रुटअनुसार घुम्दैनन् जात्रालु

रुटअनुसार घुम्दैनन् जात्रालु

काठमाडौंः ‘जाऔं, जाऔं उताबाट अगाडि जाऔं’, अधबैंसेले बाटो देखाए । ‘अब हामी उता नजाने, यतैबाट जाने’, गाईको भेषधारण गरेका एक बालकले भने । आफन्तको निधन भएपछि वसन्तपुर दरबार क्षेत्रमा गाईजात्रामा सहभागी भएका उनका बुबाले भने, ‘यहाँ त्यो बाटोमात्रै गएर के गर्ने ? मलाई सबै रुट थाहा छैन ।’ एकछिन अलमलिएका उनी फेरि अघि लागे ।

कालीमाटीका लक्ष्मीनारायण शिल्पकार अचम्ममा परे । उनले शुक्रबार अन्नपूर्णसँग भने, ‘उनीहरूमात्र होइन, थुप्रै आए र गए तर कसैले रुटअनुसार गाईजात्रा निकाल्दा परिक्रमा गरेका छैनन् । पहिलेपहिले नियमअनुसार घुम्ने प्रचलन थियो । भक्तपुर र ललितपुरमा अझै रुटअनुसार घुम्छन् ।’

उपत्यकामा आठ दिनसम्म मनाइने गाईजात्रा खासगरी नेवार समुदायले मृतक आफन्तका नाममा घरबाट गाई वा मानिसलाई गाई बनाएर निकाली जात्रा मनाउने चलन छ । यो पर्व उपत्यकाबाहिर बनेपा, धुलिखेल, पनौती, दोलखा, खोटाङ, भोजपुर, धरान, पोखरालगायतका सहरमा पनि मनाइन्छ । भक्तपुरको खोमाका शिल्पकारले भने, ‘भक्तपुरमा मनाउने शैली पनि फरक छ ।

त्यहाँ मालपुवा, केराउ, काँक्रो, बिस्कुट आदिको पोको बनाइन्छ र बाँडिन्छ, रुटअनुसार प्रत्येक घरबाट निकालिने भएकाले प्याकेट बाँडेबाट थाहा हुन्छ कति घरले गाईजात्रा निकाले भनेर । काठमाडौंमा जताततै घुम्ने चलनले भद्रगोल हुँदैछ ।’

भक्तपुरमा सानो उमेरकाको निधन भए डोकोमा गाईको चित्र बनाएर (साँचा) नगर परिक्रमा गराइन्छ भने ठूलो मानिसको निधन भए चारवटा बाँस र कपडाको (पुरुष भए सेतो कपडा र महिला भए सारी) ताहसाँ बनाएर गाईजात्रा निकालिन्छ ।

काठमाडौंमा यो चलन छैन । भक्तपुरमा गाईहरूको संख्या बाक्लो हुन्छ भने मुकुन्डो लगाउँदैनन् तर काठमाडौंमा गाई वा गाईको विकल्पमा मानिस र सँगै मुकुन्डो पनि लगाएर नगर परिक्रमा गर्ने चलन छ । गाई वा गाईको प्रतिमूर्ति बनाएर नगर परिक्रमा गर्नाले वर्षभरि निधन भएकाहरूले मोक्ष प्राप्त गर्छन् भन्ने धार्मिक मान्यता छ ।

तत्कालीन राजा प्रताप मल्लले पुत्रशोकले विह्ल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन जनतालाई वर्षभरि निधन भएका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएका थिए ।

सोहीबमोजिम गाईजात्राको चलन सुरु भएको र त्यसले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका व्यंग्यात्मक कार्यक्रम र प्रहसन गर्न पनि आदेश दिएअनुरूप आजसम्म पनि प्रहसन हुँदै आएको छ । सोही समयदेखि गाईजात्रा वसन्तपुरस्थित हनुमानढोकास्थित राजप्रासाद भएर जाने चलन आज पनि छ । तर नगर परिक्रमा गर्दाको रुटको प्रयोग भने धेरैले बिर्सिएका कारण काठमाडौंको गाईजात्रा व्यवस्थित हुन नसकेको स्थानीयबासी स्वीकार्छन् ।

वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले पनि गाईजात्रा निकाल्दा घरछेउबाट रुटअनुसार परिक्रमा गरी हनुमानढोका पुगेर घर फर्कंदा व्यवस्थित हुने बताए । ‘पाटनमा अझैसम्म व्यवस्थित ढंगबाट रुटअनुसार गाईजात्रा निकालिन्छ, दुई वर्ष भयो भूकम्पले जताततै टेको लगाउनुपरेकाले केही अप्ठ्यारो परेको । भक्तपुरमा पनि अहिलेसम्म रुटमै नगर परिक्रमा गरेको सुनेको छु’ उनले भने, ‘काठमाडौंमा उपत्यकाबाहिरबाट पनि थुप्रै भित्रिने गरेकाले पनि थाहा नभएर रुट प्रयोग हुन छाडेको हुन सक्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.