१६ वर्षीया किशोरी ‘सुरक्षाका लागि’ दाम्लोमा
स्याङ्जाः जिल्लाको पिडीखोला गाविस ७ सल्यानकी १६ वर्षीया निरमाया सिँजालीमगर केही वर्षदेखि दाम्लोमा बाँधिएर बस्न बाध्य छिन् । खाने समय होस् वा सुत्ने, चौबिसै घन्टा उनी दाम्लोमा बाँधिएकी हुन्छिन् । बाँधिएको दाम्लो जतिसम्म तन्कन सक्छ त्यति नै उनको यात्रा हो । त्यहाँभन्दा उनी अघि बढ्नै सक्दिनन् ।
दाम्लोमा बाँधेर राख्नु अभिभावकको बाध्यता रहेको बाबु भीमबहादुर सिँजाली बताउँछन् । ‘दुवैले काम नगरे खानै पुग्दैन । नानीलाई यत्तिकै छाडे लडेर चोटपटक लाग्छ । धानिएर हिँड्न सक्दिन । उसकै सुरक्षाका लागि दाम्लोले बाधेका हौं’, आमाबाबु एकैसाथ भन्छन् । गाउँघरमा ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका सिँजाली दम्पतीलाई छोरीको रेखदेख गर्न न समय नै छ, न त घरमा बसेर खानपुग्ने अनाज नै । न्यून आर्थिक हैसियतका सिँजालीका ७ मध्ये निरमाया पाँचौं सन्तान हुन् ।
‘अरू सन्तान सामान्य छन् । निरमाया जन्मँदै असामान्य थिइन् । तर अहिलेजस्तो हिँडडुल गर्न नसक्ने भने होइन’, आमा हरिशोभा भन्छिन् । बोल्न नसक्ने तर अलिअलि हिँडडुल गर्नसक्ने भएकै कारण उनलाई स्थानीय चण्डी प्राथमिक विद्यालयमा भर्ना गरियो । दाइ र दिदीहरूको सहाराले उनी एक वर्षसम्म विद्यालय पनि गइन् । पछि उनमा एकाएक परिवर्तन आयो । हातखुट्टा नचल्ने प्यारालाइसिसजस्तै भयो । बोली पनि बन्दै भयो । मानसिक सन्तुलन पनि गुम्यो । विद्यालयमा जान सकिनन् । अभिभावकले बाध्य भएर घरको झ्यालमा दाम्लोले बाँधेर राख्न थाले ।
हिजोआज आफ्नै सुरमा नबुझ्ने गरी बोल्ने, कहिले मुख बांगो बनाउँदै हाँस्ने निरमाया कसैले बोलाए पनि बोल्दिनन् । थरथर काँप्ने, आँखा, मुख, हात अनि खुट्टा बटार्ने र कहिलेकहीं त बेहोसै पनि हुने गर्छिन् ।
स्थानीय अस्पतालमा उपचार गराए पनि सहरका ठूल्ठूला अस्पतालमा लानसक्ने हैसियत आफूहरूसँग नभएको सिँजालीदम्पतीको भनाइ छ । ‘उनीसँगैका साथी उच्च शिक्षाका लागि पढ्न गएका छन् । आफ्नी छोरीलाई भने आफ्नै हातले पशुसरह बाँधेर राख्नुपर्दा आफूलार्ई असह्य पीडा हुने गरेको’, बाबा सिँजाली भन्छन् ।
दिनभर बाँधिएर बसेकी निरमायाको स्याहारसुसार गर्ने कोही हुँदैन । घरमा एक्ले राखिएको हुन्छ । बाबाआमा, दाइ, दिदी र भाइहरूका आआफ्ना काम हुन्छन् । न उनले भोक लागेको बेला खान पाउँछिन्, न त प्यास लागेको बेला पानी नै । मागेर खान पनि सक्दिनन् उनी । अत्यन्त न्यून आर्थिक अवस्थाका कारण सिँजाली परिवारले ठूलो अस्पतालमा लैजान सकेका छैनन् । उपचारका लागि आश्वासन दिएर जानेहरू पनि फर्केर नआएकोमा सिँजाली परिवार दुःखी छ ।