बार्सिलोनालाई स्पेनिस सुपर कप
बार्सिलोनाः बार्सिलोनाले नयाँ सिजनको पहिलो उपाधिका रुपमा स्पेनीस सुपर कप जितेको छ । अर्दा तुरानको दुई महत्वपुर्ण गोल मद्धतमा बुधबार राति सेभिल्लालाई ३-० गोलअन्तरले पराजित गरेको बार्सिलोनाले समग्र्रमा ५-० को जितसहित उपाधि हात पारेको हो ।
र्सिलोनाले अघिल्लो लेगको खेलमा २-० को जित हात पारेको थियो ।स्पेनीस सुपरकपमा स्पेनिस ला लिगा तथा कोपा डेल रे फुटवल प्रतियोगिताका बिजेताले प्रतिस्पर्धा गर्ने गर्छन् । दुबै प्रतियोगिता एकै टोलीले जितेको अवस्थामा कोपा डेलरेको उप बिजेता टोलीले सुपर कपमा प्रतिस्पर्धाको अवसर पाउने छ । गत बर्ष बार्सिलोनाले स्पेनिस लिग तथा कोपा डेल रे दुबैको उपाधि जितेको थियो ।
त्यसैले यस पटक बार्सिलोनासँग कोपा डेल रेको उप बिजेताको हैसियतमा सेभिल्लाले स्पेनिस सुपर कपको फाइनलमा प्रतिस्पर्धा गरेको हो ।घरेलु मैदान क्याम्प नाऊमा भएको दोस्रो लेगमा बार्सिलोनालाई बिजयी बनाउन तुरानले दुई तथा लियोनल मेसीले एक गोल गरे ।
गत सिजन टोलीका लागि त्यति प्रभावसाली प्रदर्शन गर्न नसकेका तुरानले यस पटक भने सिजनको सुरुवातमै उत्कृष्ट प्रदर्शन दिएका छन् ।
टर्कीका मिडफिल्डर तुरानले खेलको १० औं मिनेटबाटै टोलीलाई अगाडी बढाउन सुरु गरेका थिए । मेसीको पासमा गोल गर्दै उनले बार्सिलोनालाई १-० ले अघि बढाएका थिए ।पहिलो हाफमा १-० ले अघि रहेको बार्सिलोना दोस्रो हाफमा थप दुई गोल थप्न सफल बन्यो ।
दोस्रो हाफको सुरुवातमै ४७ औं मिनेटमा लामो दुरीबाट शसक्त प्रहार गर्दै तुरानले नै टोलीको अग्रता २-० मा पुर्याएका थिए । त्यसपछि खेलको ५५ औं मिनेटमा मेसीले हेडिङ गोलमार्फत टोलीको अग्रता ३-० मा पुर्याए । बार्सिलोनाले खेलको अन्तिम १० मिनेट १० जनामा खेलेको थियो ।
डिफेन्सिप मिडफिल्डर जेभियर मास्केरानो चोटका कारण खेल्न नसक्ने भएपछि मैदानबाट बाहिरीएका थिए । तर त्यस अघिनै तीन खेलाडीको परिवर्तन गरीसकेकाले बार्सिलोनाले मास्केरानोको स्थानमा खेलाडी पठाउन पाएन ।
नयाँ सिजनको पहिलो उपाधिसहित बार्सिलोनाले यस पटक पनि आफु शसक्त रुपमा प्रस्तुत हुने संकेत गरेको छ । प्रशिक्षक लुईस इन्रिकको नेतृत्वमा खेलेको १० प्रतियोगितामा बार्सिलोनाले जितेको यो आठौं उपाधि हो ।
‘यी खेलाडीलाई खेलाउन पाउनु मेरो भाग्यको कुरा हो । उनिहरुले आफ्नो प्रदर्शनमार्फत मलाई अचम्वित पार्न अझै छाडेका छैनन्’, उपाधि जितेपछि इन्रिकले भने, ‘हामीले सहभागीता जनाएका सबै प्रतियोगिता जित्न चाहन्छौं ।’सेभिल्लाका लागि भने यो साता पनि खराव बन्यो ।
अघिल्लो साता मात्रै युरोपेली फुटवल महासंघ (यूईएफए) सुपर कपको उपाधि गुमाएको सेभिल्ला दुई सातामा दुई उपाधि गुमाउन पुगेको छ । सेभिल्ला रियल म्याड्रिडसँग पराजित हुदै यूईएफए सुपर कपको उपाधिबाट बञ्चित बनेको थियो ।
दोस्रो लेगको खेलमा सेभिल्लाले बार्सिलोनलाई त्यति बलियो टक्कर दिन सकेन । प्राय समय दबाबमा खेलेको सेभिल्लाले बार्सिलोनाको पोष्टमा कमै आक्रमण गरेको थियो ।