क्रिष्टियानो रोनाल्डो चोटमुक्त, रियल मड्रिडको अभ्यासमा फर्किए
मड्रिडः रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोका फ्यानहरुलाई एउटा खुशीको खबर छ। त्यो हो, चोटग्रस्त भएर आराम गरिरहेका रोनाल्डो अभ्यासमा फर्किएका छन्।
फ्रान्समा भएको युरोकप २०१६ को उपाधि पोर्चुगलले जित्दा खेलको २५ औं मिनेटमै चोटग्रस्त भएर मैदानबाट बाहिरिएका रियल मड्रिडका स्ट्राइकर रोनाल्डो पहिलो पटक बिहीबार अभ्यासका लागि मैदानमा उपस्थित भएका हुन्।
रोनाल्डोको रियल मड्रिडले ला लिगामा पहिलो खेल आइतबार रियल सोसिडाडविरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्दैछ। तर, त्यो खेलमा भने रोनाल्डो मैदान भने उत्रने छैनन्। चोटग्रस्त भएपछि रोनाल्डोले प्रिसिजनका सबै खेल गुमाएका थिए।
रोनाल्डो आउँदो हप्ता हुने कुनै पनि खेलमा मैदान नउत्रिने बताइएको छ। चोटमुक्त भएर अभ्यासमा फर्किएका रोनाल्डो अभ्यासमा व्यस्त छन्। तर, रोनाल्डो अर्को शनिवार घरेलु मैदान सान्टियागो बर्नबाउमा हुने सेल्टा भिगोविरुद्धको खेलमा मैदान उत्रिन सक्ने बताइएको छ।