भविष्य खोज्दैछन् एचआईभी संक्रमित बालबालिका
आठ वर्षीया सोनी निमोनियाले थला परिन् । उपचारका लागि उनलाई तुरुन्त टेकु अस्पताल लगियो । टेकुले आईसीयूको व्यवस्था नभएका कारण कान्तिमा रेफर गर्यो । सोनीलाई टेकुका एकजना डाक्टरसहित बाह्र बजे कान्ति अस्पताल पुर्याइयो । तीन बजेसम्म अस्पतालले भर्ना लिन मानेन । सोनी एचआईभी संक्रमित हुन् भन्ने थाहा पाएर डाक्टरले शय्या खाली छैन भने ।
'कान्तिबाट टिचिङ लैजाऊ भनेको थियो । त्यतिन्जेलसम्म सोनीको हालत नाजुक भइसकेको थियो । अक्सिजन लगाएर राखेको सोनीको सास हिक्कहिक्क हुन थाल्यो । मम्मी भन्दै जिउ छोडेर ड्वाङ्ग लडिन्', सोनीकी 'मामु' उमा गुरुङले गत माघको घटना सम्झिइन् ।
बेबी लाइफ होमकी संस्थापकमध्ये एक उमाले त्यहीं आ श्रय लिइरहेकी एचआईभी संक्रमित सोनी भुइँमा डङ्ग्रङ्ग लडेपछि माया नै मारिसकेकी थिइन् । भूकम्पले बसिरहेको घर भत्किएपछि खुला ठाउँमा टेन्ट हालेर बस्दा सोनीलाई चिसोले समातेको थियो ।
कीर्तिपुर भत्केपाटीमा सोनीजस्तै २३ एचआईभी संक्रमित बालबालिकालाई उमा गुरुङ र राजकुमार पुनले पालनपोषण गरिरहेका छन् । सोनीकी दिदी मनीषा र भाइ डम्बर पनि सँगै बस्दै आएका छन् ।
'अस्पतालले भर्ना लिन नमानेपछि धेरै सोर्सफोर्स लगाउनुपरेको थियो', 'ड्याडी' राजकुमार पुनले भने । त्यहाँ चारवटा शय्या खाली नै थिए । जसोतसो भर्ना भएपछि सोनी छ दिन आईसीयूमा बसेपछिमात्र सामान्य अवस्थामा फर्किएकी थिइन् । उमा 'उसको मीठो स्वर फेरि सुन्न पाऊँ' भनेर भगवान्सँग प्रार्थना गरिरहेकी थिइन् ।
सोनी बेबी लाइफ होममा आश्रय लिइरहेका मध्ये गायनमा खप्पिस छिन् । उनले गायिका बन्ने लक्ष्य लिएकी छन् । उनी बेबी लाइफ होमभित्रै खोलिएको एचआईभी सफलता स्कुलमा तीन कक्षामा अध्ययन गर्दैछिन् ।
त्यो बेला कान्ति अस्पतालको एआरटी विभागका प्रमुख वरिष्ठ डाक्टर गणेश राईले यी सबै कुरा थाहा पाएपछि सोनीलाई भर्ना गर्न धेरै सजिलो भएको उमाको अनुभव छ । 'जुनसुकै रोग लागेको भए पनि अस्पतालले भर्ना नलिनु, डाक्टरले नहेर्नु भनेको जघन्य अपराध हो । बिरामीका अभिभावक पनि गम्भीर प्रकृतिका रोग लागेकै कारण भर्ना लिन नमानेको हो भन्ने मानसिकता राख्छन्', राईले भने ।
अहिले कान्तिमा काम नगर्ने राईले कान्तिमा आफू कार्यरत रहँदा संक्रमित बालबालिकालाई अरूबाट छुट्ट्याउँदा एक्लो महसुस गर्ने भएकाले अरूसँग घुलमिल गराउनुपर्छ भन्ने सुझाव दिएको बताए ।
नौ वर्षका दीपक पुनलाई दाँतको समस्याले निकै गाँजिसकेको छ । कीराले खाइसकेको दाँतका कारण उनको गिजा पाक्न थालेको छ । बेलाबेलामा असह्य पीडा हुन्छ । दीपकजस्तै पुष्पा भन्डारी र करण थापा पनि सबैभन्दा धेरै दाँतको समस्या भएका बालबालिका हुन् । 'तर उनीहरूको उपचार गर्न सकेका छैनौं', राजकुमारले भने, 'टेकुजस्तो अस्पतालमा बच्चाको दाँतको डाक्टर छैन भनेपछि हामीले अन्त जाने ठाउँ पाएका छैनौं ।'
पुनका अनुसार विभिन्न क्लबबाट डाक्टरहरू उपचार गर्न भनेर आइरहन्छन् बेबी लाइफ होममा । बालबालिकालाई मुख आँ गर्न लगाउँछन् । परैबाट फोटो खिच्छन् । छुन मान्दैनन् । 'सर्ला र इन्फेक्सन होला भनेर एप्रोन लगाई परैबाट फोटो खिचेर पनि उपचार हुन्छ ? ' डाक्टरहरूलाई पुनको प्रश्न छ ।
'अहिलेको चुनौती यही हो । पैसा तिरेर उपचार गर्छु भन्दा पनि सम्भव छैन', उनले भने । अस्पताल जाँदा कुनैकुनै डाक्टरले त एचआईभी छ भनेर किन पहिले नै नभनेको भनेर गाली गर्छन् । 'डाक्टरहरूले प्रचारका लागि मात्रै काम गर्न खोजेको देखें । सेवा गर्ने मनसाय छैन । आउन त ठूल्ठूला डाक्टर, अस्पतालका संस्थापक आउँछन्, उहाँहरूसँग छोराछोरीको सहयोगको वातावरण मिलाइदिन आग्रह गरेको छु', पुनले भने ।
एचआईभी के हो भनेर शतप्रतिशतले बुझेको ठम्याइ छ तर व्यावहारिक हिसाबमा हेर्ने हो भने एक प्रतिशतले पनि बुझेको देखिँदैन ।
डाक्टर राई भन्छन्, 'अहिले धेरैजसो दाँतको समस्या जंक फुडका कारण भएको हो । उचित सरसफाइको अभावले दाँतको समस्या धेरै बढ्छ । मान्छेको मुखमा सबैभन्दा धेरै कीटाणु हुन्छन् । यसलाई सेफ्रोफाइड भनिन्छ । यसमा अलिकति गडबड भए इम्युन सिस्टम कमजोर हुनेलाई धेरै समस्या पर्छ । यसका कारण सिडीफोर घट्छ । त्यसैले खाने बानी सधार्नुपर्छ । तर संक्रमित भएकै कारण भेदभाव नहुनुपर्ने हो ।'
शिक्षा पाउन त्यस्तै गाह्रो
केही समयअघि पूर्वप्रधानमन्त्री केपी ओलीकी श्रीमती सोध्दैखोज्दै बेबी लाइफ होम पुगिन् । टेलिभिजनमा यहाँका बच्चाको रिपोर्ट हेरेपछि उनी आउन चाहेकी थिइन् । 'उहाँले यहाँको समस्याका बारेमा बुझ्नुभयो । राजधानीका कुनै पनि विद्यालयले भर्ना लिन नमानेपछि हामी आफैंले एचआईभी स्कुल सञ्चालन गरिरहेका थियौं ।
तर कक्षा आठसम्म सञ्चालनका लागि चार वर्षदेखि पटकपटक धाउँदा पनि जिल्ला शिक्षा कार्यालयले टेरपुच्छर लगाएको थिएन । ओली र उहाँकी श्रीमतीलाई त्यसैका लागि सहयोग गरिदिन भनेका थियौं', पुनले भने, 'उहाँहरूले सहयोग गरिदिनुभयो । आठ कक्षासम्म सञ्चालन अनुमति पायौं । अहिले तीनजना छोराछोरी कक्षा आठमा पुगेका छन् ।'
यो वर्षदेखि एचआईभी संक्रमित बालबालिका समाजमा घुलमिल होऊन् भनेर सामान्य बालबालिकालाई पनि भर्ना गर्ने अभियान उनीहरूले थालेका छन् । यो वर्ष एउटा बच्चा भर्ना भइसकेको छ ।
गाउँलेको विरोध
एचआईभी संक्रमितको पहिचानस्वरूप रातो रङ लगाएको घरमा भूकम्पले क्षति पुर्याएपछि आठ महिनासम्म पालमै बित्यो । बालबालिकामा अनेकौं समस्या देखिए पनि पोहोरको दसैं पालमै मनाए । अहिले आश्रम भएको जग्गामा सुरुमा पाल हालेर बस्न खोज्दा स्थानीयले विरोध गरे । एचआईभी संक्रमित बालबालिकालाई यो गाउँमा बस्न दिँदैनौ पनि भने ।
यो कुरा यस क्षेत्रका सांसद राजन केसीले थाहा पाए । उनले सहयोग गरेपछि एचआईभी संक्रमितहरूले यहाँ बस्न पाए । 'बुझ्दै जाँदा यो जग्गा बैंकले लिलामी गर्न लागेको रहेछ । जग्गाधनीसँग कुरा गरी रिनपान गरेर 'बेबी लाइफ होम' का नाममा बनायौं', पुनले भने, 'रिन बिस्तारै तिरौंला तर हामी मरेर गए पनि हाम्रा बालबालिकालाई अब कसैले निकाल्न सक्तैनन् ।'
विभिन्न व्यक्ति र संस्थाको सहयोगमा यो घर बनेको हो । कसैले इँट र कसैले जस्तापाता दिएर सहयोग गरेका छन् । यहाँका एचआईभी संक्रमित बालबालिकाको भविष्य यही घर हो ।
बालबालिकाको स्याहार
संक्रमित बालबालिका जति नै स्वस्थ देखिए पनि संवेदनशील हुन्छन् सामान्य बालबालिकाको तुलनामा । उनीहरूलाई उचित रेखदेख चाहिन्छ । मन्जु चन्द यस्तै समस्या भएकी बालिका हुन् । उनको सिडीफोर सातआठ सय पुगेको छ बल्ल । सामान्य मानिसको सत्र सयजति सिडीफोर हुनुपर्छ । जसको सिडीफोर कम हुन्छ उसको भाइरस एक्टिभ भइहाल्छ । सबैभन्दा कमजोर उनै हुन् । तर मोटोघाटो देखिन्छिन् ।
'कमजोर बालबालिकालाई खाना मिलाएर खुवाउँछौं । खानामा मासु र अन्डा खुवाउनुपर्छ । शक्तिवद्र्धक खानेकुरा खुवाउनुपर्छ । इम्युनिटीका लागि खसी र राँगाको, त्यो भएन भने कुखुराको मासु खुवाउँछौं', उमा र राजकुमारले भने, 'यहाँका बालबालिका एकअर्कालाई निकै हेरचाह गर्छन् । बिरामी परेकालाई स्याहार गर्छन् । आफ्नो भागको खानेकुरा बिरामीलाई थपिदिन्छन् ।'
सबै बालबालिकालाई शुद्ध पानी र ताजा खाना अनिवार्य हुन्छ । बासीले त बिरामी परिहाल्छन् । उनीहरूलाई बिहानबेलुका एआरबी औषधि नछुटाई खुवाउनुपर्छ । 'हामीले केही बिरामीलाई एकदमै नाजुक अवस्थाबाट बचायौं । त्योभन्दा खुसीको क्षण अर्को हुनै सक्दैन', उमाले भनिन् ।
सचेतनाका लागि
कहिलेकहीं खेल्दा, हिँड्दा चोपपटक लाग्यो भने यी बालबालिका आफैं सचेत हुन्छन् । चोट लागेको छ भने हात मिलाउदा खोज्दा मलाई यस्तो भएको छ, हात नमिलाउनुस् भन्छन् । कहीलेकहीं थाहै नपाई सानो घाउ भएको हुन सक्छ । 'यहाँ भेदभाव चल्दैन । एचआईभी भएकाले झुक्याएकै कारण यसका रोगीको संख्या झनै बढेको हो भनेर सिकाएका छौं । उनीहरूले एचआईभीका बारेमा पूरै बुझिसझेकाछन्', उमाले भनिन् ।
समाजमा जुन भोगाइ उनीहरूले भोगेका छन् त्यो भोगाइ हामीले देखेभन्दा कयौं गुणा भयंकर छ । राम्रो पढेर समुदायमा समस्याको मुकाबिला गर्न उनीहरूले यी बालबालिकालाई प्रोत्साहित गरेका छन् । आफन्तले हेला गरेको, गाउँमा बस्न नदिएको, स्कुल भर्ना गर्न नदिएको उनीहरूले बुझेका छन् । त्यसका लागि पढेर केही गर्नुपर्छ भन्ने बुझिसकेको धेरै बालबालिकाले बताए ।
रोग लाग्दैमा केही हुन्न । संक्रमितहरूले बाँचेर धेरै गर्न सक्छन् । पढाइ र अवसर दिनुपर्छ भन्ने सन्देश दिन चाहेको राजकुमार बताउँछन् ।
विस्तारै विभिन्न प्रविधिको विकाससँगै संक्रमितबीच विवाह गरेर बच्चा जन्माउनसक्ने प्रविधिहरू निस्किएका छन् । त्यसबारे उमा र राजकुमारले बालबालिकालाई अवगत गराएका छन् । 'बिस्तारै उनीहरूको रोग पूर्ण निको पार्ने विधि आउन सक्छ', राजकुमारले आशा व्यक्त गरे ।
'हामी यी बालबालिकालाई सकारात्मक बन्न सिकाउँछौं । ठूलो भएपछि उनीहरूले यहीं स्कुल चलाउन सक्छन् । उनीहरूलाई बिस्तारै समाजसँग घुलमिल गर्न सिकाउँछौं । बाहिरको विद्यालयमा लैजान्छौं', राजकुमारले भने, 'हामी सामान्य बच्चासँग सम्बन्ध बढाउन सिकाउँछौं । आगामी दिनमा हाम्रो लक्ष्य यी बालबालिकालाई समाजसँग घुलमिल गराएर स्थापित गराउनु हो ।'