८३ वर्षे सुखरामको अकबरे व्यवसाय 

८३ वर्षे सुखरामको अकबरे व्यवसाय 

खाँदबारीः उमेरले डाँडा काटेका उनी आवाज राम्रो सुन्दैनन्, खुर्सानी बिक्री गर्न बसेका उनलाई खुर्सानीको मूल्यभन्दा पनि कति वर्ष पुग्नुभयो भनेर सोध्छन् सबैले । चार कोरी तीन वर्ष पुगें भनेर उत्तर दिन्छन् उनी सबैलाई ।

पाको वृद्धलाई देखेर बजारमा सबै चकित हुँदै भन्छन्, आराम गर्नुपर्ने उमेरमा यस्तो व्यवसाय, किन बा ? जिल्लाको उत्तरी दुर्गम गाविस सिसुवाखोला–६ तेन्छोङका ८३ वर्षीय सुखराम राईले अकबरे खुर्सानी बिक्री गरेर वर्षको दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए । छोरा, बुहारी, नातिनातिना, पनातिले अरू नै पेसा गरे पनि उनी खुर्सानी व्यवसाय गरेरै राम्रो आम्दानी गर्छन् । ‘म खुर्सानी आफैं रोप्छु, आफैं टिप्छु, अनि आफैं बजारमा ल्याएर बिक्री गर्छु’, उनले भने ।

ग्राम, किलोग्राम जाँन्दैनन्, पुरानै नाप पद्धति मानापाथी चलाउँछन् उनी । सुकेको अकबरे खुर्सानी एक मानाको तीन सयदेखि तीन सय ५० रुपैयाँमा बिक्री गर्छन् । संखुवासभाका मानेभन्ज्याङ, खाँदबारी, तुम्लिङटार, भोजपुरको दिङला, भोजपुर बजारसम्म उनी खुर्सानी बिक्री गर्न पुग्छन् । मुख्य बजार नै यिनै हुन् उनका । विदेशमा जानेहरूले गाउँको अर्गानिक खुर्सानी भन्दै कोसेलीका रूपमा बढी खरिद गर्ने गरेको उनी बताउँछन् ।

 

‘पाको भए काम गर्न सक्दिनँ, चार गरामा खेती लगाएको छु, यो करिब एक कठ्ठा हुन आउँछ’, उनले भने । उनले वार्षिक दुई मुरीसम्म खुर्सानी उत्पादन गर्ने गरेको बताए । स्थानीय बजारमा नै माग बढी हुने गरेकाले पूरा गर्न नसकेको उनी बताउँछन् । उनले साउन, भदौ, असोजसम्म हरियो खुर्सानी र अन्य महिनामा सुकाएर राखेको खुर्सानी बिक्री गर्दै आएका छन् । सुकाएर राखेको अकबरे दुई वर्षसम्म नबिग्रिने उनको अनुभव छ ।

सबैले मन पराउने भएकाले अकबरे खुर्सानीको मूल्य स्थानीय बजारमा राम्रो छ । अचारको रूपमा धेरै वर्षसम्म राखेर खाने, पिरो बढी हुने, स्वास्थ्यलाई असर नगर्ने अकबरेको मुख्य गुण हो । यसले रोगबाट प्रतिरक्षा गर्ने गाउँले बुढापाकाको भनाइ छ ।

राईले १० वर्षदेखि अकबरे खेती गर्दै आएका हुन् । अकबरे खुर्सानी रोपेपछि पाँचदेखि सात वर्षसम्म आम्दानी दिन्छ । राईले गाउँमा आफैंले बेर्ना उत्पादन गरी खेती विस्तार गरेको बताए । ‘छोरा, नाति, पनातिको गुजारा चलाउन खर्च दिन्छु, अरू केही गर्न सकिएन’, उनले भने ।

सिसुवाखोला–६ तेन्छोङका ८३ वर्षीय सुखराम राई अकबरे खुर्सानी खेती गरेर वर्षको दुई लाखसम्म आम्दानी गर्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.