कौडीको भाउमा क्यान्सरको औषधि
क्यान्सर– सुन्दै आङ सिरिंग हुन्छ । चिकित्सकले क्यान्सरको पहिचानपछि अधिकांशलाई सुझाउने उपचारविधि केमोथेरापी हो । यसलाई छोटकरीमा केमो भन्ने चलन छ । केमो भनेको मूलतः क्यान्सर भएका कोषहरूलाई प्रभावहीन तुल्याउन रगतबाट औषधि शरीरभित्र पठाइने विधि हो ।
तर केमोको रसायनले शरीरका सबै कोषहरूमा असर गर्छ । स्वस्थ कोषहरू केही समयपछि आफैं मर्मत हुन्छन् र पहिलेकै अवस्थामा आउँछन् । त्यसैले केमो गरिरहेको समयमा बिरामी अक्सर शिथिल हुने र धेरैमा कपाल झर्ने गर्छ । क्यान्सर पुनः बल्झिन नदिने उद्देश्यले पनि केमोथेरापी गर्ने गरिएको पाइन्छ ।केमोथेरापी विभिन्न माध्यमबाट गरिन्छ । जसरी गरिए पनि त्यसमा प्रयोग गरिने मुख्य रसायन 'ट्याक्सोल' हो ।
उक्त रसायनबाट विविध नाम गरिएका औषधि बन्ने गरेको छ । इन्टरनेटमा खोज्दा पनि स्तन क्यान्सरकै दुई दर्जनभन्दा बढी नामका औषधि भेटिन्छन् । 'ट्याक्सोल' रसायन पहिलोपटक अमेरिकास्थित नेसनल क्यान्सर इन्स्टिच्युटका शोधकर्ताले सन् १९६५ ताका अमेरिकामै पाइने 'ट्याक्सस् बे्रभिफोलिया' भनिने एक प्रजातिको सल्लोमा पाएका थिए । 'ट्याक्सस्' जिनस्मा पाइएकै कारण उक्त रसायनको नाम 'ट्याक्सोल' राखिएको हो ।
पछि उक्त रसायन 'ट्याक्सस् बे्रभिफोलिया'को अन्य सहगोत्री सल्लोमा पनि पाइयो । 'ट्याक्सोल'बाट बनाइएका औषधि समयमै प्रयोग गरे पाठेघर, स्तन, फोक्सो आदिका क्यान्सर नियन्त्रण हुन सक्ने बताइन्छ ।'ट्याक्सोल'को प्रयोगले कोष विभाजन प्रक्रियाप्रक्रिया अवरुद्ध गर्छ । शरीरभित्र हुने कोष विभाजन प्रक्रियामा एक खास किसिमको प्रोटिन अर्थात् ट्युबुलिन पदार्थ बन्दछ । ट्युबुलिनले कोष विभाजन प्रक्रियामा कोषको केन्द्रमा रहेको क्रोमोजोमलाई दुई दिशातिर केन्द्रीकृत गर्न सहयोग गर्छ ।
दुईतिर विभाजित क्रोमोजोमबाटै नयाँ दुई कोषहरू बन्दछन् । केमोबाट शरीरभित्र 'ट्याक्सोल' प्रवेशपछि कोष विभाजन प्रक्रियाअन्तर्गत बन्ने प्रोटिन अर्थात् ट्युबुलिन पदार्थ बन्न सक्दैन, जसबाट कोष विभाजन प्रक्रिया निष्क्रिय हुन जान्छ । त्यसैलाई मुख्य आधार मानेर क्यान्सर उपचार गर्ने गरिन्छ । सो ट्याक्सोल नेपालमा पाइने लौठसल्लोमा पनि भेटिन्छ ।
लौठसल्लो
नेपालमा 'ट्याक्सोल' पाइने सल्लोलाई लौठसल्लो भन्ने गरिएको छ । वन मन्त्रालयअन्तर्गत वनस्पति विभागले सन् २०१० मा प्रकाशन गरेको 'क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस् -१' अनुसार नेपालमा 'ट्याक्सोल' पाइने २ प्रजातिको लौठसल्लो छन् । महाकालीदेखि लाङटाङ राष्ट्रिय निकुञ्जसम्म 'ट्याक्सस् कन्टोर्टा' र ढोरपाटन सिकार आरक्षदेखि कञ्चनजंघासम्म 'ट्याक्सस् वालिचियना' ।
लौठसल्लोमा विद्यावारिधि गरेका रामचन्द्र पौडेलले माथि उल्लेखित दुईवटा प्रजातिबाहेक 'ट्याक्सस् माइरी' पनि पाइन्छ भन्ने जानकारी दिएका छन् । त्यो जानकारी 'प्लोज वन' शीर्षक एक अनलाइन जर्नल अंक ७ नम्बर १० संस्करणमा छापिएको छ । केही वनस्पतिविज्ञले त्यो जानकारी सही हैन कि भन्ने आशंका व्यक्त गरेका छन् । सो शंका अझै कायमै छ ।पौडेलले दिएको जानकारी नेपालीका लागि निश्चय नै सुखद थियो ।
लेखमा त्यो सल्लो सिन्धुली र काभ्रेस्थित गाउँबाट संकलन गरिएको जानकारी छ । तर त्यसको थप पुष्टि हुन त्यो सल्लो प्राकृतिक बासस्थानमा हुनुपर्छ । जंगलमा नपाइने, गाउँघरमा मात्र भेटिए, त्यो अन्य देशबाट ल्याई रोपिएको हुन सक्छ । वनस्पति विभागले सन् २०१५ मा प्रकाशन गरेको 'क्याटलग अफ नेप्लिज फ्लावरिङ प्लान्टस् - सप्लिमेन्ट १' मा 'ट्याक्सस् माइरी' नेपालमा पाइन्छ भन्ने जानकारी छ ।
तर त्यो प्राकृतिक रूपमा नभई घरपालुवाका रूपमा भन्ने संकेत गरिएको छ । पौडेलले यो पंक्तिकारसँग 'ट्याक्सस् माइरी' पहिले नेपालमा प्रशस्त पाइन्थ्यो होला, तर अहिले सिन्धुली र काभ्रेस्थित केही गाउँमा एकदुई रूखमात्र बाँचेको आफूले भेटेको बताए । हालै 'नेसनल हर्वारियम एन्ड प्लान्ट ल्यावोर्याटोरी गोदावरी'का गंगादत्त भट्टले मकवानपुर जिल्लास्थित दामन नजिकको जंगलमा 'ट्याक्सस् माइरी' भेटेको खुलासा भएको छ । तर त्यसबारे अझैसम्म 'नेसनल हर्वारियम एन्ड प्लान्ट ल्याबोर्याटोरी गोदावरी'ले आफ्ना प्रकाशनमा पुष्टि गरिसकेको छैन ।
स्पिज्युट तथ्यांक
रिचार्ड डब्लु स्पिज्युट संसारभरका लौठसल्लो अध्ययन गर्ने एकमात्र अध्येता हुन । उनै स्पिज्युटको एक लेख 'ट्याक्सोनोमी एन्ड नोमेन्क्लाचुर अफ ट्याक्सस्' (सन् २००७) अनुसार संसारभर लौठसल्लाको २४ प्रजाति र ५५ प्रकार पाइन्छ । सोही लेखअनुसार नेपालमा 'ट्याक्सस् कन्टोर्टा', 'ट्याक्सस् वालिचियना', 'ट्याक्सस् फाइटोनी', 'ट्याक्सस् सेलेबिका' र 'ट्याक्सस् सुमत्राना' पाइन्छ । तर उल्लेखित प्रजाति नेपालमा कुन कहाँ छन् भन्ने स्पष्ट गरिएको छैन ।
त्यसैगरी येह-चिङ लिउले सन् १९७० मा 'ट्याक्सस् सुमत्राना' नेपालमा पाइन्छ भनेर टाइवानको वनस्पतिसम्बन्धी एक पुस्तकमा लेखेका छन् । उल्लेखित जानकारीअनुसार नेपालमा लौठसल्लो राम्ररी खोज अनुसन्धान भई नसकेको भन्ने बुझिन्छ ।
इतिहास
कार्ल थुन्बर्ज (१७४३-१८२८) ले सन् १७८४ मा 'फलोरा जापोनिका' लेखे । उक्त पुस्तक जापानको वनस्पतिसम्बन्धी लेखिएको पहिलो पुस्तक हो । थुन्बर्जले जापानमा लौठसल्लो एक प्रजाति सन् १७७६ मा संकलन गर्छन् । थुन्बर्जले जापानमा पाइएको उक्त लौठसल्लोलाई भूलवश 'ट्याक्सस् बाकाटा' भनेर लेखेका छन् । 'ट्याक्सस् बाकाटा' युरोपेली प्रजाति हो ।
यता नेपालमा नाथानियल वालिच (१७८६–१८५४) ले सन् १८२१ मा लौठसल्लो नमुना संकलन गरे । काठमाडौंस्थित शिवपुरीबाट संकलन गरिएको त्यो लौठसल्लोलाई वालिच आफैंले सन् १८२६ मा 'ट्याक्सस् नुसिफेरा' नामकरण गरी एक पुस्तकमा प्रकाशन गरे । उता युरोपमा लौठसल्लाको एक प्रजातिलाई त्यसअघि नै 'ट्याक्सस् नुसिफेरा' नामकरण गरिसकिएको थियो । पछि वालिच संकलित त्यो नमुनालाई जर्मनका जोसेफ गेरहार्ड जुक्कारिनी (१७९७-१८४८) ले सन् १८४३ मा 'ट्याक्सस् वालिचियना' नामकरण गरे ।
रिचार्ड डब्लू स्पिज्युट संसारभरका लौठसल्लो अध्ययन गर्ने एकमात्र अध्येयता हुन् । उनको एक लेख 'ट्याक्सोनोमी एन्ड नोमेन्क्लाचुर अफ ट्याक्सस्' अनुसार, संसारभर लौठसल्लाको २४ प्रजाति र ५५ प्रकार छन् ।
सन् १८४८ नेपाल आएका बेलायतका जेडी हुकरले नेपाल तथा भारतमा पाइएको लौठसल्लोलाई 'ट्याक्सस् बाकाटा' भनेर तिनी सम्पादित प्रसिद्ध पुस्तक 'फलोरा अफ ब्रिटिस इन्डिया'मा लेखेका छन् । हुकरले युरोप, जापान र नेपालको लौठसल्लो एकै हो भन्ठाने । तर जापानका डी कितामुराले सन् १९५५ मा नेपालमा पाइने लौठसल्लोलार्ई जुक्कारिनीले दिएकै नाम सही हो भनेर लेखे । तिनले 'फ्लावरिङ पलान्टस एन्ड फन्र्स्' शीर्षक एक लेखमा नेपालमा पाइने लौठसल्लो 'ट्याक्सस् वालिचियना' हो भनेर लेखेका छन ।
तर जापानकै हिरोसी हाराद्वारा सम्पादित पुस्तक 'फलोरा अफ इस्टर्न हिमालय' (सन् १९६६) र हिरोसी हारा र अरूहरूद्वारा सम्पादित पुस्तक 'एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्टस अफ नेपाल' भाग १ (सन् १९७८) मा नेपालमा पाइएको लौठसल्लो 'ट्याक्सस् बाकाटा उपप्रजाति वालिचियना' भन्ने छ । हिरोसी हारा नेपालमा पाइने वनस्पति व्रिस्तृत रूपमा अध्ययन गर्ने पहिलो वनस्पति विज्ञ हुन् । तिनी पनि नेपालको लौठसल्लो वास्तविक अध्ययन गर्न चुके ।
वनस्पति विभागका एसबी मल्ल सम्पादित 'फ्लोरा अफ काठमाडौं भ्याल्ली' (सन् १९८६) मा पश्चिम, मध्य र पूर्वी नेपालमा पाइने लौठसल्लो 'ट्याक्सस् वालिचियना' हो भनिएको छ । जेआर प्रेस र अरूहरूद्वारा लेखिएको 'एन एन्नोटेटेड चेकलिस्ट अफ फ्लवारिङ प्लान्टस् अफ नेपाल' (सन् २०००) मा लौठसल्लो २ प्रजाति पाइन्छ भन्ने जानकारी छ । मध्य नेपालमा 'ट्याक्सस् फुअना' र पश्चिम, मध्य र पूर्व नेपालमा 'ट्याक्सस् वालिचियना' ।
नेपाल सरकारको वन नियमावली २०५१ को चौथो संशोधन २०७० मा लौठसल्लो ('ट्याक्सस् बाकाटा'÷'ट्याक्सस् वालिचियना') निर्यात महसुल प्रतिकेजी २५ रुपैयाँ लेखिएको छ । उल्लेखित नियमावलीअनुसार नेपालमा 'ट्याक्सस् बाकाटा' र 'ट्याक्सस् वालिचियना' पाइन्छ । तर, 'ट्याक्सस् बाकाटा' युरोपेली प्रजाति हो । त्यो युरोपको अलाबा उत्तरी अफ्रिका र दक्षिण-पश्चिम एसियासम्म पाइन्छ । टुर्कीको सिमाना जोडिएको इरानको इल्बोर्ज हिमाल (कास्पियन समुद्रको दक्षिणतर्फ) सम्म 'ट्याक्सस् बाकाटा' आइपुगेको छ ।
अन्योल
नेपालमा लौठसल्लोबारे धेरै भ्रम छन् । बारम्बार नेपालमा पाइने लौठसल्लो फलानो प्रजाति हो, तिलानो होइन भनेर विवरण आइरहनु निश्चय नै राम्रो होइन । त्रिभुवन विश्वविद्यालयमा वनस्पति पहिचान गर्ने प्राध्यापक डाक्टरहरूको लर्को लामै छ । तिनले लौठसल्लो जस्तो बहुमूल्य वनस्पति सही रूपमा पहिचान गरेको हुनुपर्ने हो ।
तर अन्योल सिर्जना गर्ने काममात्र भएको छ । अर्कोतिर, नेपाल सरकारको वनस्पति विभागले वनस्पति पहिचानसम्बन्धी अध्ययन अनुसन्धान विगत पाँच दशकभन्दा अघिदेखि गर्दै आएको छ । एसबी मल्ल, स्व. एसबी राजभण्डारी, तीर्थबहादुर श्रेष्ठ, पीआर शाक्य, केशवराज राजभण्डारी, महेशकुमार अधिकारी, एसआर बरालजस्ता भ्याटर्न वनस्पतिविज्ञहरू उक्त विभागबाट रिटायर्ड भइसकेका छन् । क्यान्सरजस्तो भयाभव रोग निदान गर्ने सल्लोबारे यथार्थ जानकारी वनस्पति विभागले जानकारी गराउनुपर्ने हो । तर अझै नेपालको वन जंगलमा क-कहाँ लौठसल्लो पाइन्छ, तिनलाई विश्वले चिन्ने असली नाम के हो भन्ने अन्योल छ ।
कौडीको भाउमा
व्यापारी वर्गलाई नेपालमा प्रचुर मात्रामा लौठसल्लो पाइन्छ भन्ने जानकारी छ । 'डाबर एन्ड डाबर कम्पनी'ले दशकौं अघिदेखि लौठसल्लोको पात तथा मुन्टा स्थानीय बासिन्दाबाट खरिद गर्ने गरेको छ । 'माछापुच्छ्रे हर्बल प्राइभेट लिमिटेड' पनि त्यसकार्यमा संलग्न छ । यता नेपाल सरकारले लौठसल्लोबारे यथार्थ जानकारी नै नलिई केमोथेरापीमा प्रयोग गरिने कच्चा पदार्थ सस्तो मूल्यमा व्यापारी वर्गलाई निर्यात गर्न दिएको बुझिन्छ ।
आम नेपाली भने त्यसैबाट बनाइएको औषधि अत्यन्तै महँगो मूल्यकै कारण क्यान्सर उपचारबाट वञ्चित छन् । यत्तिको महत्त्व बोकेको लौठसल्लो कौडीको भाउमा बिक्री भइरहेको छ । केमोथेरापीको निम्ति औषधि बनाइने लौठसल्लो नेपालमा तीन वा त्यसभन्दा बढी प्रजाति पाइए पनि आम नेपालीका निम्ति 'कागलाई बेल पाक्यो, हर्ष न विस्मात' जस्तै भएको छ ।