पिसाबको समस्या र समाधान
पिसाबसम्बन्धी रोग लागेको व्यक्तिलाई मात्रै यसको पीडा थाहा हुन्छ । मूत्र बिकार जसलाई मेडिकल भाषामा युरोलोजिकल डिजिज भनिन्छ । यसअन्तर्गत कैयौं रोग पर्दछन् । पिसाबमा जलन हुनु, रोकिनु, तुरुकतुरुक आउनु, मूत्रकृच्छ, काइल्युरिया, मूत्रपथरी, पिसाबमा रगत आउनु, प्रोस्टेट ग्रन्थी बढ्नु र बहुमूत्र आदि पिसाबसम्बन्धी रोग हुन् । सबै रोगहरू कष्टदायी हुन्छन् ।
समयमै उपचार गरिएन भने घातक परिणाम भोग्नुपर्ने हुन्छ । भागदौड जीवनशैलीमा व्यक्तिहरूमा प्रायः मूत्र रोगको समस्या देखिन्छ । यो रोग जीवनशैलीसँग जोडिएको छ । यसको कारण मूत्र रोगमात्र होइन, नपुंसकताको घटना पनि बढिरहेको छ ।
यसबाट बच्न यौनमार्गको सफाइमा विशेष ध्यान दिनुपर्छ । सफाइको अभावमा संक्रमण हुने सम्भावना बढिरहन्छ । जीवनशैली परिवर्तन ल्याउनुपर्छ । यदि कसैलाई ५ एमएमको पत्थरी किड्नीमा छ भने, यसका लागि चिन्ता गर्नु पर्दैन ।
दिनमा तीन–चार लिटर पानी नियमित रूपले केही दिन पिउने हो भने पत्थरी स्वतः पिसाबबाट निस्केर जान्छ । कुनै औषधि खानु पर्दैन । पिसाबले च्यापेको बेला सबै काम छोडेर पिसाब गर्नुपर्छ । एउटा भनाइ छ, 'पिसाब र हिसाब क्लियर राख्नुपर्छ' अर्थात् पिसाबलाई च्यापेर राख्नु हुँदैन ।
कारण
यदि मूत्राशय (पिसाबको थैली) मा पिसाब जम्मा भएपछि कुनै कारणले पिसाब हुन सकेन भने त्यसलाई मूत्रावरोध भनिन्छ । महिलामा कुनै बाहिरी चीजका कारण तथा पुरुषमा सुन्नाइ, सिफलिस, गर्मीका कारण मूत्राशय एवं मूत्रमार्गमा दबाब पर्दछ । यसले गर्दा पिसाब रोकिन्छ । वृद्ध पुरुषहरूको पौरुषग्रन्थी (प्रोस्टेटग्लैंड) बढ्दछ । जसका कारण पिसाब खुलेर हुँदैन, रोकिन्छ । पिसाब गर्न धेरैबेर लाग्छ, कन्नु पर्छ, थोपाथोपा गरी पिसाब आउँछ या चुहिन्छ ।
मूत्रकृच्छमा पिसाब फेर्ने बेला दुखाइ हुन्छ । मूत्राशयमा दुखाइ भएका बेला पिसाब रोकिन्छ । यसैगरी हिस्टेरिया (स्त्री रोग) चिन्ता, टाउकोमा चोट लाग्नु, पेटको विकार, रक्सी खानु, भिरिंगी रोग, कब्जियत हुनु, पौष्टिक भोजनको कमी आदि कारणले पनि घरिघरी पिसाब लाग्छ । मूत्रमार्गको संक्रमण (यूटीआई) जस्तै-सार्वजनिक शौचालयमा पिसाब गर्दा या अस्पतालहरूमा मूत्रमार्गमा उपयोग गरिने एक किसिमको उपकरणको माध्यमबाट पनि संक्रमण हुन सक्छ । समुदायबाट संक्रमित ब्याक्टेरियाबाट पनि हुन्छ । जसलाई मेडिकल भाषामा ‘ई-कोलाई' भनिन्छ ।
पहिचान
पिसाब आएन भने मूत्राशय फुलेर आउँछ । रोगीलाई बडो बेचैनी हुन्छ । पिसाब मुस्किल र कष्टका साथ थोपाथोपा भएर चुहिन्छ । कब्ज, भोक न लाग्नु, तिर्खा बढी लाग्नु, पिसाब बढी लाग्नु, पहेँलो हुनु आदि कारणले रोगीलाई निद्रा हुन्छ । ऊ दिनदिनै कमजोर हुँदै जान्छ । कमर, तिघ्रा तथा पिडुँलामा दुखाइ हुन्छ । यस किसिमको लक्षण देखियो भने पिसाबसम्बन्धी समस्या भएको बुझ्नुपर्छ ।
निदान
संक्रमणको पत्ता लगाउन कैयौं प्रकारका परीक्षण गर्नु पर्नेहुन्छ । पिसाबको विश्लेषण गराउनुपर्छ । रिपोर्टमा यदि ब्याक्टेरिया र श्वेत रक्त कोषिका देखियो भने संक्रमण छ भन्ने कुरा पत्ता लाग्छ । चिकित्सकले आवश्यक ठानेमा अरू परीक्षण पनि गराउन सक्छन् ।
होमियोप्याथिक चिकित्सा
होमियोप्याथिक चिकित्सामा रोगीको मानसिक एवं शारीरिक लक्षणलाई हेरेर रोगीको सम्पूर्ण लक्षणको आधारमा उपचार गर्ने गरिन्छ । कुनै रोग विशेषको उपचार गरिँदैन, रोगीको उपचार गरिन्छ । पिसाबसम्बन्धी रोगमा रोगीको लक्षणनुसार प्रयोग हुने केही औषधिहरू यस्ता छन्ः
१. डायबिटिज–इसिपिड्स अधिक मात्रमा र छिटोछिटो पिसाब हुनुका साथै पिसाबमा युरिया देखिनु, प्यास लाग्नु, कमजोरी र बेचैनी हुनु । यस प्रकारको मूत्रसम्बन्धी रोगमा हेलोनियस ३० र शक्ति बढी लाभदायक हुन्छ ।
२. रातिको समय पिसाब बढी लाग्नु, दिनमा पनि घरिघरी पिसाब लागिरहनु, बढी तिर्खा लाग्नु आदि लक्षणमा प्लैन्टेगो क्यु, (मदरटिन्चर) अर्क ५ थोपा १–२ कप पानीमा राखेर सेबन गर्नु लाभदायक हुन्छ ।
३. पिसाब रोकिएर आउनु, पिसाब गर्दा कन्नु पर्ने, प्रोस्टेट ग्रन्थी बढेको भए यसको लागि कोनायम या सेबलसेरुलेटा ३० र शक्तिको लक्षणअनुसार दिनमा तीनपटक सेवन गर्नाले राहत मिल्छ ।
४. पिसाब गर्ने बेलामात्र होइन अन्य समयमा पनि मूत्राशयमा जलन भएमा स्टेफिसेग्रिया ३० रामबाँण औषधिको काम गर्दछ ।
५ काइल्युरिया रोगमा पिसाब मैदाको धुलोजस्तै सेतो खुब गाढा दूध या चियाको रङजस्तो हुन्छ । यस किसिमको पिसाबसम्बन्धी रोग भएमा सिट्लन्जिया ६ र शक्तिको औषधि सेवन लाभदायक मानिन्छ ।
६.रातको समय पिसाबले बढी च्याप्नु, फोर्स रहे पनि मूत्राशयको शक्ति घट्नु, जसका कारण धेरैबेर बसे पनि पिसाब बिस्तारै हुनु, पिसाब भइसके पछि पनि थोपाथोपा पिसाब चुहिनु, आगोले पोलेको जस्तै पिसाब पोल्नु । यस किसिमको लक्षण देखिएमा केलिकार्ब ३० शक्तिको औषधिको सेवन गर्नु पर्दछ ।
उपरोक्त होमियोप्याथिक औषधिको सेवन आफ्ना नजिकका चिकित्सकको सल्लाह लिई सेवन गर्दा उपयुक्त हुन्छ ।