राजा, तिमी मलाई बिहा कहिले गर्छौ ? '
यो एउटी केटीको कथा हो । अँ, केटी । माफ गर्नुहोला, ऊ बजारका चर्चित किताबमा वर्णन गरिएजस्ती केटी होइन । हट, बोल्ड, स्लिम– यी कुनै पनि उपमा उसमा लागू हुँदैनन् । खासमा उसको परिचयमा कुन उपमा जोड्नुपर्छ मलाई थाहा छैन । सपना टुटेर जीवन भत्किएको क्रूर र पीडादायी समयलाई जनाउने कुनै शब्द मलाई थाहा छैन । बस् म त त्यो केटीको कथा भन्दैछु । एक्लैएक्लै बर्बराइरहने केटीको कथा ।
'खै कहाँबाट सुरु गरूँ म यो जीवनका पानामा धमिलो बनिबसेका अक्षरहरू ? कसरी वर्णन गरूँ आफ्नै दुःखको भेलबाढीलाई ? आफैंले सकेको छैन बुझ्न आफ्नै जिन्दगीका सजिला र आफ्ठ्यारा पाटाहरू ? '
शीला यस्तैयस्तै के–के बर्बराइरहन्थी । उसका शब्दहरूबाट प्रकट भइरहन्थे सम्बन्ध टुटेपछिका अवशादहरू ।शीलाको लोग्ने अनुप जेलमा भएको त थाहा थियो मलाई । तर, किन जेलमा थियो भन्ने थाहा थिएन । त्यो एक कथा थियो त्यसलाई बिस्तारै बुझ्दै गएँ । सुन्दा खासै असाधारण छैन कथा । तर, त्यसले तीन प्राणीको जीवनलाई असाधारण मोडमा ल्याएर खडा गरिदिएको थियो ।
एउटा बिहे गरिसकेको पुरुष फेरि अर्की केटीसँगको संगत । संगतमात्र के भन्नु ? कोठा लिएर राखेको रैछ । स्वास्नीले थाहा नपाउने गरी । यति साधारण विषय पनि कसरी कथा हुनसक्छ ? समाजमा हरेक दिनजसो त भइरहेकै हुन्छ यस्तो । कथा लेख्ने गरी के नै नयाँपन छ र यसमा ?
शीला । उमेरै कति भएको थियो र ? उन्नाइस वा बीस । घर दाङ । ८ कक्षामाथि पढ्न सकेकी थिइन् । माथि पढाउने हैसियत पनि रहेन उसका आमाबाबुको । रोजगारको खोजीमा काठमाडौं आई । उतैकी दिदी साइनो पर्नेसँग मैतीदेवीमा डेरा लिएर बस्न थाली । स्वर राम्रो थियो ।
कसोकसो गरेर सुन्धाराको 'पाल्पाली दोहोरी' साँझमा गीत गाउने काम पाइहाली । स्वरको सम्मान त हुँदैनथ्यो त्यहाँ । पेटको आत्मसम्मान भने जोगिएको थियो । अर्को कुनै डान्स रेस्टुरेन्टमा नृत्य कलाकारको काम गथ्र्यो अनुप । गाउँले दिदीमार्फत भयो दुवैको चिनजान । चिनजान मित्रतामा परिणत भयो । मित्रता प्रेममा । प्रेमलाई विवाहमा परिणत गर्न ढिलो गरेनन् उनीहरूले ।
कहिलेकाहीँ शीलाको दोहरी साँझमा पनि आउँथ्यो अनुप । त्यहीँ उसको रीमासँग परिचय भयो । शीलासँगै गीत गाउँथी ऊ पनि । स्वर पनि राम्रो थियो । अनुपलाई रीमाको स्वर मन पर्यो । पहिलो दिन नै एक हजार टिप्स दियो रीमालाई । शीलाकै अगाडि । शीलाको मन दुखेन किनभने रीमालाई उसले बैनीजस्तै ठानेकी थिई । अनुपले पनि बैनी नै भन्न थाल्यो ।
शीलाको घर आउन थाली रीमा । शीलालाई फेरि पनि नराम्रो लागेन । दिदी र बैनीको साइनोमा अटुट विश्वास थियो शीलालाई । रीमासितको उसको सम्बन्ध यथावत रह्यो । तर यथावत् रहेन रीमा र अनुपको सम्बन्ध । फेरिये त्यो । अर्कै भयो । अब उनीहरू दाजुबैनीजस्ता रहेनन् । सम्बन्धको स्वरूप फेरियो । उनीहरूले एकअर्कालाई प्रेमी र प्रेमिका ठान्न थाले ।
'रीमा, तिमी दोहोरीमा गीत गाउन नजाऊ', भन्न थाल्यो अनुपले ।
'गीत नगाई कसरी खर्च धान्नु मैले अनुप ? ', भन्न थाली रीमाले ।
'चिन्ता नगर, त्यसको लागि म छँदैछु नि ।'
यसरी रीमाको पूरै जिम्मेवारी अनुपले लियो । रीमाका लागि नयाँ डेरा खोजिदियो । शीलाको डरले रातमा रीमाको डेरामा नबसे पनि अरू बेला अनुप त्यहाँ गइरहन्थ्यो । रीमालाई बिहा नगरीकनै कान्छी स्वास्नी बनाएको थियो । रीमाका सबै आवश्यकता उसैले पूरा गरिदिन्थ्यो । रीमाकी बाबुआमालाई पनि बेलाबेला पैसा पठाइदिन्थ्यो । छोरीले कसरी र कहाँबाट पैसा पठाई भन्ने चासो त भएन नै, काठमाडौंमा कहाँ–कसरी बसेकी छे भन्ने पनि मतलब थिएन उनीहरूलाई । गरिबीले जस्तै परिस्थिति पनि स्वीकार्न बाध्य बनाएको थियो उनीहरूलाई ।
'राजा, तिमी मलाई बिहा कहिले गर्छौ ? ' अनुपको फराकिलो छातीमा टाउको लुकाउँदै लाडे स्वरमा सोध्थी रीमा ।
बिहे गरेको पाँच वर्षसम्म पनि शीलाबाट सन्तान भएको थिएन । त्यसैले केही तनावमा थियो अनुप । शीला पनि त्यस्तै तनावमा थिई । तर, रीमाले सम्झाई अनुपलाई ।'म छु नि । तिमीले चाहेजति जन्माइदिन्छु ।'
अनि त मुग्ध भएर अनुपले रीमालाई रानी भनेको थियो । लाडिएर रीमाले पनि उसलाई राजा भनेकी थिई । कलंकीको एउटा कोठामा हरेक रात राजारानी भइरहेका थिए उनीहरू । मायाको साम्राज्य फैलिँदो थियो ।
अनुपसँग बिहा हुनेमा रीमा विश्वस्त थिई । तर, अनुप भने थिएन । शीला र अनुपको प्रेमविवाह थियो । सीमाहीन प्रेम गर्थी शीला अनुपलाई । त्यो प्रेम नै यति बेला अनुपको कमजोरी भएको थियो ।
बिस्तारै रीमाले अनुपसित बिहाका लागि कर गर्न थाली । अनुप यसोउसो भनेर टारिरहन्थ्यो ।चाँडै नै शीलाले रीमा र अनुपको सम्बन्धका बारेमा थाहा पाइहाली । कुन स्वास्नीमान्छे होला जसले सौता सहन सक्छे ? शीला आगो भई । रीमाको कोठामा गई । कपाल भुत्ल्याई, थप्पड हिर्काई र तथानाम गाली पनि गरी ।
'राजा, तिमी मलाई बिहा कहिले गर्छौ ? ' अनुपको फराकिलो छातीमा टाउको लुकाउँदै लाडे स्वरमा सोध्थी रीमा ।
रीमाले सोझो ठानेकी शीलाको आक्रोश देखी । उसले शीलामा दिदी हैन सौताको रूप देखी । हात नफर्काई कुटाइ सहिरही ऊ । खै, के सोची कुन्नि ?
अनुपले घर आएपछि मात्र यो कुरा थाहा पाएको थियो । शीला रिसले आगो भएकी थिई । लुगाफाटो ब्यागमा ठिक्क पारेर अनुप आउने समयमात्र पर्खिरहेकी थिई । अनुपले अनेक अनुनय विनय गर्यो । आफूलाई छाडेर गए मर्ने कुरा गर्यो । गल्ती भयो भनेर माफी पनि माग्यो । रीमाको अनुहार पनि नहेर्ने बाचा गर्यो ।
रीमा भने घर गइदिई । अनुपलाई रीमाको बानी परिसकेको थियो । ऊबिना जिन्दगी नै चैतमासको खडेरी लाग्न थाल्यो उसलाई । केही दिन त सह्यो, नसकेपछि बिहा गर्छु भनेर बोलायो रीमालाई । रीमा फर्केर आई । सुटुक्क अनुपले उसलाई गुहेश्वरी लग्यो । पाँच रुपियाँको सिन्दुर लगाइदियो । पचास रुपियाँको पोते किनिदियो । त्यस दिन उनीहरू नयाँ बसपार्कस्थित 'अर्घाखाँची गेस्ट हाउस'मा बसे ।
गेस्ट हाउसको कोठाको ऐनामा राति निकै बेर आफ्नो सिउँदोको सिन्दुर र गलाको पोतेको मालालाई हेरिरही रीमाले । केही बेरपछि त्यही ऐनामा उसले शीलाको अनुहार पनि देखी । ऐनामा शीला रोई । शीलाको आँसु आफ्नै हत्केलामा खसेको जस्तो लाग्यो रीमालाई ।
बिहान ५ बजे नै अनुप उठेर होटलको रिसिप्सनमा रीमालाई ब्रेकफास्ट लग्दिनू भनेर घरतिर लागेको थियो । शीला यी सारा प्रकरणबाट अनभिज्ञ थिई । घरमा खाना खाएर अनुप फेरि गेस्ट हाउस फर्कियो ।
गेस्ट हाउसअगाडि मान्छेको भीड थियो । कसैले भनेको सुन्यो उसले, 'ब्वाइफ्रेन्डसित बसेकी रहिछ । खै के कारणले केटा बाहिर गएको बेला बिहानै आफ्नै सलले झुन्डिएर आत्महत्या गरिछे ।'
माघको जाडोमा पनि अनुपको निधारमा चिट्चिट् पसिना आयो । भीड छिचोलेर अनुप रिसेप्सनमा पुगेको थियो ।'यही हो मर्ने केटीको ब्वाइफ्रेन्ड', होटलको स्टाफले यति भन्नासाथ उसलाई प्रहरीले आफ्नो नियन्त्रणमा लियो ।
बहुविवाहको केसमा जेल नै बस्नुपर्ने भयो अनुपले । जेलबाट निस्केको दिन ऊ शीलालाई भेट्न गयो ।कोठामा शीला थिई । तर, कोठामा शीलामात्र थिइन । शीलाले राजा भनिरहेकी थिई कसैलाई । शीलालाई रानी भनिरहेको थियो कसैले । त्यहाँ राजारानी थिए । अनुप एकछिन उभियो र त्यसपछि निस्कियो कोठाबाट । जोकरझैँ ।
हो, रसरंगको यो खेलमा राजा र रानी त सधैं रहन्छन् । बस्, खेलपिच्छे तयार भइरहन्छन् जोकरहरूको एउटा बथान ।
जोकरहरू भेटिन्छन् अचेल हरेक डान्सबार र दोहरी रेस्टुरेन्टमा । खेल जारी छ ।