पहिले जस्तो छैन गाईजात्रा

पहिले जस्तो छैन गाईजात्रा

भक्तपुरः भक्तपुर नपा ११ टौमढीका दिवानचन्द्र धौभडेल दायाँबायाँका सबै गाईजात्रामा रमाइरहँदा उनी भने एक्लै भुतभुताइरहेका थिए, नयाँ पुस्ताले गाई जात्रा सिध्यायो । उमेरले छ दसक लागेका उनी नयाँ पुस्ताले गाईजात्रामा लट्ठी जुधाएर नाचिने घिन्ताङघिसीकै खिल्ली उडाएकोमा चिन्ता व्यक्त गरिरेहका थिए ।

उनले तत्काल निष्कर्ष निकाले, ‘यही तालले भक्तपुरको गाईजात्राले मौलिकतामात्रै गुमाउने छैन, अब आउने पुस्ताले घिन्ताङघिसी नाचसमेत नाच्न जान्ने छैनन् ।’

धौभडेलमात्रै होइन उमेरले सात दसक नाघेका कुलबहादुर सुवाल पनि गाईजात्रा यही अवस्थामा अघि बढे गाईजात्राको प्रमुख आकर्षण घिन्ताङघिसी नाच लोप हुने बताउँछन् ।

उनले आजभोलिका युवायुवतीले घिन्ताङघिसीको ताल नै पक्रन नसकेको गुनासो गरे ।

‘आजभोलिका युवायुवतीले घिन्ताङघिसीको ताल नै पक्रन सकेन’, सुवाल भन्छन्, ‘ठूल्ठूलो स्वरमा चिच्याएर लट्ठी जुधाइँदैमा घिन्ताङघिसी नाचिँदैन ।’
उनका अनुसार गिनी ट्वाङ गिनी ट्वाङ घिन्ताङघिसी ट्वाङ, ताताखती नखधिङ घिन्ताङघिसी ट्वाङको तालमा खुट्टा, कम्मर, जिउ र टाउको एकनासले हल्लाएर घिन्ताङघिसी नाच नाच्नुपर्छ ।

तर आजभोलिका युवाहरु बेतालमा चिच्याउँदै, उफ्रँदै लट्ठीमात्रै जुधाउने गरेको उनको गुनासो थियो ।

गाईजात्रामा यहीं ताल मिलाएर एक महिनाअघिदेखि नै टोलटोलमा तालिम दिइन्छ । यसरी महिनौ लगाएर तालिम दिइँदा पनि युवायुवतीहरुले घिन्ताङघिसीको तालभन्दा बेतालमा नाच्न थालेको धौभडेल सुनाउँछन् ।

‘अहिलेको गाईजात्रा पहिले जस्तो छैन’, धौभडेल थप्छन्, ‘घिन्ताङघिसी नाचको मोहकता हराइसक्यो । अहिले बाजागाजा तथा वाद्यवादनको मिठो धुनभन्दा युवायुवतीहरुको चिच्याहटमात्रै सुनिन्छ ।’

उनीहरुले युवाहरुलाई गाईजात्राको मौलिकतामा भिजाउन नसकिए घिन्ताङघिसी नाचको मौलिकता लोप भएरै जाने चिन्ता व्यक्त गरेका छन् ।

समावेशी हुँदै गाईजात्रा
स्थानीय ज्येष्ठ नागरिकहरुले गाईजात्राको मौलिकमा चिन्ता व्यक्त गरिरहँदा पछिल्लो समय भक्तपुरको गाईजात्रा समावेशी हुन थालेको छ ।

नेपालभाषीहरुले मात्रै मनाउने गाईजात्रामा गैरनेपालभाषी नेपालीसँगै विदेशीहरु समेत सहभागी हुन थालेका छन् । भक्तपुरको गाईजात्रामा नाचिनेका घिन्ताङघिसीमा पछिल्लो समय नेपालभाषीसँगै गैरनेपालभाषी नेपाली र विदेशीहरुको सहभागिता बढेको हो ।

घिन्ताङघिसी नाचसँगै गाईजात्रा हेर्ने जात्रालुहरुमा पनि गैरनेपालभाषीहरुको बाहुल्यता बढ्न थालेको छ । जसले गर्दा भक्तपुरको गाईजात्रामा गाई तथा घिन्ताङघिसी नाच घुम्ने बाटोहरु साँघुरा भएका छन् ।

शुक्रबार जता गए पनि जात्रालुहरुबीच ठेलमठेल थियो । जात्रालुहरुको भीडले गर्दा घिन्ताङघिसी नाचमा सहभागीलाई नाच्दै अघि बढ्नसमेत हम्मेहम्मे भएको नाचमा सहभागीहरुले बताए ।

यसैबीच भक्तपुरमा नौदिनसम्म मनाइने गाईजात्राको पहिलो दिन शुक्रबार सकिएको छ । वर्षभरिमा दिवंगतहरूको सम्मान तथा सम्झनामा गाईको प्रतीक बनाई नगर परिक्रमासँगै घिन्ताङघिसी नाच नचाएर पहिलो दिनेको जात्रा सकिएको हो ।

भक्तपुरका दिवंगतहरुको गाई नगर परिक्रमा सकिएपश्चात भक्तपुर नपा १२ लाकोलाछेंबाट भैरव र भद्रकालीको गाई नगर परिक्रमा गराइएपछि शुक्रबार पहिलो दिनको जात्रा सकिन्छ ।

भाद्र प्रतिपदाको दिन मृतकको आत्मालाई गाईको प्रदर्शनले यमलोकमा प्रवेश हुने जनविश्वासअनुसार नेवारहरू प्रत्येक वर्ष यस दिन गाईजात्रा मनाउँछन् ।
शुक्रबार परम्परागत घिन्ताङघिसी नाचसँगै अन्य मौलिक एवं परम्परागत नाचसमेत प्रदर्शन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.