन्य विद्यार्थीसँगै कक्षामा बसेर पढ्नुपर्ने बाध्यता छ । दृष्टिविहीनहरूका लागि छुट्टै कक्षाको व्यवस्था नहुँदा समस्या हुने गरेको विद्यार्थीको गुनासो छ । जिल्लाका फरक क्षमता भएका बालबालिकाको पढाइ कति कष्टपूर्ण छ भन्ने उदाहरण हुन् यी ।

दुईदेखि दस कक्षासम्म पढ्ने विद्यार्थी एउटै कक्षामा ।
सबै कक्षाका विद्यार्थी पढाउन एकजना शिक्षक ।
प्रतिविद्यार्थी मासिक पच्चीस सय अपुग ।
अपांगता भएका विद्यार्थीका लागि सरकारले नै आवासीय विद्यालय खोल्नुपर्ने ।

दृष्टिविहीन र सुस्त श्रवण भएका बालबालिकाको पढाइमा सरकारले ध्यान नदिएको गुनासो उनीहरूको छ । यस्तै कष्टका साथ केही बालबालिका विद्यालय गइरहेका छन् भने कतिपय बालबालिका पढाइबाट समेत वञ्चित हुन पुगेका छन् । जनज्योति उच्च माविले २०५४ सालदेखि सुस्त श्रवणका लागि विशेष कक्षा सञ्चालन गर्दै आएको छ ।

विद्यालयमा यस्ता विद्यार्थीलाई पढाउन तालिम प्राप्त एकजना शिक्षक राखिएको छ । ‘१० जना विद्यार्थी एउटै कक्षामा पढ्ने त होइनन्, तर एउटै कोठामा राखेर पढाइन्छ’, विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद सिग्देलले भने, ‘तालिम प्राप्त शिक्षक एउटै मात्र भएकाले सबै विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ ।’ आर्थिक स्रोत नहुनु पनि अर्को समस्या हो ।

अभिभावकहरू सुस्त श्रवण बालबालिकालाई विद्यालय पठाउनसमेत चाहँदैनन् यसले गर्दा सरकारले उपलब्ध गराउने न्यूनतम रकमकै भरमा पठनपाठन गराउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक सिग्देल बताउँछन् । सरकारले सुस्त श्रवण तथा दृष्टिविहीन, सुस्तमनस्थिति भएका बालबालिकाको शिक्षाका लागि भनेर मासिक रूपमा प्रतिव्यक्ति दुई हजार पाँच सय रूपैयाँ उपलब्ध गराउँदै आएको छ । बालबालिकालाई त्यही रकमले खाने, बस्नेदेखि पढाइ खर्चसमेत धान्नुपर्ने बाध्यता विद्यालयले भोगिरहेका छन् ।

सुस्त श्रवण भएका बालबालिकालाई पढाउने शिक्षिका तुलसा थापाले सबै कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउँदा समस्या भएको बताइन् । सबै कक्षाका विद्यार्थी एउटै कोठामा पढाउँदा समय नपुगेर पूरा विषय पढाउन नपाइने उनको भनाइ छ । उनले यस्ता सुस्त श्रवण र अपांगता भएका विद्यार्थीको शिक्षामा सुधार ल्याउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘मासिक २५ सय अपांगता बालबालिकाका लागि पर्याप्त हुँदैन, उनीहरूको लागि उचित किसिमको बस्ने र पढ्ने वातावरणको व्यवस्था गर्नुपर्छ ।’

यस्तै श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि इत्रामले पनि गत वर्षदेखि दृष्टिविहीनहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ । यस विद्यालयमा अहिले १० जना दृष्टिविहीन अध्ययनरत छन् । कक्षा दुईदेखि कक्षा १० सम्म पढ्ने विद्यार्थी रहेको विद्यालयका प्राचार्य गेहेन्द्रप्रसाद दहालले बताए । उनीहरूलाई अन्य विद्यार्थीसँगै राखेर पढाउने गरेको उनको भनाइ छ । यस विद्यालयमा दुईजना शिक्षकले ब्रेललिपीमार्फत् विद्यार्थीलाई पढाउने गर्छन् । दृष्टिविहीनहरूको अध्ययनका लागि सरकारले छुट्टै व्यवस्था नगरेको र विद्यालयको पनि आन्तरिक स्रोत नभएकाले अन्य विद्यार्थीसँगै राखेर पढाउनुपर्ने बाध्यता रहेको प्राचार्य दाहालले बताए ।

विद्यालयको पढाइ सहज नभएकाले कतिपय बालबालिकाले बीचैमा पढाइ छोड्ने गरेका छन् । दृष्टिविहीन तथा सुस्त श्रवण भएका बालबालिकाहरूका लागि सरकारले उपलब्ध गराउने रकम निकै न्यून भएकाले वृद्धि गर्नुपर्ने विद्यालयको माग छ । यस्ता बालबालिकाका लागि सरकारले आवासीय सुविधासहित पढ्ने व्यवस्था मिलाउनुपर्ने उनीहरू बताउँछन् । टाढाटाढाका विद्यार्थी पढ्न आउँने हुँदा बस्न, खाना र पढ्न नपुग्ने प्राचार्य दहालको भनाइ छ । नेपाल सरकारले अपांगता भएकाहरूका लागि बस्ने होस्टेल, हेरचाह गर्ने कर्मचारी र शिक्षकको संख्या वृद्धि गर्नुपर्ने उनीहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.