ग्रामीण सडकमा डोजर लगाउदा गाउँमा पहिरो

ग्रामीण सडकमा डोजर लगाउदा गाउँमा पहिरो

चरीकोटः केही दिनदेखि परेको पानीका कारण दोलखाका विभिन्न गाविसमा भौतिक रूपमा ठूलो क्षति पुगेका छ । मुसलधारे पानीसँगै पहिरोको कारण भूकम्पपीडितहरू थप मर्कामा परेका छन् । पहिरोका कोराण धेरै स्थानीयका टहरा बगाएको छ भने धेरै ठाउँमा धान, कोदोलगायतको बाली पुरेको छ । यस्तै अधिकांश गाविसका ग्रामीण सडक भत्किएर यातायात अवरुद्ध हुँदा स्थानीय प्रभावित भएका छन् ।

एक साताभित्र दोलखाको ५० प्रतिशतभन्दा बढी भूभाग पहिरोको कारण क्षतविक्षत भएको छ । हालसम्म मानवीय क्षति नभए पनि भौतिक क्षति भने धेरै भएको स्थानीयको भनाइ छ । यो पटकको वर्षा खण्डखण्ड भएर आएको र धेरै ठाउँमा क्षति पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी औलखबहादुर आलेले जानकारी दिए । उनले पानीसँगै आएको बाढीका कारण धेरैको बिचल्ली बनाएको बताउँदै उनीहरूको सुरक्षाका लागि आफू गम्भीर भएर लागेको प्रतिक्रिया दिए । उनले कुनकुन गाविसमा कति क्षति भयो भन्ने एकीन जानकारी नआइसकेको बताउँदै यो वर्ष अन्य वर्षभन्दा बढी क्षति भएको जानकारी दिए ।

झुले ८ का ९४ वर्षीया लालमाया तामाङले आफ्नो जीवन कालमा पहिलो पटक यति ठूलो पानी परेको देखेको बताए । झुले गाविस ८ को स्कुलडाँडामुनिको चार घर पूर्ण रूपमा विस्थापित भएका छन् भने ४,५ र ६ नम्बर वडाका २ सयभन्दा बढी घर विस्तापित हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । झुले ५ का स्थानीय दीपक कार्कीले ठूलो पानी परेको समयमा आफन्तको घरमा गएर बस्ने गरेको बताए ।

बाढी पहिरोकै कारण जफे गाविस ७ मा रहेको ज्ञानबहादुर कार्की र ढालबहादुर माझीको टहरा पनि बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए । मेलुङ गाविसको शीतलीमा पनि एक घरमा क्षति पुर्‍याएको उनले बताए ।

पहिरोका कारण पुष्पलाल मार्गअन्तर्गत भीरकोट गाविसको गोपीखोलामा पहिरोका कारण दिनभर यातायात अवरुद्ध भएको थियो भने भीरकोट गाविसकै नारायणी उच्च माविछेउँमै झरेको पहिरो पन्छाउन कुनै पनि निकायले चासो नदेखाएकै कारण १० भन्दा बढी गाविसका स्थानीयलाई आवातजावतमा समस्या भएको भीरकोट गाविसका स्थानीय विशाल कार्कीले जानकारी दिए ।

बाढी खेतमा पसेपछि मालु गाविसस्थित मालुखोला आसपासका करिब २० जनाभन्दा बढीको खेत पुरेको स्थानीय दीपेन्द्र खड्काले जानकारी दिए । उनले खेतमा पानीसँगै आएको बाढी पसेर धानबाली पूर्ण रूपमा नष्ट पारेको बताए ।

गाउँगाउँमा पहिरो जानुको मुख्य कारण सडक निर्माणको क्रममा डोजर प्रयोग गर्नु रहेको जानकारको भनाइ छ । जिल्ला विकास समिति दोलखाले केही वर्षअघि ग्रामीण सडकमा डोजर प्रयोग गर्न नपाइने नियम बनाए पनि पछिल्लो समय त्यसलाई कार्यान्वयन नगरी जथाभावी डोजर प्रयोग गरी सडक निर्माण गर्दा यस्तो समस्या आएको सबओभरसियर चन्द्र दाहालको भनाइ छ ।

असार मसान्तमा हतारहतार जतासुकै डोजर प्रयोग गरेर सडक खन्दा सडकको लेभल पनि नमिल्ने, जमिन कमजोर हुने र ठूलो पानी परेपछि बगेर जाने भएकाले अहिले यस्तो समस्या आएको दाहाल बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.