उद्योग दर्ता हुन्छन् सञ्चालन हुँदैनन्
बनेपाः स्थापना भएका घरेलु तथा साना उद्योगमध्ये अधिकांश सञ्चालनमा आउन सकेका छैनन् । पर्याप्त जानकारी बिना अरूको देखासिकी गरेर उद्योग स्थापना गर्ने होडका कारण यस्तो अवस्था आएको हो । आफूले सञ्चालन गर्ने व्यवसायको भविष्य र त्यसका सम्भावनाका विषयमा राम्रो जानकारी नभई उद्योग दर्ता गर्ने प्रचलनले सञ्चालन हुन नसकेका हुन् ।
सरकारी र गैरसरकारी संघसंस्थाको अनुदान र सेवा सुविधाका लागि उद्योग दर्ता गर्नेको संख्या बढे पनि काम गर्न सकेका छैनन् । आर्थिक वर्ष २०७१/७२ मा जिल्लामा ६ सय २२ उद्योग दर्ता भएका थिए भने आर्थिक वर्ष २०७२/७३ मा यो संख्या बढेर ६ सय ३२ वटा दर्ता भएको घरेलु तथा साना उद्योग धुलिखेलका प्रमुख माधव गौतमले जानकारी दिए । उनका अनुसार यस आवमा उत्पादनमूलक ६८, सेवामूलकमा एक सय ९५, कृषि तथा वन जन्य दुई सय ९६ र पर्यटनमा ७३ उद्योग दर्ता भएका छन् ।
पहुँचवाला र टाठाबाठाले अनुदान र सहुलियत ऋणका लागि उद्योग दर्ता गर्ने तर काम नगर्ने प्रबृत्ति बढेको छ ।
सरकाले दिने कृषि अनुदान प्राप्त गर्ने उद्देश्यले उद्योग दर्ता गरे पनि सञ्चालन नगर्ने परपरासमेत विकास हँदै गएको छ । सरकारी अनुदान, बैंक तथा सहकारीबाट सहुलियत ऋणलगायत फाइदाका लागि उद्योग दर्ता गर्नेको संख्यासमेत बढेको छ । पछिल्लो समय कृषि र पशुपालन सम्बन्धी उद्योग दर्ता बढेको छ । गौतमले भने, ‘सरकारी र गैरसरकारी संस्थाले दर्ता भएका उद्योगलाई लगानी गर्न प्राथमिता दिने र नेपाल सरकारले दिने अनुदान पनि व्यक्तिभन्दा दर्तावाल उद्योगलाई नै महत्व दिन थालेपछि अहिले जिल्लामा उद्योगको संख्या दिनप्रतिदिन बढ्न थालेको हो ।’
तथ्यांकमा उद्योग दर्तासँगै उद्यमीसमेत बढेको देखिन्छ । घरेलु कार्यालयको तथ्यांकअनुसार आठ सय २७ उद्यमी बढेकोमा एक सय ३५ मा महिलाको समेत सहभागिता छ । दर्ता भएका उद्योगमा २७ सय १७ लाई रोजगारी दिने उल्लेख छ भने नौ सय ७६ महिलाले रोजगारी पाउने देखिन्छ ।
६ सय ३२ उद्योगले ८१ करोड एक लाख बराबरको लगानी गर्ने र वार्षिक एक अर्ब ६९ करोड १० लाख बराबरको कारोबार गर्ने उल्लेख गरिएको छ । यस आवमा मात्र उद्योग दर्ता गराएर घरेलु तथा साना उद्योग कार्यालयले ३९ लाख ८३ हजार राजस्व उठाएको छ ।
जिल्लामा तीन हजार नौ सय ३५ उद्योग दर्ता भएका छन् । तर, कति सञ्चालनमा छन् । कति उत्पादन गर्छन् र कस्तो अवस्थामा छन् भन्ने बारे दर्तावाला निकायनै बेखबर छ । पहँचवाला र टाठाबाठाले अनुदान र सहुलियत ऋणका लागि उद्योग दर्ता गर्ने तर काम नगर्ने प्रबृत्ति बढेको देवीटार गाविसका धनध्वज तामाङले बताए ।
काम नगरे पनि दर्ता र राज्यले समय समयमा अनुगमन गर्ने संयन्त्र नहुँदा उद्योग दर्ता बढ्ने तर सञ्चालनमा भने नआउने गरेको उद्योगीको गुनासो छ । उद्योग दर्ता बढे पनि कागजमा मात्र दर्ता गर्ने तर सञ्चालनमा नआउने हुँदा व्यावसायिक रूपमा निरन्तर काम गर्नेलाई समस्या भएको व्यावसायिक रूपमा उद्योग दर्ता गरेर काम गर्नेको गुनासो छ । पछिल्लो समय काभ्रेका विकट गाउँगाउँमा समेत यातायात तथा सञ्चारको पहँच पुगेकाले अधिकांश ठाउँमा उद्योग सञ्चालनमा आउन थालेका छन् ।